वरिष्ठ अधिवक्ता दामोदर खड्का न्याय परिषद् सदस्यमा सिफारिस

काठमाडौं। नेपाल बार एशोसिएसनले न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस गरेको छ। शनिबार बसेको नेपाल बार एशोसिएसनले बैठकले खड्कालाई न्याय परिषद् सदस्यका लागि सिफारिस गरेको हो। संसदीय सुनुवाईबाट अनुमोदन भएपछि खड्का न्याय परिषद् सदस्यमा नियुक्त हुनेछन्। राष्ट्रपतिद्वारा नियुक्ति भएपछि खड्काले ४ वर्ष न्याय परिषद्को सदस्यको भूमिकामा काम गर्न पाउनेछन्।
नेपाल बारको तर्फबाट न्याय परिषद्को सदस्य रहेका रामप्रसाद श्रेष्ठ गत मंसिर १५ गते अवकाश भएपछि उक्त पद रिक्त थियो। बारले लामो समय लगाएर बल्लबल्ल खड्कालाई न्याय परिषद्को सदस्यमा सिफारिस गरेको हो। नेपाल बार एशोसिएसनको महासचिव अन्जिता खनालले खड्कालाई न्याय परिषद्को सदस्यमा सिफारिस गरेको पुष्टि गरिन्। उनी सर्वसम्मत रुपमा न्याय परिषद्को सदस्यमा सिफारिस भएका हुन्।
नेपाल बार एशोसिएसनले प्रतिनिधि नपठाउँदा न्याय परिषद्ले न्यायाधीश नियुक्त हुन सकिरहेको छैन। कानुनमन्त्री अजयकुमार चौरसियाले बार कै कारण न्यायाधीश नियुक्तिमा ढिलाई भइरहेको सार्वजनिक अभिव्यक्ति दिएका छन्। चौतर्फी दबाबकाबीच नेपाल बार एसोसिएसनले न्याय परिषद् सदस्य सिफारिस गरेको हो। अब भने न्यायाधीश नियुक्ति गर्न सहज हुनेछ।
नेपाल बार एसोसिएसनमा डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए)को बहुमत रहेको छ। त्यसैले डिएलएले प्रस्ताव गरेको व्यक्ति न्याय परिषद्मा सिफारिस भएका हुन्। डिएलएका तर्फबाट वरिष्ठ अधिवक्ताहरू महादेवप्रसाद यादव र दामोदर खड्का न्याय परिषद्को सदस्य बन्न मुख्य प्रतिस्पर्धामा रहेको थियो। अन्ततः खड्काले बाजी मारेका छन्।
नेपाली कांग्रेस काठमाडौंको राजनीतिमा सक्रिय र देउवा निकट रहेका डिएलएका तर्फबाट खड्का सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा चुनाव समेत उठेका थिए। यद्यपि उनी निर्वाचित हुन सकेनन्। न्याय परिषद्मा राजनीतिक पृष्ठभूमिको व्यक्तिलाई पठाउनु पर्छ भनेर खड्काको पक्षमा लविइङ भएको थियो हो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट रहेका खड्का प्रतिस्पर्धीहरूलाई पछि पार्दै न्याय परिषद्को सदस्यमा सिफारिस हुन सफल भएका छन्।
क्याटेगोरी : समाचारट्याग : #दामोदर खड्का, #न्याय परिषद् सदस्य दामोदर खड्का, #वरिष्ठ अधिवक्ता दामोदर खड्का
तपाईको प्रतिक्रिया दिनुहोस