दशौँ राष्ट्रिय योग दिवसका अवसरमा सम्माननीय प्रधानमन्त्रीको शुुभकामना सन्देश


माघ १ गते । स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग भन्ने आदर्श वाक्यका साथ आज हामी दशौं राष्ट्रिय योग दिवस, २०८१ मनाइरहेका छौं । यस दिवसका अवसरमा म सबैमा हार्दिक बधाई तथा शुुभकामना व्यक्त गर्दछुु ।  

योग यस भूमिको उपज हो । हाम्रा पूर्वजहरु, जसले गणितको, आयुर्वेदको, अन्तरीक्षको अथवा स्वास्थ्य विज्ञानको जुन आविष्कार गर्नुभएको थियो, त्यो असाधारण थियो भन्ने पुष्टि हो यो । आज योगको महत्व अझ बढी प्रखर रुपमा प्रकट भएको छ । मानिसको सबैभन्दा महत्वपूर्ण कुरा हो स्वस्थ्य रहनु । शारीरिक र मानसिक रुपले स्वस्थ्य रहनु । स्वस्थ्य रहनका लागि योग असाधारण उपयोगी छ । साधना र लामा ध्यानहरु चिन्तकहरुका लागि आवश्यक हुन सक्छ ।

हामी विश्वलाई मानवोचित विश्व बनाउन चाहिरहेका छौँ । विश्व भनेको धर्ती र मानव समाज हो । प्रकृति र मानव समाज । यसको सन्तुलन पनि कायम गर्न चाहिरहेका छौँ । योग मूलतः यिनै कुराहरुसँग केन्द्रित छ । हामी यस ठाउँलाई आदियोग भूमि भन्न सक्दछौँ । आदियोग गुरु, आदियोगी शिव अर्थात् शम्भुनाथले यसै भूमिबाट हजारौँ वर्षअघि योगको अभ्यास, योगको चिन्तन र योग दर्शन अर्थात् जीवनसँग सम्बन्धित सम्पूर्ण विषयहरु र जीवन र प्रकृतिको सम्बन्धको चिन्तन, ध्यानादि कुराको प्रारम्भ गर्नुभएको थियो । त्यसकारण हामी शिवलाई आदियोगी मान्दछौँ ।

योग आदियोगी शिवबाट शुरू भएको हो । योग कुनै धर्म, जाति वा भूगोलविशेषसँग, कुनै राजनीतिक विचारधारामा सीमित छैन । यो सम्पूर्ण मावन जातिको कल्याणका लागि निर्मित र समर्पित रहेको एउटा यस्तो विधा हो जुन अत्यन्तै वैज्ञानिक ढङ्गले शुरू भएको थियो । बीचको समयमा योग अलिक ओझेल पर्दै गयो । बीचमा विभिन्न प्रकारका भ्रम, भ्रान्तिहरू पनि यसमा मिसिए । अहिले योग भ्रान्तिहरूबाट मुक्त, मानवीय हित र कल्याणका लागि सम्पूर्णरूपमा समर्पित र व्यापक, विस्तृत हुन जरूरी छ । मानव समाजव्यापी हुन जरूरी छ । यस प्रयासमा हामी जुटेका छौं ।

हामीले एउटा कुरामा स्पस्ट हुनुपर्दछ, योग कुनै धर्म विशेषसँग सम्बन्धित छैन । योग अध्यात्मासँग सम्बन्धित छैन । दर्शनहरुको सृष्टि भन्दा अगाडि शैव दर्शनसँग सम्बन्धित छ, दर्शनकै प्रारम्भ यहीँबाट भयो । योगबाट दर्शनको प्रारम्भ भयो । योगबाट ध्यान, ध्यानबाट चिन्तन, चिन्तनबाट मनन, मननबाट ज्ञान विकास भयो ।

संयुक्त राष्ट्र सङ्घले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मान्यो । जसको इतिहासले हाम्रो भूमिसँग १५ हजार वर्ष अगाडिको नाता राख्दछ । यसको सम्बन्ध कपिलवस्तुका कपिलमुनिसँग जोडिएको छ । त्यसपछि कपिलवस्तुकै सिद्धार्थ गौतम, गौतम बुद्धसँग नाता जोडिएको छ । त्यसपछि अर्घाखाँचीका महर्षि पतञ्जलीसँग नाता जोडिएको छ । र, त्यस परम्परालाई आत्मसात गर्दै संयुक्त राष्ट्र सङ्घले पनि योग अभ्यासको विस्तारको दिनलाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मान्यता दिएको छ । यो हाम्रो भूूभागबाट सुुरु भएको थियो ।

हामीले शाङ्ख्य दर्शन र शाङ्ख्य दर्शनमा आधारित योगलाई फेरि विकास र पुनःउत्थान गर्ने काम गर्नु पर्दछ । जो पहिले कपिलमुनिले गर्नुभएको थियो । कपिलमुनि पनि कपिलवस्तुकै हुनुहुन्थ्यो । पछि आएर महर्षि पतञ्जलीले सम्पूर्ण योगलाई आठ भागमा बाँड्नुभयो । त्यसपछि हामीले अष्टाङ्गयोग भनेर अध्ययन गरेका छौँ । अष्टाङ्गयोग भनेको योगका आठ अङ्गहरुको अध्ययनका पाटा हुन् । योगका आठवटा संघटक अङ्गहरु यम, नियम, आशन, प्रणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधी हुन् । आठ भागमा विभाजित योगका हरेक अङ्ग, हरेकका विशाल शाखाहरु छन् । यमका आफ्ना शाखाहरु छन्, नियमका आफ्ना शाखाहरु छन्, फेरि तिनका अरु भाग र सेक्सनहरु छन् । योगका यी विभिन्न सेक्सनहरु हुन् । र, ती सेक्सनहरुलाई हामी एउटा आसनको सेक्सनमा, एउटा प्रणायामको सेक्सनमा र अर्को ध्यानको सेक्सनमा लान सक्छौँ । संक्षिप्तमा हामीले बुझ्दाखेरि आसन, शरीरलाई चुस्त दुरुस्त राख्न र शरीरको प्रतिरोधी क्षमता सहनशक्ति, वहनशक्ति आदिको विकास गर्न र शरीरलाई जम्न नदिन गति नै जीवन हो ।

अब समय परिवर्तन भएको छ । फेरि एसियाको समय फर्किएको छ, फेरि यस हिमवतखण्डको समय फर्किएको छ । फेरि यस नेपाल देशको समय फर्किएको छ, जो ज्ञानभूमि हो, ध्यानभूमि हो, तपोभूमि हो र देवभूमि हो । यसलाई हामी विकास गर्न सक्दछौँ । हाम्रा सनातन चिन्तन, ज्ञान, ध्यान र तिनका स्रोतहरुको हामीले आज पुनःस्थापना, पुनःउत्थान गर्नुपर्दछ । मैले थुप्रै ठाउँमा भनेको छु, नासाका कुरा गर्छन्, पुनःजागरणका कुरा गर्दछन्, जहाँ पहिलोपल्ट जागरण भएको छ । पुनःजागरण हामीकहाँ आवश्यक छ, जहाँ १५ हजार वर्ष अघिदेखि शैव दर्शनको प्रारम्भ भएको थियो । जहाँ सप्तऋषिहरुले योगशिक्षालाई नवीकरण गरेका थिए । अर्थात्, यो भूमि त्यस्तो भूमि हो, जसलाई हामीले चिन्नु पर्दछ र यस भूमिप्रति गर्व गर्नुपर्दछ । यस भूमिको प्रकृतिप्रति गर्व गर्नुपर्दछ । जहाँ ज्ञानको उत्पत्ति हुन्छ, अनेक चिजको आविष्कार हुन्छ, त्यो अत्यन्तै महत्वपूर्ण भूमि हो । अब अहिले त दुनियाँले नपत्याउने भइसक्यो, नेपालले पनि ज्ञानका कुरा गर्ने, नेपालले पनि ज्ञानको उत्पत्तिका कुरा गर्ने भनेर । तर, हामीले गर्व गर्नु पर्दछ । हामीसँग ती पूर्खाहरुको, ती ऋषिहरुको, ती महर्षिहरुको अनुबंशिक गुण छ ।

हामीले ती पूर्वजहरुप्रति शिर झुकाएर श्रद्धापूर्वक नमन गर्नुपर्दछ । उहाँहरुको आदर्शबाट सिक्ने र उहाँहरुको जस्तो ज्ञान पैदा गर्ने खोज, अध्ययन, अनुसन्धानको बाटो समाउने प्रयास गर्नुपर्दछ । जीवनमा त्यसलाई आत्मसात गर्ने प्रयास गर्नु पर्दछ । आजको योग दिवसले हामीलाई यी कुराहरुको प्रेरणा देओस् । यस योग दिवसले देशभक्ति, पूर्वजहरुप्रति, हाम्रो प्रकृतिप्रति, हाम्रो यो भूखण्ड, हाम्रो यो देशप्रति हामीलाई गर्व गर्न सिकाओस् र त्यसबाट प्रेरणा लिएर अगाडि बढ्न प्रेरित गरोस् । म सबैमा यही शुभकामना व्यक्त गर्न चाहन्छु ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ