४ जना उपसचिव लेखेर सहसचिव बनेपछि ४ जनाले बढुवामा चान्स पाए


काठमाडौं। कार्यक्षमता मूल्याङ्कनद्वारा हुने सहसचिवको बढुवामा सिफारिस हुने उपसचिवहरू शिवप्रसाद चौधरी, दिव्यराज पोखरेल, पूर्णमान श्रेष्ठ र कृष्णबहादुर शाही भाग्यमानी ठहरिएका छन्। उनीहरूभन्दा एक वर्षका अगाडिका सहसचिवहरू आन्तरिक प्रतिस्पर्धा र खुला प्रतिस्पर्धाबाट सहसचिव भएपछि यी ४ जना उपसचिवले सहसचिवमा बढुवाका लागि ‘चान्स’ पाएका हुन्।

उपसचिवहरू महेश भट्टराई, किशोरकुमार चौधरी, धर्मेन्द्रकुमार मिश्र र बाबुराम गौतम लेखेर सहसचिव बनेपछि उनीहरुभन्दा कनिष्ठ चौधरी, पोखरेल, श्रेष्ठ र शाहीले बढुवामा चान्स पाएका हुन्। भट्टराई, मिश्र र गौतम २०७७ असारमा एकै दिन आन्तरिक प्रतिस्पर्धाबाट नेपाल प्रशासन सेवाको सहसचिव भएका थिए। चौधरी भने त्यो भन्दा अगाडि २०७५ फागुनमा कानुन समूह तर्फको सहसचिव भएका हुन्।

महेश भट्टराई भट्टराई २०६७ चैत २७ गते उपसचिवमा नियुक्त भएका थिए। शुक्रबार कार्यक्षमता मूल्याङ्कनद्वारा सहसचिव बढुवाका लागि सिफारिस भएका प्रेमप्रसाद लुईंटेल रामदत्त पाण्डे, विनिता भट्टराई, लक्ष्मी पाण्डे गौतम र मनिता श्रेष्ठ उपसचिवमा भट्टराई कै ‘ब्याची’ हुन्। उनीहरु सामान्य प्रशासन समूहका उपसचिवमा एकै दिन नियुक्त भएका थिए।

किशोरकुमार चौधरी २०६७ साल चैत ३० गते सामान्य प्रशासन समूह कै उपसचिवमा नियुक्त भएका थिए। धर्मेन्द्रकुमार मिश्र र बाबुराम गौतम क्रमश: २०६८ वैशाख २० र २१ गते राजस्व समूहका उपसचिव भएका थिए।

भट्टराई र चौधरी लेखेर सहसचिव बन्दा उनीहरूभन्दा एक वर्ष पछाडि र मिश्र र गौतमभन्दा डेढ महिना अगाडिका उपसचिवहरूले अहिले सहसचिवमा बढुवा हुने ‘चान्स’ पाएका हुन्। सहसचिवमा बढुवाका लागि सिफारिस हुने शिवप्रसाद चौधरी २०६८ चैत ३ मा लेखा समूहका उपसचिव हुन्। दिव्यराज पोखरेल पनि त्यहिँ दिन राजस्व समूहका उपसचिव भएको देखिन्छ। पूर्णबहादुर श्रेष्ठ र कृष्णबहादुर शाही पनि २०६८ चैत ३ गते नै सामान्य प्रशासन समूहको उपसचिव भएका थिए। सहसचिव भएपनि श्रेष्ठले अब ६ महिना जति मात्र सरकारी सेवामा काम गर्न पाउँछन्।

अरुलाई बढुवाको बाटो छाडेर सहसचिव भएका महेश भट्टराई अहिले अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख एवं प्रवक्ता रहेका छन्। किशोरकुमार चौधरी राष्ट्रपति कार्यालयकाे कानुन महाशाखा प्रमुख हुन्। धर्मेन्द्रकुमार मिश्र कैलालीको प्रमुख जिल्ला अधिकारी र बाबुराम गौतम गण्डकीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवको भूमिकामा रहेका छन्।

सहसचिवमा बढुवाका लागि सिफारिस भएका लेखाका उपसचिव शिवप्रसाद चौधरी कोष तथा लेखा नियन्त्रण कार्यालय, बर्दियाको प्रमुख कोष नियन्त्रक हुन्। राजस्वका उपसचिव दिव्यराज पोखरेल सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा कार्यरत छन्। सहसचिवमै बढुवाका लागि सिफारिस भएका सामान्य प्रशासन समुहका उपसचिव पूर्णमान श्रेष्ठ लोक सेवा आयोग, सुर्खेत कार्यालयका छन् भने कृष्णबहादुर शाही कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागका प्रवक्ता हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #उपसचिव, #किशोरकुमार चौधरी (आदिवासी/जनजाति), #कृष्ण बहादुर शाही, #दिव्यराज पोखरेल, #धर्मेन्द्रकुमार मिश्र, #पूर्णमान श्रेष्ठ, #बाबुराम गौतम, #महेश भट्टराई सहसचिव, #शिवप्रसाद चौधरी, #सहसचिव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ