गृह मन्त्रालयको महाशाखा प्रमुखमा सिडिओको अनुभव नभएकादेखि अनुभवी सिडिओसम्म


काठमाडौं। सहसचिवले नेतृत्व गर्ने गृह मन्त्रालयका महाशाखाहरू धेरै महत्त्वपूर्ण मानिन्छन्। प्रमुख जिल्ला अधिकारी (सिडिओ)को अनुभव लिएकालाई गृह मन्त्रालयको महाशाखा प्रमुख बनाइन्छ। कुनै न कुनै हिसाबले सिडिओसँग समन्वय गर्नु पर्ने भएकाले सिडिओको अनुभव लिएकालाई मात्र गृहको महाशाखा प्रमुख बनाउने प्रचलन रहँदै आएको थियो। तर, पछिल्लो समय सिडिओको ‘अनुहार’ नै नदेखेकालाई पनि गृह मन्त्रालयको महाशाखा प्रमुख बनाएको पाइन्छ।

केही समय अघि गृह मन्त्रालयको प्रशासन र सुरक्षा तथा समन्वय महाशाखा प्रमुख भएर गएकोहरू सिडिओ भएर जाँदैन थिए। उक्त महाशाखामा सिडिओ भएर खारिएर आएका सहसचिवलाई जिम्मेवारी दिइने अभ्यास थियो। पछिल्लो समय थोरै समय सिडिओ चलाएका र ती महाशाखा प्रमुख भएर बसेका सिडिओ भएर जान थालेपछि गृह मन्त्रालयको महत्त्व र स्तर खस्कन थालेको विश्लेष हुन थालेको छ।

गृह मन्त्रालयको महत्त्वपूर्ण मानिने सुरक्षा तथा समन्वय (शान्ति सुरक्षा) महाशाखा प्रमुखको जिम्मेवारी रामचन्द्र तिवारीले पाएका छन्। ७ महिना मात्र सुनसरीको प्रमुख जिल्ला अधिकारी चलाएका तिवारीलाई उक्त महाशाखा प्रमुख तोकिएको हो। सुरक्षा तथा समन्वय महाशाखा प्रमुख ऋषिराम तिवारी भने काठमाडौंको प्रमुख जिल्ला अधिकारी बनेका छन्। पर्वत, वाग्लुङ, कैलाली, रुपन्देही, झापा जस्ता जिल्लाको सिडिओ बनेका ऋषिराम गृहका अनुभवी प्रशासन हुन्। तर, विगतको अभ्यास र परम्परा अनुसार सुरक्षा तथा समन्वय महाशाखा प्रमुख भइसकेको व्यक्ति सिडिओ जाने कुरालाई गृह मन्त्रालयको स्तर खस्क्याउने कदममा रूपमा हेर्न थालिएको छ।

गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखमा सहसचिव छवि रिजाल रहेका छन्। सुर्खेत, तनहुँ, झापा जस्ता जिल्लाको सिडिओ भइसकेका रिजाल प्रशासन महाशाखा प्रमुख हुनुलाई स्वभाविक रुपमा लिइन्छ। प्रशासन महाशाखा प्रमुख भएर सिडिओमा नगएका रिजालले अहिले भने गृह मन्त्रालयको हितमै काम गरेको देखिन्छ। गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख भइसकेको व्यक्ति सिडिओ बनेर जानु त्यति उपयुक्त पनि हैन।

गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी जयनारायण आचार्यले पाएका छन्। सर्वोच्च अदालतले शैक्षिण प्रमाणपत्रमा कैफियत देखाएर न्यायिक टिप्पणीमा परेका आचार्यलाई गृह मन्त्रालयले काठमाडौंको सिडिओबाट तानेर मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिएको छ। दाङ, सप्तरी, कास्की, ललितपुर, सुनसरी, काठमाडौं जस्ता जिल्लाको सिडिओ चलाएका आचार्य गृह मन्त्रालय आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख बनेका हुन्। उक्त महाशाखाको प्रमुख बनिसकेका गोगनबहादुर हमाल भने कैलालीको सिडिओ बनेर गएका छन्।

गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुखको जिम्मेवारीमा सहसचिव आनन्द काफ्ले रहेका छन्। पाल्पालगायतका जिल्लाको सिडिओ भएर अनुभव लिइसकेका काफ्ले मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा भूमिकामा रहेका हुन्।

गृह मन्त्रालयको कानुन महाशाखा प्रमुखमा सहसचिव भरतमणि रिजाल रहेका छन्। कानुनका सहसचिवलाई सिडिओ बनाएर पठाउने अभ्यास नभएकाले उक्त महाशाखा प्रमुख सिडिओको अनुभव लिएर आउन सक्ने सम्भावना हुँदैन। रिजाल कानुनका भने अनुभवी सहसचिव हुन्।

गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा डा. टोकराज पाण्डे रहेका छन्। गृहको अनुभव नै नभएको र सिडिओको कमाण्ड नै नपाएका पाण्डेलाई विपद् र द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको हो। त्यसो त पाण्डे गृह मन्त्रालयमा छिर्नेबित्तिकै नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख बन्ने सौभाग्य प्राप्त गरेका थिए। सिडिओको अनुभव नै नलिएका सहसचिव पाण्डेलाई मन्त्रालयको महाशाखा प्रमुख बनाइएको भनेर गृहमन्त्री रमेश लेखकको समेत आलोचना हुँदै आएको छ।

विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका डा. भीष्मकुमार भुसाल बिदा स्वीकृत गराएर दाताको खर्चमा विदेश जाने गरेको पाइएपछि उनको जिम्मेवारी खोसेर उक्त महाशाखामा पाण्डेलाई पठाइएको हो। हाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा रहेका सहसचिव भुसाल महिना दिनमा पन्ध्र दिन त विदेशमै घुम्न थालेपछि गृहमन्त्री लेखकले उनलाई कार्यकक्षमा बोलाए ‘हप्काए’ समेत मन्त्री निकट स्रोतले बतायो। सिडिओको अनुभव लिएका सहसचिव भुसाललाई विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीबाट हटाएर सिडिओ चलाउने अनुभव नलिएका पाण्डेलाई उक्त महाशाखा प्रमुख बनाइएको हो। गृह मन्त्रालयको महाशाखा प्रमुखमा सिडिओको अनुभव नभएका प्रशासनका एक्ला सहसचिव पाण्डे देखिएका छन्। 

क्याटेगोरी : समाचार
ट्याग : #आनन्द काफ्ले सहसचिव, #ऋषिराम तिवारी, #गृह मन्त्रालय, #गोगनबहादुर हमाल, #छवि रिजाल सहसचिव, #जयनारायण आचार्य सहसचिव, #डा. टोकराज पाण्डे, #डा. भीष्मकुमार भुसाल सहसचिव, #भरतमणि रिजाल, #रामचन्द्र तिवारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ