ट्राफिक र महानगर मिलेर नियमित रूपमा सवारी साधनहरुको प्रदूषण जाँच गरिँदै


काठमाडौं। ट्राफिक प्रहरी र काठमाडौं महानगरपालिका मिलेर नियमित रूपमा सवारी साधनहरुको प्रदूषण जाँच गरिरहेका छन्। ठूलो संख्यामा कारबाही समेत गरेको महानगरपालिकाले जनाएको छ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सवारी साधनको अवस्था ठिक राख्न र सवारीसाधनलाई मर्मत सरसफाइ गराउन आग्रह गरेका छन्। बालेनले भनेका छन्, ‘के तपाईको सवारी साधन को अवस्था ठिक छ , प्रदूषणको मात्रा धेरै छ । अवस्था ठिक छैन भने सवारीसाधनलाई मर्मत सरसफाइ गराउनु होला।’, आफूहरूले ट्राफिक प्रहरीको सहकार्यका सवारी साधनहरुको प्रदूषण जाँच गरि राखेको उनको भनाइ छ।

महानगरपालिकाले वातावरण सुधारका लागि वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७, प्रदूषण नियन्त्रण मापदण्ड २०८१, फोहरमैल संकलन तथा ढुवानी कार्यविधि २०८१ जारी गरेको छ । त्यसै अनुसार महानगरले सवारी साधनहरुको प्रदूषण जाँच गरिरहेको हो।

बालेनका अनुसार मापदण्डमा पेट्रोलबाट चल्ने सवारी साधन र डिजेलबाट चल्ने सवारी साधन र निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखिएको छ। ‘सन् १९८० सम्म उत्पादन भएका चार पाङ्ग्रे सवारी साधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ। सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ३ प्रतिशत (वाइ भोल्युम) हुनुपर्ने।’,  मापदण्डमा उल्लेख छ।

तीन पाङ्ग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । दुई पाङ्ग्र सवारी साधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।

सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजल सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ । सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएकयु) हुनुपर्छ ।

जाँचका क्रममा तोकिएको एकाइभन्दा माथिल्लो अङ्क देखियो भने प्रदूषण मापदण्ड बाहिर हुन्छ । त्यसै अनुसार महानगरपालिकाले प्रदूषण नियन्त्रणका लागि त्यस्ता सवारी साधनमाथि एक्सन लिन थालेको छ। यसले स्वच्छ वातावरण र प्रदूषण नियन्त्रणमा भूमिका खेल्ने महानगरपालिकाको विश्वास रहेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ