पुस महिनामा मात्र ४ सहसचिव सेवा निवृत्त भए, २ जना अवकाशको मुखमा


काठमाडौं। चालू आर्थिक वर्षको पुस महिनामा मात्र ४ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) सेवा निवृत्त भइसकेका छन्। पुसभित्रै थप २ जना सहसचिव अनिवार्य अवकाशमा जाने तयारीमा छन्। पुसमा सबै सहसचिव ५८ वर्षे उमेर हदका कारण अवकाशमा गएका र जाने प्रक्रियामा छन्। 

महालेखापरीक्षकको कार्यलयमा कार्यरत सहसचिव नेत्रकुमार खत्री ५८ वर्षे उमेर हदका कारण पुस १ गते सेवा निवृत्त भएका हुन्। उनी नेपाल लेखापरीक्षण सेवाको नायव महालेखापरीक्षक (सहसचिव) थिए। सहसचिव हिमालकुमार तित्राल पनि गते ५८ वर्षे उमेर हदका कारण पुस ७ अनिवार्य अवकाशमा गएका छन्। नेपाल न्याय सेवा/ सरकारी वकिल समूहका सहन्यायाधिवक्ता त्रिताल उच्च सरकारी वकिल कार्यालय, इलामका प्रमुख थिए। उनी सेवा निवृत्त भएपछि रिक्त रहेको ठाउँमा अर्को सहसचिव पठाइएको छैन।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक अर्जुनप्रसाद भट्टराई पनि ५८ वर्षे उमेर हदका कारण यहीं पुस ९ गते नै अनिवार्य अवकाशमा गइसकेका छन्। नेपाल प्रशासन सेवाका सहसचिव भट्टराई सेवा निवृत्त भएसँगै उनको ठाउँ खाली छ।

वन तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. सिन्धुप्रसाद ढुंगाना पनि ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गइसकेका छन्। नेपाल वन सेवा/जनरल फरेष्ट्री समूहका सहसचिव ढुंगाना पुस १० गतेबाट घर गएका हुन्। उनी सेवा निवृत्त भएपछि जलवायु परिवर्तन व्यवस्थापन महाशाखा खाली छ।

कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव विष्णुप्रसाद पौडेल यहीँ पुस २३ गते ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन्। २०२३ साल पुस २४ गते जन्मिएका उनी नेपाल प्रशासन सेवाका सहसचिव हुन्।

५८ वर्षे उमेर हद कै कारण सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सुशील वैद्य पुस २४ गते अनिवार्य अवकाशमा जाने भएका छन्। नेपाल प्रशासन सेवाका सहसचिव वैद्य दाङको प्रमुख जिल्ला अधिकारी हुँदा ललिता निवास बालुवाटारको जग्गा हिनामिनामा किर्ते मुद्दा चलेपछि गृह मन्त्रालयले जिम्मेवारी खोसेको थियो। उनी सरकारी सेवाबाट सुदूरपश्चिमबाटै अस्ताउने तयारीमा छन्।

क्याटेगोरी : समाचार
ट्याग : #सहसचिव अर्जुनप्रसाद भट्टराई, #सहसचिव नेत्रकुमार खत्री, #सहसचिव विष्णुप्रसाद पौडेल, #सहसचिव सिन्धुप्रसाद ढंगाना, #सहसचिव सुशील वैद्य, #सहसचिव हिमालकुमार त्रिताल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ