पर्यटन मन्त्रालयमा ‘टिम सुदूरपश्चिम’


काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सुदूरपश्चिम प्रदेशको टिम बनेको छ। पर्यटन मन्त्रालयमा अहिले ‘टिम सुदूरपश्चिम’को चर्चा हुन थालेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाका हुन्। उनै मन्त्री पाण्डेले सचिव समेत सुदूरपश्चिम प्रदेशको ल्याएका छन्। पर्यटन सचिव रहेका गण्डकी प्रदेशको बाग्लुङ जिल्लाका गणेशप्रसाद पाण्डेलाई हटाएर मन्त्री पाण्डेले सचिवमा सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला घर भएका विनोद प्रकाश सिंहलाई ल्याएका छन्। महालेखा नियन्त्रक कार्यालयमा रमाइरहेका सचिव सिंह भेगीय मन्त्री पाण्डेको सारथि बन्न पर्यटन मन्त्रालय पुगेका हुन्। २०८२ वैशाख २५ गतेसम्म सचिवमा रहने सिंहले त्यसको पाँच दिनपछि वैशाख ३० गतेसम्म जागिर रहेका पाण्डेलाई विस्थापित गरेर पर्यटन सचिव बनेका हुन्। गृह सचिव बन्ने चर्चामा रहेका सिंह सुदूरपश्चिम कै रमेश लेखकले बेवास्ता गरेपछि पर्यटन सचिव बनेर गएका छन्। पर्यटनमा सचिव र मन्त्रीको भेगीय सन्तुलन मिलेको छ। पर्यटन सचिव बन्न मरिहत्ते गरेर लागेका कृष्णहरि पुष्कर कर्णलाई जिल्लाबासी मन्त्री शरदसिंह भण्डारीको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयतिर धकेलेर सिंह पर्यटन मन्त्रालयमा ‘इन्ट्री’ मार्न सफल भएका छन्।

सुदूरपश्चिमका मन्त्री पाण्डेले पर्यटन सचिव मात्र होइन पर्यटन विभागको महानिर्देशक पनि सुदूरपश्चिम कै ल्याएका छन् । मन्त्री पाण्डेको गृहजिल्ला बाजुराका डा. नारायणप्रसाद रेग्मीलाई उनले विभागको महानिर्देशकको जिम्मेवारी दिएका हुन्। सुदूरपश्चिमको काविल प्रशासकमा चिनिएका रेग्मीले विभाग हाँक्ने अवसर पहिलोपटक पाएका छन्।

पर्यटन मन्त्रालयको प्रशासन शाखाका प्रमुख रहेका गोकर्ण उपाध्याय पनि सुदूरपश्चिमको बझाङ जिल्लाका हुन्। रवि लामिछाने गृहमन्त्री हुँदा निजी सचिव बनेर काम गरेका उपाध्यायलाई पाण्डेले पनि विश्वास गरेका छन्।

पर्यटन मन्त्रालयको प्रशासन तथा योजना महाशाखा प्रमुखमा भने कास्कीका रामकृष्ण लामिछाने र पर्यटन महाशाखा प्रमुखमा पाल्पाकी इन्दु घिमिरे रहेका छन्। त्यस्तै संस्कृति महाशाखा प्रमुखको जिम्मेवारीमा भक्तपुरका सुरेश सुरश श्रेष्ठ रहेका छन्। पर्यटन मन्त्रालयको एउटा महाशाखामा समेत भेगीय सन्तुलन मिलाउने प्रयास भइरहेको मन्त्रालय स्रोतको दाबी छ। पर्यटनमन्त्री पाण्डेले जनताले अनुभूति गर्न गरी त्यस्तो खास काम गर्न नसकेपनि टिम ‘सुदूरपश्चिम’ बनाउन भने सफल देखिन्छन्।

क्याटेगोरी : समाचार
ट्याग : #गोकर्ण उपाध्याय, #नारायणप्रसाद रेग्मी, #बद्रिप्रसाद पाण्डे, #विनोद प्रकाश सिंह

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ