हुमकलाको पालामा चलायमान बनेको सुनसरी प्रशासन त्यसपछि शिथिल बन्दै गयो


इनरुवा। हुमकला पाण्डेले २०७९ माघ १६ गते सुनसरी जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ)को कार्यभार सम्हालिन्। उनी सिडिओ भएको ३ महिनामै सुनसरी प्रशासन एक्सनमा उत्रियो। सिडिओ पाण्डेले जिल्ला प्रशासन कार्यालय, सुनसरीको वरिपरि बसेर सेवाग्राहीलाई सास्ती दिने लेखापढी व्यवसायी पक्रेर एक्सन सुरु गरिन्। उनको नेतृत्वमा बिचौलियाको दबदबा रहेको मालपोत, नापी, यातायात जस्ता कार्यलयमा छापा हानेपछि बिचौलियाहरूको भागाभाग भएको थियो।

बिचौलियाहरूको बिगबिगी रहेको यातायात व्यवस्था कार्यालय, ईटहरीबाट २२ जनालाई समातेर सिडिओ पाण्डेले ३ जनाविरुद्ध त मुद्दा नै चलाइन्। सेवाग्राहीसँग बढी शुल्क लिने मालपोतका केही लेखापढी व्यवसायीलाई उनले एक्सन लिएपछि बढी लिएको शुल्क नै फिर्ता गरेका थिए। सुनसरीको अदालत, मालपोत, नापी, यातायात जस्ता कार्यालय बढी चलायमान मानिन्छन्। पाण्डे सुनसरीको प्रमुख जिल्ला अधिकारी हुञ्जेल सेवाग्राही ठग्ने र अनुचित काम गर्ने बिचौलियाहरूको बिचल्ली भएको थियो। भक्तपुर र काभ्रेपलाञ्चोकको सिडिओ चलाएको अनुभवले उनले सुनसरीमा राम्रै प्रयोग गरिन्। सुनसरी प्रशासनलाई चलायमान बनाउने सिडिओ पाण्डेको ९ महिनापछि सरुवा भयो। उनको सरुवा भएपछि जयनारायण आचार्य सिडिओ बनेर सुनसरी गए।

अहिले काठमाडौंको सिडिओ रहेका जयनारायण आचार्यले २०८० पुस ४ गते सुनसरीको कमाण्ड सम्हाले। सर्वोच्च अदालतले प्रविणता प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्रमा कैफियत देखाएका आचार्य सुनसरीको सिडिओ बनेर गएपछि सुनसरी प्रशासन पुरानै लयमा फर्कियो। बिचौलियाहरू पुरानै धन्दामा फर्किए। लेखापढी व्यवसायीहरूले पनि राहत महशुस गरे। हुमकला सिडिओ हुँदा जिल्ला प्रशासन कार्यालय परिसरमा टेक्न नसकेका बिचौलिया र लेखापढी व्यवसायीले सिडिओको ढोकामा सहजै पहुँच पाए। सेवाग्राहीले पहिला जस्तै सास्ती व्यहोर्न थाले।

आचार्यले ५ महिना सुनसरीको सिडिओ चलाएपछि रामचन्द्र तिवारीले उनलाई विस्थापित गरे। २०८१ जेठ २३ गते आचार्य विस्थापित गरेर सुनसरीको सिडिओको कार्यभार सम्हालेका तिवारी पनि हुमकला जस्तो एक्सनमा उत्रिन सकेनन्। उनले पनि सुनसरी प्रशासनलाई चलायमान बनाउन नसकेको चर्चा छ। इनरुवाका स्थानीयहरू भन्छन्, ‘हुमकला पाण्डेको पालामा निकै चलायमान बनेको सुनसरी प्रशासन जयनारायण आचार्यको पालामा कमजोर बन्यो। रामचन्द्र तिवारीको पालामा त सुनसरी प्रशासन शिथिल नै बन्यो भन्दा पनि फरक पर्दैन।’,

सुनसरी प्रशासन भ्रष्टाचारी ठहर भएका चर्चित सहसचिव चुडामणि शर्माले समेत चलाएका थिए। निर्वाचन आयोगका सचिव रविलाल पन्थ, मधेश प्रदेशका प्रमुख सचिव लोकनाथ पौड्याल र उद्योग सचिव कृष्णबहादुर राउतले पनि सुनसरीको सिडिओ चलाएका थिए। राउतले पनि सुनसरी प्रशासनलाई सक्रिय बनाएका थिए। अहिले भने सुनसरी प्रशासन तुलनात्मक रूपमा कमजोर देखिएको छ।

सुनसरी प्रशासनलाई चलायमान बनाउन नसकेका तिवारी काठमाडौंको प्रमुख जिल्ला अधिकारी बन्ने दौडमा रहेको गृहका अधिकारीहरू बताउँछन्। पूर्वमुख्यसचिव शंकरदास बैरागी खनालको जोडबलमा सुनसरीको सिडिओ बनेका तिवारीलाई त्यहिँ ‘फ्याक्टर’ले काठमाडौंको सिडिओ बनाउन लबिइङ गरेको चर्चा छ। सुनसरी प्रशासनलाई गति दिन नसकेका तिवारीले काठमाडौंको कमाण्ड पाए कुन गति बनाउँछन् त्यो हेर्न भने कुर्नैपर्ने हुन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #जयनारायण आचार्य, #रामचन्द्र तिवारी, #हुमकला पाण्डे

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ