आकर्षक जिल्लाको कमाण्ड पाइरहेका तिवारी, वीरेन्द्रको पदचाप पछ्याउँदै इन्द्रदेव


समाचार टिप्पणी

काठमाडौँ। प्रमुख जिल्ला अधिकारी (सिडिओ)का लागि काठमाडौं र मोरङ आकर्षक जिल्ला मानिन्छन्। त्यसपछि रूपन्देही जान पनि सहसचिवहरूबीच तछाडमछाड नै हुन्छ। कास्की, पर्सा, ललितपुर, झापा, सुनसरी, चितवन, काभ्रेपलाञ्चोक पनि सिडिओका लागि ‘टप टेन’भित्रका जिल्ला हुन्।

गृह मन्त्रालयले सोमबार सहसचिवका लागि ‘एक नम्बर पोस्टिङ’ मानिने काठमाडौं प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनाएर पठाएका व्यक्ति हुन् ऋषिराम तिवारी। २०२६ साल भदौंका स्याङ्जाली सहसचिव तिवारी बालकृष्ण खाँण गृहमन्त्री हुँदा रुपन्देहीको सिडिओ भएर गएका थिए। २०७८ असोज ४ गतदेखि २०७९ असार १९ गतेसम्म रुपन्देहीको सिडिओ बनेका उनी औसत सहसचिवमा चिनिन्छन्। उनका भाइ कांग्रेसबाटै काठमाडौंका वडाध्यक्ष रहेकाले तिवारी कांग्रेसी हुन् भन्नेमा शंका रहेन।

२०७४ वैशाखमा सहसचिव भएका तिवारी खाँण गृहमन्त्री हुँदा रुपन्देही जान सफल भएका थिए भने रमेश लेखक गृहमन्त्री भएपछि गृह मन्त्रालय छिरेर मन्त्रालयको महत्त्वपूर्ण मानिएको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख तथा प्रवक्ताको जिम्मेवारी लिएका थिए। त्यहाँ चाँजोपाँजो मिलाएर उनी काठमाडौं जस्तो १ नम्बर जिल्लाको सिडिओ जान सफल भए। उपसचिव हुँदा बाग्लुङ, पर्वत जस्ता जिल्लाको सिडिओ भएका उनी सहसचिवमा आकर्षक जिल्लाको कमाण्ड गर्नेमा पर्न थालेका छन्।

पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीका नातेदार समेत रहेका तिवारी उनी गृहसचिव हुँदा झापाको सिडिओ बनेका थिए। २०७४ साउन २९ गते झापाको कमाण्ड सम्हालेका उनी २०७५ वैशाख १६ गतेसम्म टिकेका थिए। त्यसपछि जनकराज दाहाल (पछि काठमाडौंको सिडिओ)ले उनलाई विस्थापित गरेका थिए। उनलाई विस्थापित गर्ने दाहाल कै उत्तराधिकारी बनेर तिवारी काठमाडौंको कमाण्ड सम्हाल्न पुगेका छन्। तिवारी २०७५ वैशाख २० गतेदेखि असार ५ गतेसम्म डेढ महिना कैलालीको सिडिओ समेत भएका थिए।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र गृहमा प्रवक्ता बनेका सहसचिव तिवारी पत्रकारको फोन नउठाउने प्रवक्ताका रूपमा चिनिन्छन्। सिडिओको महत्त्वपूर्ण भूमिका भनेकै समन्वय भएकाले उनीमा यो क्षमता भने अभाव रहेको पाइन्छ। तिवारीलाई नै सिडिओ बनाएर पठाउनु थियो भने सर्वोच्च अदालतको वृहत्त पूर्ण इजलासको न्यायिक टिप्पणीमा परेका काठमाडौंको सिडिओको जिम्मेवारीमा रहेका जयनारायण आचार्यलाई तत्काल मन्त्रालय फिर्ता बोलाएर त्यसै बेला उनलाई सिडिओ पठाएको भए गृहमन्त्री लेखकको आलोचना हुने थिएन। अदालतले आचार्यको शैक्षिक प्रमाणपत्रमा कैफियत देखाइदिएपछि उनलाई त्यहीँ जिम्मेवारीमा राखिरहँदा गृह मन्त्रालयको सुशासन देखाउने ‘ऐना’ जयनारायण हुन भनेर समेत टिप्पणी हुन थालेको थियो। ढिलै भएपनि गृहमन्त्री लेखेकले काठमाडौंको सिडिओ फेरेर आधा सुशासन सच्चाएका छन्।

२ महिना अगाडि मात्र कार्यक्षमतामाथि प्रश्न उठाउँदै चितवनबाट फिर्ता बोलाइएका इन्द्रदेव यादवलाई काठमाडौंपछि आकर्षक मानिने मोरङको सिडिओ बनाएर पठाइएको छ। चितवनका सिडिओ यादवले जिल्लामा शान्ति सुरक्षा र अमन चयन कायम गर्न नसकेको भनेर उनको ठाउँमा गत कार्तिकमा प्रकाश पौडेललाई सिडिओ बनाएर पठाइएको थियो। त्यो बेला उनलाई रातारात किन फिर्ता बोलाइयो र अहिले फेरि मोरङ जस्तो संवेदनशील र महत्त्वपूर्ण जिल्लामा सिडिओ पठाएर बनाइयो त्यसको चित्तबुझ्दो जवाफ गृह मन्त्रालयले दिन सकेको छैन। कमाण्ड गर्न नसकेको भनेर रातारात फिर्ता बोलाइएको व्यक्तिलाई फेरि संवेदनशील ठाउँको सिडिओमा पठाउँदा गृह मन्त्रालयले जवाफदेहिता लिनुपर्छ कि पर्दैन त्यो अहम् प्रश्न हो।

२०६५ सालमा स्वास्थ्य सेवाको हेल्थ असिस्टेन्टबाट सरकारी सेवामा प्रवेश गरेका इन्द्रदेव यादवले पनि लगातार तीनपटक आरक्षणको लाभ लिएका व्यक्ति हुन्। २०६९ सालमा शाखा अधिकृत, २०७५ सालमा उपसचिव र २०७७ सालमा मधेशी कोटाबाटै सहसचिव बनेका यादव सुनसरी, रौतहट, सर्लाही, इलाम, चितवन जस्ता जिल्लाको सिडिओ भइसकेका व्यक्ति हुन्। सिरहा जिल्ला बरियारपट्टीका यादव सुनसरी र मोरङ दुईवटै जिल्लाको कमाण्ड सम्हाल्ने भाग्यमानी सहसचिव देखिएका छन्। सदाबहार सिडिओका रूपमा परिचित वीरेन्द्रकुमार यादवले पनि मोरङ र सुनसरी दुईवटा जिल्लाको सिडिओ चलाउन पाएनन्। मोरङ, सप्तरी, उदययपुर, सिरहा, धनुषा, महोत्तरी, सुर्खेत, नुवाकोट, संखवासभासहित १ दर्जन जिल्लाको सिडिओ बनेका वीरेन्द्रको पदचाप पछ्याउँदै इन्द्रदेव पनि अगाडि बढिरहेका छन्। चल्तापुर्जा सहसचिवहरूलाई पछाडि पार्दै मोरङको सिडिओ बनेका उनी कमजोर खेलाडी हैनन् भन्ने पुष्टि हुन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #इन्द्रदेव यादव सहसचिव, #ऋषिराम तिवारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ