राजस्वबाट प्रशासनको सहसचिव बनेका धर्मेन्द्रकुमार मिश्र पाँचौ जिल्लाको कमाण्ड गर्दै पुगे सुनसरी
काठमाडौं। राजस्वमा रजाइँ गरेर आन्तरिक प्रतिस्पर्धाबाट नेपाल प्रशासन सेवाको सहसचिवमा धर्मेन्द्रकुमार मिश्र लगातर प्रमुख जिल्ला अधिकारी (सिडिओ) खानेमा दर्ज भएका छन्। कैलालीबाट सुनसरीको सिडिओमा सरुवा भएका मिश्र एकपछि अर्को गर्दै आकर्षक जिल्लाको कमाण्ड पाइरहेका छन्।
मधेशी कोटाबाट राजस्वको उपसचिव बनेका मिश्र आन्तरिक प्रतिस्पर्धामार्फत २०७७ असारमा सहसचिवमा फड्को मारेका थिए। सहसचिव भएपछि लगातर सिडिओ बन्नेमा मिश्र देखा परेका हुन्। मिश्र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), कपिलवस्तु, रौतहट, कैलाली हुँदै हाल सुनसरीको सिडिओ बन्न सफल भएका छन्।
उपसचिव हुँदा ९ वर्ष राजस्व प्रशासनमा रजगज गरेका सप्तरीका मिश्र सहसचिव भएपछि लगातार सिडिओ बनेर ‘रेकर्ड’ कायम गर्न अग्रसर छन्। २०७८ वैशाख ३ गतेदेखि फागुन ३ गतेसम्म नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सिडिओ चलाएका मिश्र त्यसपछि कपिलवस्तु पुगेका थिए। २०७८ चैत १८ मा कपिलवस्तुमा हाजिर भएका उनी करिब १० महिना सिडिओ चलाएपछि रौतहट पुगे। २०७९ माघ १० गते रौतहटमा हाजिर भएका सिडिओ मिश्र २०८० पुस ३ सम्म बसे। रौतहटबाट पुस ४ कैलाली पुगेका मिश्र १ वर्ष बढी कैलालीको सिडिओ चलाएर सुनसरी पुगेका छन्। मिश्रले कमाण्ड पाएको जिल्ला हेर्दा उनले लगातार आकर्षक जिल्लाको सिडिओमा स्तरोन्नति भइरहेको देखिन्छ।
मधेशी कोटाबाट २०६८ वैशाख २० गते राजस्व समूहको उपसचिव बनेका मिश्रका ‘ब्याची’ नारद गौतम, निर्मल ढकालहरू बल्ल सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन्। मिश्रले भने लगातार पाँचवटा जिल्लाको सिडिओ चलाउने मौका पाइसकेका छन्। रामचन्द्र तिवारीलाई विस्थापित गरेर सुनसरीको सिडिओ बनेका मिश्रले सुनसरी प्रशासन हर्क साम्पाङले अपेक्षा गरे जसरी कि कसरी चलाउँछन् हेर्न बाँकी छ।
क्याटेगोरी : समाचारट्याग : ## जिल्ला प्रशासन कार्यालय, #धर्मेन्द्रकुमार मिश्र, #नारद गौतम, #निर्मल ढकाल, #राजस्व, #रामचन्द्र तिवारी
तपाईको प्रतिक्रिया दिनुहोस