लोक सेवाले तेस्रो नम्बरमा सिफारिस गरेका भुजेल २ जनालाई टपेर कायममुकायम सचिव बने
काठमाडौं। मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशको प्रमुख सचिवमा कायममुकायम मुकरर गरेका सहसचिव मदन भुजेललाई पठाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेशको प्रमुख सचिव पदमा सहसचिव मदन भुजेललाई कायममुकायम मुकरर गर्ने निर्णय भएको जानकारी गराए। मधेश प्रदेशका प्रमुख सचिव लोकनाथ पौड्याललाई कर्णाली प्रदेशको प्रमुख सचिवमा सरुवा गरेर भुजेललाई मधेश प्रदेशको कायममुकायम प्रमुख सचिव बनाएर पठाइएको हो।
त्यस्तै लुम्बिनी प्रदेशको प्रमुख सचिवमा बाबुराम अधिकारीलाई कायममुकायम मुकरर गरिएको छ। लुम्बिनी प्रदेशकाे प्रमुख सचिव रहेका महादेव पन्थलाई बागमती प्रदेशको प्रमुख सचिवमा सरुवा गरेर उनकै सहसचिवका ‘ब्याची’ अधिकारीलाई लुम्बिनी प्रदेशको का.मु. प्रमुख सचिव बनाएर पठाइएको हो।
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दरबन्दीभन्दा बढी सचिव ल्याएर थन्क्याएर एकैचोटी दुई जना सहसचिवलाई प्रदेशको प्रमुख सचिवमा कायममुकायम मुकरर गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि पुष्कर कर्णको मात्र त्यहाँबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भने युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्याल र कर्णाली प्रदेशका प्रमुख सचिव चुडामणि पौडेललाई सरुवा गरेको ल्याइएको छ।
प्रधानमन्त्री कार्यालयमा दरबन्दीभन्दा बढी सचिव राखेर दुई जना सहसचिवलाई कायममुकायम प्रमुख सचिव (सचिव) मुकरर गरेर सरकारले सुशासनको नमूना प्रदर्शन गरेको पाइन्छ। अहिले टेकनारायण पाण्डे जेलमा रहेकाले उनी निलम्बनमा छन्। ५ वर्षे सेवा अवधिका कारण फागुन १२ गते घर जान लागेका पाण्डेको ठाउँमा अधिकारीलाई कायममुकायम प्रमुख सचिव बनाउनु त ठिकै थियो। तर, प्रधानमन्त्री कार्यालयमा १ को ठाउँमा दुई सचिव ल्याएर दुई जना सहसचिवलाई कायममुकायम सचिव बनाउनुले सरकारको निर्णयमाथि प्रश्न उठेको हो।
मधेश प्रदेशको प्रमुख सचिवमा कायममुकायम मुकरर गरिएका मदन भुजेल २०७० चैतमा लोक सेवा आयोगले सहसचिवमा सिफारिस गर्दा तेस्रो नम्बरमा रहेका थिए। लोक सेवा आयोगको सिफारिसमा खुलाको पहिलो नम्बरमा शोभाकान्त पौडेल, २ नम्बरमा भूपाल बराल, ३ नम्बरमा मदन भुजेल र ४ नम्बरमा चन्द्रकला पौडेलको नाम सिफारिस भएको थियो। शोभाकान्त र भूपाल सहसचिवमा खुला, मदन आदिवासी जनजाति कोटा र चन्द्रकला महिला कोटाबाट सहसचिवमा सिफारिस भएकी थिइन्। तर, खुलाबाट १ नम्बर र २ नम्बरमा सिफारिस भएका शोभाकान्त र भूपाललाई पछाडि पार्दै कायममुकायम सचिवमा मदनले बाजी मारेका छन्। यो निर्णयसँगै शोभाकान्त र भूपालभन्दा मदन अगाडि सचिव बन्ने निश्चित भएको हो।
एकैदिन सहसचिवको पहिलो नम्बरमा सिफारिस भएका शोभाकान्त अहिले अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुख छन्। दोस्रो नम्बरका भूपाल अहिले वन तथा वातावरण मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेका छन्। तेस्रो नम्बरमा रहेका कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रशासन महाशाखा प्रमुख सहसचिव मदन भने दुबै जनालाई उछिनेर कायममुकायम सचिव बनेका हुन्।
सहसचिवमा चौथो नम्बरमा सिफारिस भएकी हाल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेकी चन्द्रकलाले पनि शोभाकान्त र भूपाललाई टपेर सचिव बन्ने देखिन्छ।
क्याटेगोरी : समाचारट्याग : ##मदन भुजेल, #भूपाल बराल, #शोभाकान्त पौडेल, #सहसचिव चन्द्रकला पौडेल
तपाईको प्रतिक्रिया दिनुहोस