पर्यटन सचिव पाण्डेले ब्रह्मा, विष्णु र महेश्वर ठान्ने क्यानका डिजी प्रदिप अधिकारी


काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवको भूमिकामा अहिले डा. गणेशप्रसाद पाण्डे रहेका छन्। ५८ वर्षे उमेर हदका कारण २०८२ वैशाख २९ गते घर जान लागेका सचिव डा. पाण्डेको भूमिकालाई लिएर कर्मचारी वृत्तमा किस्सा बन्न थालेको छ।

तत्कालीन पर्यटनमन्त्री हितबहादुर तामाङले इच्छाविपरीत तत्कालीन मुख्यसचिव डा. बैकुण्ठ अर्याल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जोडबलमा गत वैशाखमा पर्यटन सचिव बनेका डा. पाण्डेको कार्यक्षमतामाथि समेत प्रश्न उठ्न थालेको छ। आवश्यक समन्वय गर्न नसक्दा पर्यटन मन्त्रालय कै कर्मचारी रुष्ट देखिन थालेका छन्।

वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासन हेर्ने सचिव हुँदै पर्यटन मन्त्रालय पुगेका बाग्लुङ्गे पाण्डे प्रचण्डलाई संस्कृतको श्लोक र बैकुण्ठको ‘एस-म्यान’ बनेरै पर्यटन सचिव बनेको चर्चा छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक (डिजी) प्रदिप अधिकारीलाई उड्डयन क्षेत्रको ‘ब्रह्मा, विष्णु र महेश्वर उहाँ नै हो’ भनेर सम्बोधन गरेपछि पर्यटन सचिव डा. पाण्डे अहिले झनै चर्चामा छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार ‘उड्डयन क्षेत्रको ब्रह्मा, विष्णु र महेश्वर उहाँ नै हो, उहाँले जे चाह्यो त्यहीँ हुन्छ।’, भनेर सचिव पाण्डेले डिजी अधिकारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रस्तुति गर्न भनेका थिए। प्रदिपलाई हाकिम जस्तो देखाएर आफूलाई उनको कर्मचारी जस्तो ठान्ने डा. पाण्डेले हरेक समिक्षा बैठकमा एउटै कुरा गरेपछि मुख्यसचिव एकनारायण अर्याल कै उपस्थितिमा बसेको बैठकमा उनको भूमिकामाथि प्रश्न उठेको बताइन्छ।

प्रधानमन्त्रीसमक्ष प्रस्तुति दिँदा जे प्रगति थियो मुख्यसचिवको नेतृत्वमा बसेको बैठकमा पनि त्यहिँ कुरा दोहोरिएपछि प्रधानमन्त्री कार्यालय कै उच्च अधिकारीहरूले प्रश्न उठाएका छन्। लुम्बिनीको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अब पनि चलाउन नसके लुम्बिनीमा गौतम बुद्धको मूर्ति हटाएर ब्रह्मा, विष्णु, महेश्वरको मूर्ति राख्नु पर्छ र छेउमा गणेशको मूर्ति पनि राख्नु पर्छ भनेर सचिव पाण्डेमाथि प्रधानमन्त्री कार्यालय कै उच्च अधिकारीले व्यंग्य कसेका छन्। बेलाबेलामा बयानका लागि अख्तियार धाइरहेका क्यानका डिजीलाई ब्रह्मा, विष्णु र महेश्वर मानेर वरिपरी घुमिरहेका गणेशले उडान भर्दा उड्डयन क्षेत्रमा पनि गणेश प्रवृत्ति हाबी हुन थालेको चर्चा छ। त्यसलाई उनैले पुष्टि गरिदिएको प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीहरू सुनाउँछन्।

सचिव पाण्डेले मन्त्रालयसँग सम्बन्धित नीति, कानुन, कार्यविधि बनाउँदा र छलफल गर्दा सम्बन्धित शाखालाई अन्तिममा मात्र जानकारी गराउने र काम गर्नेलाई उचित मूल्यांकन नगर्ने भनेर शाखा अधिकृत र उपसचिव समेत रुष्ट छन्। उनको कार्यशैलीलाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत कुरा हुन थालेको छ। पाण्डे जस्ता सचिवलाई साथमा लिएर पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डेले भरेको उडान गन्तव्यमा ‘सेभ ल्याण्डिङ’ हुनेमा धेरैले आशंका गरेका छन्।

त्यसो त डा. पाण्डे वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव हुँदा आफ्नै अध्यक्षतामा बसेको बैठकको ‘माईन्यूट’मा हस्ताक्षर गर्न अस्वीकार गरेपछि तत्कालीन मन्त्री दिलेन्द्रप्रसाद बडूले तत्काल सरूवा गर्न लगाएका थिए। प्रधानमन्त्री कार्यालयबाट चाँजोपाँचो मिलाएर निकै संघर्षका साथ डा. पाण्डे पर्यटन सचिव बनेका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #डा गणेशप्रसाद पाण्डे सचिव, #प्रदिप अधिकारी क्यान डिजी, #सचिव डा. गणेश पाण्डे

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ