मुद्दा जिताउन घुस खुवाएको उजुरी परेपछि सर्वोच्च प्रशासनमा खैलाबैला, निरौला भन्छिन् ‘थापाले पैसा तिर्छु भनेका छन्’
काठमाडौं। सर्वोच्च अदालतमा मुद्दा जिताउन ‘कर्मचारी’ले घुस लिएको उजुरी परेपछि खैलाबैला मच्चिएको छ। शुशिला निरौलाले पुष्कर थापा नाम गरेका कर्मचारीले मुद्दा जिताइदिन्छु १० लाख रुपैयाँ पैसा बुझेको भन्दै रकम दिलाइ पाउनका लागि सर्वोच्चमा उजुरी परेको हो। उजुरी परेपछि सर्वोच्चमा खैलाबैला मच्चिएको छ।
पीडित शुशिलाका अनुसार अदालतको कर्मचारी बताउँने पुष्कर थापाले सर्वोच्च अदालतमा परेको जग्गासम्बन्धी मुद्दा जिताइदिन्छु भनेर १३ लाखभन्दा बढी पैसा बुझेका थिए। मोरङतिरको जग्गाको मुद्दा रहेकाे बताइँदै अहिले सुनसरीको ईटहरीमा बस्दै आएकी निरौलाले स्वास्थ्य लाइभसँग भनिन्, ‘मसँग १० लाखको प्रमाण मात्र छ। दिन त १३ लाखभन्दा बढी दिएको हो तर प्रमाण अभावका कारण १० लाख रुपैयाँ मात्र दाबी गरेको हुँ।’ २०७० साल असारतिरको कारोबार भएको उनले बताइन्।
ओखलढुङ्गा माईती घर बताउने निरौलाले थापा शुक्रबार नै सम्पर्कमा आइसकेको सुनाइन्। थापाले पैसा तिर्ने भन्दै यसलाई अगाडि नबढाउन अनुरोध गरेको उनले बताइन्। आफ्ना पति नारदप्रसाद गौतमसँग थापाको चिनजान रहेको र पतिको निधन भएपछि थापा सम्पर्कमा नआएकाले आफू उजुरी हाल्न बाध्य भएका निरौलाको भनाइ छ। आईएमई मार्फत पैसा बुझाएको प्रमाण आफूसँग रहेको बताउँदै उनले पतीको निधन भएपछि उक्त पैसा उठाउन सर्वोच्चमा उजुर दिएको स्पष्ट पारिन्। थापाले आफू क्यान्सर पीडित भएको र उक्त रकम चाँडै फिर्ता दिने आश्वासन दिएको पीडित निरौलाको भनाइ छ। यो विषयमा सर्वोच्च प्रशासनले चासो दिएपछि थापा सम्पर्कमा आएको उनले बताइन्।
घुस काण्डमा मुछिएका थापा न्याय सेवाका अधिकृत रहेको बताइन्छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस