काठमाडौंको तारकेश्वरमा वडाध्यक्षले फोहोरको हिसाब खोजेपछि मेयरले सोधे स्पष्टीकरण

काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिकामा वडाध्यक्षले फोहोरमैलाको हिसाब खोजेपछि मेयरले स्पष्टीकरण सोधेका छन्। तारकेश्वर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष शम्भुप्रसाद फुयाँलले सामाजिक सञ्जाल फेसबुकमा लेखेकै भरमा मेयर कृष्णहरि महर्जनले स्पष्टीकरण सोधेका हुन्।

‘तारकेश्वर नगरपालिकामा वार्षिक रुपमा जनताले फोहोरमैलाको नाममा वार्षिक ७ करोड बुझाउँछन्। कसलाई बुझाउँछन् थाहा छैन। हिजोको मेयर पनि चुप आजका पनि चुप ।’, वडाध्यक्ष फुयाँलले सामाजिक सञ्जाल फेसबुकमा लेखेको देखिन्छ।
नगरपालिकामा फोहोरमैलाको नाममा जनताले वार्षिक ७ करोड बुझाउने गरेको पैसा कसलाई बुझाउने गरेको हो त्यो विषयमा मेयर नबोलेको वडाध्यक्ष फुयाँलको टिप्पणी रहेको पाइन्छ। उनले सामाजिक सञ्जाल मार्फत मेयरलाई जवाफदेही बनाउन खोज्दा मेयरले उल्टै स्पष्टीकरण सोधेका छन्।

वडाध्यक्ष फुयाँलले फेसबुक मार्फत सार्वजनिक चासो र सरोकारको विषय उठाउँदा मेयर महर्जनले सार्वजनिक शिष्टाचार उल्लंघन गरेको भनेका छन्। वडाध्यक्ष फुयाँल र मेयर महर्जन दुबै नेपाली कांग्रेसबाट टिकट पाएर स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधि हुन्। विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई नेपाली कांग्रेसले आफ्नो मुल मर्म ठान्ने गरेको छ। तर, उक्त पार्टीबाट जनप्रतिनिधि बनेका तारकेश्वर नगरपालिका मेयर महर्जनले कांग्रेसको मर्ममाथि नै प्रहार गरेका छन्। मेयर महर्जन अलोकतान्त्रिक चरित्र र तानाशाही प्रवृत्तिका शासक रहेको उनले सवाल गर्ने वडाध्यक्षलाई सोधेको स्पष्टीकरणबाटै प्रस्ट हुन्छ। कांग्रेसको सिद्धान्तसँग मेयर महर्जनको कदम मेल खाँदैन।
काठमाडौंको तारकेश्वर नगरपालिकामा मात्र होइन हरेक ठाउँमा फोहोरमैलाको पैसा कहाँ जान्छ खोजीको विषय हो। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबाहेक कसैले पनि फोहोरमैलाको हिसाब खोज्ने गरेको पाइँदैन। महानगरले फोहोरमैलाको पैसा खोज्न टेण्डर प्रक्रिया अघि बढाइरहँदा काठमाडौं महानगरपालिकासँगै जोडिएको तारकेश्वरका मेयरले भने वडाध्यक्षमाथि ‘अनुशासनको डण्डा’ बर्साएका छन्। कतै यिनीहरू गुट नमिलेर पत्र र सञ्जालमार्फत ‘कुटाकुट’ त गरेका हैनन् भन्ने प्रश्न पनि उठ्न थालेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगरपालिका, #फोहोरमा अवैध धन्दा र फोहोरी राजनीति, #फोहोरमैला संकलन, #मेयर कृष्णहरि महर्जन, #वडाध्यक्ष सम्भुप्रसाद फुयाँल
तपाईको प्रतिक्रिया दिनुहोस