प्रदेशबाट पेलेर प्रदेशमै पठाइएका प्रमुख सचिवहरू


काठमाडौं। प्रदेशमा प्रमुख सचिव बनिसकेपछि क त्यो सचिवले संघमा सरुवा भएर आउन खोज्छ। तर, सरकारले केही सचिवहरुलाई पेलेर प्रदेशबाट प्रदेशमै सरुवा गरिदिएको पाइन्छ। केपी ओली प्रधानमन्त्री हुँदा सबैभन्दा बढी यस्तो हुने गरेको देखिन्छ। यसले कर्मचारी प्रशासनमा वितृष्णा मात्र पैसा गरेको छैन ती सचिव समेत निराश हुने र राज्यले उनीहरुसँग केही लिन नसक्ने अवस्था देखा पर्न थालेको छ।

प्रदेशको प्रमुख सचिव भएको व्यक्ति संघीय मन्त्रालय वा निकायको प्रमुख सचिवमा सरूवा भएर आउने/ल्याउने प्रचलन पछिल्लो समय तोडिँदै गएको छ। प्रदेशका प्रायजसो प्रमुख सचिवहरू संघीय मन्त्रालयको सचिव बनेर काठमाडौं छिर्ने गरेका छन्। तर, प्रदेशका केही प्रमुख सचिव भने काठमाडौं नछिरी अर्को प्रदेशको प्रमुख सचिवमा सरूवा भएका छन्। यसका पछिल्लो उदाहरण लोकनाथ पौड्याल र महादेव पन्थ हुन्।

२०८० साल चैततमा मधेश प्रदेशको कायममुकायम प्रमुख सचिव भएका लोकनाथ पौड्याल डेढ महिनापछि सचिवमा बढुवा भएर मधेश प्रदेश कै प्रमुख सचिवमा पदस्थापन भएका थिए। हालै सार्वजनिक भएको सरुवा सूचीमा पौड्याललाई मधेश प्रदेशबाट कर्णाली प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको देखिन्छ।

महादेव पन्थ २०८१ साउनमा लुम्बिनी प्रदेशको कायममुकायम प्रमुख सचिव हुँदै भदौमा सचिवमा बढुवा भएपछि लुम्बिनी प्रदेश कै प्रमुख सचिवमा पदस्थापन भएका थिए। उनलाई अहिले बागमती प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको छ।

पन्थले विस्थापित गरेका र संघको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका बागमती प्रदेशका प्रमुख सचिव डा. हरिप्रसाद लम्साल पनि प्रदेशबाट प्रदेशको प्रमुख सचिवमा सरुवा हुनेमा पर्छन्। २०८० कात्तिक २३ गते सुदूरपश्चिम प्रदेशको कायममुकायम प्रमुख सचिवको जिम्मेवारी पाएका डा. लम्साल चैत १५ मा सचिवमा बढुवा भएर सुदूरपश्चिम प्रदेश कै प्रमुख सचिवमा पदस्थापन भएका थिए। भदौ २७ गते उनको सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवबाट बागमती प्रदेशको प्रमुख सचिवमा सरुवा भएको थियो। डा. लम्साल कायममुकायम प्रमुख सचिवमा करिब ५ महिना र प्रमुख सचिवमा झन्डै ६ महिना बसेर बागमती प्रदेशको प्रमुख सचिवमा सरुवा भएका थिए। बागमतीमा बसेर ४ महिनापछि डा. लम्साल संघको युवा तथा खेलकुद मन्त्रालयको सचिव बनेर आएका छन्।

पन्थ, पौड्याल र लम्सालभन्दा अगाडि लक्ष्मीराम पौडेल, नारायणप्रसाद बिडारी, रामकृष्ण सुवेदी र डा. दिपक काफ्ले पनि प्रदेशको प्रमुख सचिवबाट प्रदेश कै प्रमुख सचिवमा सरूवा हुनेमा पर्छन्।

प्रदेश सरकारको अभ्यास सुरू भएपछि एउटा प्रदेशको प्रमुख सचिवबाट अर्को प्रदेशको प्रमुख सचिवमा सरूवा हुने लक्ष्मीराम पौडेल पहिलो व्यक्ति हुन्। उनी सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवबाट गण्डकी प्रदेशको प्रमुख सचिवमा सरुवा भएका थिए।२०७४ माघ १९ गते सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव भएका पौडेल २०७५ भदौ १२ त्यहाँबाट गण्डकी प्रदेशको प्रमुख सचिवमा सरुवा भएका थिए। भदौ १४ गते गण्डकी प्रदेशमा उनी प्रमुख सचिवको रूपमा हाजिर भएका थिए।

लक्ष्मीराम गौतम र नारायणप्रसाद बिडारी प्रदेश साटफेर गरेर एउटा प्रदेशको प्रमुख सचिवबाट अर्को प्रदेशको प्रमुख सचिवमा एकैदिन सरूवा भएका हुन्। बिडारी पनि गण्डकी प्रदेशको प्रमुख सचिवबाट सुदूरपश्चिमको प्रमुख सचिवमा सरूवा भएका थिए। पौडेललाई सुदूरपश्चिम प्रदेशबाट गण्डकी प्रदेशको प्रमुख सचिवमा सरूवा गरिएको थियो भने बिडारीलाई गण्डकीबाट सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा सरुवा गरेर पठाइको थियो।

२०७५ असार ६ गते गण्डकी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हालेका बिडारीको भदौ १२ गते सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा सरूवा भएको थियो। २०७५ भदौ १९ मा सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हालेका बिडारी २०७६ पुस ७ गतेसम्म बसेका थिए। त्यसपछि मात्र संघमा आएका हुन्। बिडारी गण्डकी र सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा डेढ वर्ष बसेर मात्र संघमा फर्किएका थिए।

रामकृष्ण सुवेदी पनि मधेश प्रदेशको प्रमुख सचिवबाट सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा सरूवा भएका थिए। २०७६ मंसिर ४ गते मधेश प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हाल्न पुगेका उनी ६ महिना उक्त प्रदेशमा २०७७ वैशाख ३ गते सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा सरूवा भएका थिए। २०७७ वैशाख ८ देखि सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हालेका २०७८ असार २४ सम्म उक्त प्रदेशको प्रमुख सचिवको भूमिकामा बसेका थिए। सुवेदी सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवबाट उपराष्ट्रपति कार्यालयमा सरूवा भएर आए। उनी मधेश र सुदूरपश्चिम गरी करिब ९ महिना प्रमुख सचिव बनेर संघमा फर्किएका हुन्।

सुवेदीको सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवबाट उपराष्ट्रपति कार्यालयको सचिवमामा सरूवा भएको थियो। उपराष्ट्रपति कार्यालयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, प्राकृतिक स्रोत तथा वित्त आयोग, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय हुँदै सुवेदी अहिले सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिव बन्न पुगेका छन्। सचिवको ५ वर्षे कार्यकालका कारण उनी कात्तिकमै घर गइसकेका छन्।

अपांग कोटाबाट सहसचिव हुँदै सचिव बनेका डा. दिपक काफ्ले पनि एउटा प्रदेशको प्रमुख सचिवबाट अर्को प्रदेशको प्रमुख सचिव बनेर जानेमा पर्छन्। सचिवमा बढुवा भएपछि उनी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन भएका थिए। डा. काफ्ले लुम्बिनी प्रदेशको प्रमुख सचिवबाट कोशी प्रदेशको प्रमुख सचिवमा सरूवा भए।

२०७९ भदौमा लुम्बिनी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हाल्न पुगेका काफ्ले चैतसम्म लुम्बिनीमा बसेका थिए। उनी २०७९ चैत २० गते कोशी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हाल्न पुगेका थिए। डा. काफ्ले कोशी प्रदेशको प्रमुख सचिव भएर झन्डै साढे ९ महिना बसेपछि २०८० पुस २ गते कोशी प्रदेशको प्रमुख सचिवबाट बिदाई भएका थिए। उनी प्रदेशमा करिब १७ महिना बसेपछि मात्र संघमा फर्किएका हुन्। कोशी प्रदेशबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हुँदै काफ्ले अहिले शिक्षा सचिवको भूमिकामा छन्।

क्याटेगोरी : समाचार
ट्याग : #डा. दिपक काफ्ले, #डा. हरिप्रसाद लम्साल, #नारायणप्रसाद बिडारी, #प्रदेश प्रमुख सचिव, #प्रदेशबाट प्रदेश सरुवा हुने प्रमुख सचिवहरू, #महादेव पन्थ, #रामकृष्ण सुवेदी, #लक्ष्मीराम पौडेल, #लोकनाथ पौड्याल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ