पूर्वाञ्चल विश्वविद्यालयका मुख्य सहायक हिरालाल यादव उपर भ्रष्टाचार मुद्दा दायर
काठमाडौं। पूर्वाञ्चल विश्वविद्यालयका मुख्य सहायक (कम्प्युटर) हिरालाल यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार यादवविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जारी गरेको प्रस विज्ञप्तिमा ‘पूर्वाञ्चल विश्वविद्यालयका मुख्य सहायक (कम्प्युटर) हिरालाल यादवको शैक्षिक योग्यताको प्रमाण-पत्र आवश्यक छानबिनको लागि पठाइएको भन्नेसमेत व्यहोराको पूर्वाञ्चल विश्वविद्यालयको प्राप्त पत्र/उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निज हिरालाल यादवले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ मेडिकल एण्ड एलाईड साईन्सेज (PUCMAS) मा मुख्य सहायक कम्प्युटर पदमा अस्थायी नियुक्ति तथा पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट, विराटनगर (PUSOM) मा स्थायी नियुक्ति पाउनका लागि भारतको केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सि.वि.एस.ई.) CBSE, अन्तर्गत महाराजा अग्रसेन पब्लिक स्कूल अशोक विहार न्यू दिल्लीबाट जारी भएको देखिएको प्रवीणता प्रमाण-पत्र वा सो सरहको झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाण-पत्र पेस गरी मुख्य सहायक (कम्प्युटर) पदको सेवा, सुविधा उपभोग गरेको पुष्टि भएकोले निज हिरालाल यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको’, उल्लेख छ।
अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेसँगै यादव निलम्बित भएका छन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस