धोबीखोला बगरमा बनेको ओम अस्पतालको अवैध पर्खालमा चल्यो डोजर
काठमाडौँ। धोबीखोला बगरमा बनेको ओम अस्पतालको पर्खालमा काठमाडौं उपत्यका विकास प्राधिकरणको डोजर चलेको छ। प्रतिष्ठित चिकित्सहरु मिलेर सञ्चालनमा रहेको ओम अस्पतालले साबिक धोबीखोलाको बगर मिचेर मापदण्डविपरीत बनाएको कम्पाउण्डवाल (पर्खाल)मा डोजर लगाएको प्राधिकरणले जनाएको छ।
काठमाडौं उपत्यका विकास प्राधिकरण र काठमाडौं महानगरपालिका वडा नम्बर ७ मिलेर चाबहिलको धोबीखोला करिडोरको अतिक्रमित संरचना हटाएको हो। प्राधिकरणले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको निर्देशन अनुसार धोबीखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाएको हो। सरकारी जग्गा अतिक्रमण गरी बनाइएका भवनहरु तथा संरचना हरू भत्काउन शुरु गरेको प्राधिकरणले जनाएको छ ।
आइतबार प्राधिकरणको टोलीले काठमाडौंको चाबहिलस्थित मालपोत कार्यलय नजिक रहेका भवनहरु भत्काउन शुरु गरेको हो । प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त सुवास बस्नेतको नेतृत्वमा ओम अस्पताल र आसपासका क्षेत्रमा सरकारी जग्गा मिचेर बनाएकाले भवन र पर्खाल भत्काएको जनाएको छ । केही भूमाफिया र अतिक्रमणकारी स्थानीयको अवरोध बाबजुद प्राधिकरणले सरकारी जग्गामा बनेको अबैध संरचनामा डोजर लगाएर सरकारी जग्गा संरक्षणको कदम चाल्न सफल भएको हो।
प्राधिकरणले धोबीखोलालगायत आफ्नो क्षेत्राधिकारभित्र रहेका मापदण्डविपरीत बनेका र सार्वजनिक जग्गा हडपेर बनेका संरचना हटाउने कार्य सुरु गरेको हो। बागमती, धोबीखोलालगायतमा यस्ता संरचना बढी रहेको काठमाडौं उपत्यका विकास प्राधिकरणले जनाएको छ। जुन सहरी विकासमन्त्री प्रकाशमान सिंहको निर्वाचन क्षेत्रसँग पनि जोडिएको हो। भूमफियाले सरकारी/सार्वजनिक जग्गा हडपेर बनाइएको अवैध संरचना हटाउने उपप्रधानमन्त्री सिंहको कदम सह्रानीय देखिन्छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस