नेपाल बारले न्याय परिषद् सदस्यमा कसलाई पठाउँला?

काठमाडौं। नेपाल बार एशोसिएसनले न्याय परिषद् सदस्य सिफारिस गर्ने तयारी गरिरहेको छ। नेपाल बार एशोसिएसनले सम्भवतः शनिबार नै न्याय परिषद् सदस्यका लागि सिफारिस गर्नेछ।
नेपाल बारको तर्फबाट न्याय परिषद्को सदस्य रहेका रामप्रसाद श्रेष्ठको पदावधि सकिएको महिना दिन बढी भइसक्यो। बारले प्रतिनिधि नपठाउँदा न्यायाधीश नियुक्त हुन सकिरहेको छैन। कानुनमन्त्री अजय चौरसियाले बार कै कारण न्यायाधीश नियुक्तिमा ढिलाई भइरहेको सार्वजनिक अभिव्यक्ति दिएका छन्। चौतर्फी दबाबकाबीच नेपाल बार एशोसिएसनले न्याय परिषद् सदस्य सिफारिस गर्ने तयारी गरेको हो।
नेपाल बार एशोसिएसनको महासचिव अन्जिता खनालले नेपाल बार एशोसिएसनको बैठक बस्ने लागेको बताइन्। बैठकले न्याय परिषद्को सदस्य सिफारिस गर्छ भन्ने प्रश्नमा सिफारिस हुन पनि सक्छ भन्ने प्रतिक्रिया दिइन्।
नेपाल बार एशोसिएसनमा डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए)को बहुमत रहेको छ। त्यसैले डिएलएले प्रस्ताव गरेको व्यक्ति न्याय परिषद्मा सिफारिस हुने देखिन्छ। डिएलएका तर्फबाट वरिष्ठ अधिवक्ताहरू महादेवप्रसाद यादव, वसन्तराम भण्डारी र दामोदर खड्का न्याय परिषद्को सदस्य बन्ने प्रतिस्पर्धामा रहेको पाइन्छ। यीमध्ये पनि यादव र खड्काबीच कडा प्रतिस्पर्धा रहेको बताइन्छ। न्यायाधीश नियुक्तिमा महत्त्वपूर्ण भूमिका हुने भएकाले न्याय परिषद् सदस्य बन्न निकै दौडधुप हुने गरेको छ। अहिले पनि त्यस्तै देखिएको छ।
यादव शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा २०६१ साउन २२ गतेदेखि माघ २२ गतेसम्म ६ महिना महान्यायाधिवक्ता भएका थिए। भण्डारी पनि देउवा कै प्रधानमन्त्री कालमा २०७४ भदौ २ गतेदेखि २०७४ फागुन ३ गतेसम्म ६ महिना नै महान्यायाधिवक्ता बनेका थिए l नेपाली कांग्रेस काठमाडौंको राजनीतिमा सक्रिय र देउवा निकट रहेका डिएलएका तर्फबाट खड्का सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा चुनाव समेत उठेका थिए। यद्यपि उनी निर्वाचित हुन सकेनन्। डिएलएभित्र खड्कालाई न्याय परिषद् सदस्य पठाउन तीव्र लविइङ देखिन्छ। यादवको पक्षमा पनि उत्तिकै माहोल देखिन्छ। राजनीतिक पृष्ठभूमिको व्यक्तिलाई पठाउनु पर्छ भनेर खड्काको पक्षमा लविइङ देखिएको हो। यादव पनि न्याय परिषद् सदस्यका लागि उपयुक्त पात्रका रूपमा हेरिएको छ। यस्तो अवस्थामा नेपाल बार एशोसिएसनले न्याय परिषद्को सदस्यमा कसलाई सिफारिस गर्छ हेर्न बाँकी छ।
क्याटेगोरी : समाचारट्याग : #दामोदर खड्का, #नेपाल बार एशोसिएसन, #न्याय परिषद् सदस्य, #महादेवप्रसाद यादव, #वरिष्ठ अधिवक्ता, #वसन्तराम भण्डारी
तपाईको प्रतिक्रिया दिनुहोस