सार्वजनिक लेखा समितिमा स्वास्थ्यमा मात्रै ६ उजुरी
काठमाडौं। संसद्को सार्वजनिक लेखा समितिमा स्वास्थ्यका मात्रै ६ वटा उजुरी दर्ता भएको छ। त्यसमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित ३ वटा र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानसँग जोडिएका ३ वटा उजुरी रहेका छन्।
स्वास्थ्यका ठेक्कामा विभिन्न निकायमा उजुरी हालिरहने ठकेदार नवराज बस्नेतले २०८० असोज ६ गते सार्वजनिक लेखा समितिमा स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले स्वास्थ्य सामग्री खरिद गर्दा नीतिगत भ्रष्टाचार हुने गरी बोलपत्रको सर्त राखी प्रकाशन गरेकोबारे छानबिन गरिपाउँ भन्ने व्यहोराको उजुरी दर्ता गएकाका छन्। उक्त उजुरी सार्वजनिक लेखा समितिले उपसमिति नै गठन गरेर अध्ययन थालेको छ।
त्यस्तै श्याम सुन्दर शर्माले स्वास्थ्य सेवा विभागले स्वास्थ्य सामग्री खरिदमा राज्यकोषको दोहन भइरहेकाले छानबिन गरिपाउँ भनेर सार्वजनिक लेखा समितिमा उजुरी दिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव मुक्तिराम खनालले स्वास्थ्य सेवा विभागमा सरुवा गरेको केही समयमै पुनः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा झिकाईएको तर कुनै जिम्मेवारी पनि नदिइएको र तलब भत्ता सुविधा नदिएको विषयमा समेत सार्वजनिक लेखा समितिमा उजुरी हालेका छन्। उनले मन्त्रालयका उच्च अधिकारीलाई सार्वजनिक लेखा समितिमा बोलाउन लगाएपछि त्यो मन्त्रालयमा काम गर्न त्यति सहज देखिँदैन।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको बेरुजु सम्परीक्षणका लागि व्यक्तिगत र संस्थागत रुपमा लेखा समितिमा २ वटा निवेदन दर्ता भएको पाइन्छ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान अस्पतालमा भएको ठेक्कासम्बन्धी भ्रष्टाचार भएको फाइल तानी कारबाही गरिपाउँ भनेर सरोकारवालाहरुले सार्वजनिक लेखा समितिमा उजुरी दर्ता गराएका छन्। यी सबै उजुरीको अध्ययन सुरु गर्न लेखा समितिले उपसमिति नै गठन गरेर काम थालेको छ।
सार्वजनिक लेखा समितिमा १ सय वटा उजुरीमध्ये स्वास्थ्यका ६ वटा देखिन्छन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस