मुख्यसचिव सुवेदीले जागिर छाडेर गएको पदमा नेपाल मनोनित, मासिक ३० लाख खान्छन्
काठमाडौं। मन्त्रिपरिषद्को माघ ७ गते बसेको बैठकले अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाललाई एसियाली विकास बैंक (एडिबी)को वैकल्पिक कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि मनोनयन गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयको शक्तिशाली बजेट तथा कार्यक्रम महाशाखा प्रमुख रहेका नेपाललाई २ वर्षका लागि एडिबीको वैकल्पिक कार्यकारी निर्देशकमा पठाउने निर्णय गरेको हो। विश्व बैंकमा समेत बसेर स्वाद चाखिसकेका नेपाल एडिबीमा समेत मासिक झन्डै ३० लाख खाने गरी २ वर्षका लागि जान लागेका हुन्।
अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता महाशाखा प्रमुख भएर लामो समयदेखि तरमारेका पाल्पाली सहसचिव नेपाललाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट तथा कार्यक्रम महाशाखा प्रमुख बनाएका थिए। आफ्ना विश्वासपात्र सुर्खेती धनीराम शर्मा भट्टराईलाई नेपालले रजगज गरेको अन्तर्राष्ट्रिय आर्थिक सहायता महाशाखा प्रमुख बनाएर अर्थमन्त्री पौडेलले नेपाललाई बजेटको चाबी दिएका थिए। आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउनुभन्दा ४ महिना अगाडि नै नेपालले सुन्दरीहरुको शहरका रूपमा परिचित फिलिपिन्सको मनिला तर्फ प्रस्थान गर्ने जाँचोपाँचो मिलाएका हुन्।
नेपाल मनोनित भएको एडिबीको वैकल्पिक कार्यकारी पदमा तत्कालीन मुख्यसचिव डा. सोमलाल सुवेदी समेत गएका थिए। उक्त पदमा जानेको मासिक झन्डै २० हजार डलर पारिश्रमिक हुन्छ। त्यो भनेको अहिलेको डलर भाउ अनुसार मासिक झन्डै ३० लाख रुपैयाँ हो। उक्त पैसाका लागि मुख्यसचिवको पद नै ‘बेचेर’ सुवेदी मनिला गएका थिए। सत्ताको संरचना परिर्वतन भएपछि सुवेदीलाई विस्थापित गरेर बाँकी अवधिका लागि अर्थ मन्त्रालयका अर्का शक्तिशाली सहसचिव (पछि राजस्व सचिव) रामशरण पुडासैनी गएका थिए। अहिले फेरि डलर खाने उक्त पदमा नेपाल मनोनित भएका छन्। मनिलाको जागिर अर्थ मन्त्रालयका शक्तिशाली उच्च पदस्थहरुलाई मालामाल हुँदै आएको छ।
२०७१ फागुन १२ गते सहसचिव भएका नेपाल २ वर्ष नेपाल छाडेर डलर छाप्न मनिला जान लागेका हुन्। प्रदेश नै नटेकका सहसचिव नेपाल सचिवमा बढुवा हुन अझै दुई वर्ष बढी लाग्छ। अहिले सचिवको बढुवाको लाइनमा बाबुराम अधिकारी, मदन भुजेल, चन्द्रकला पौडेल, शोभाकान्त पौडेल, भुपाल बराल, डण्डुराज घिमिरे, खगेन्द्रप्रसाद सुवेदी, कृष्णप्रसाद काप्री, बैकुण्ठप्रसाद अर्याल, इमानारायण श्रेष्ठ, राजेन्द्रप्रसाद पौडेल, कमलप्रसाद भट्टराई, इन्दु घिमिरे, नारायणप्रसाद भट्ट, श्रीकृष्ण नेपाल, विनोदबहादुर कुँवर, उत्तरकुमार खत्री, कालिप्रसाद पराजुली, रुद्रसिङ तामाङ, आभा श्रेष्ठ, चक्रबहादुर बुढा, जयनारायण आचार्य सचिव हुने लाइनमा रहेका छन्। सचिव हुन समय लाग्ने भएपछि नेपाल डलर छाप्न मनिला जान लागेका हुन्।
श्रीकृष्ण नेपाल पनि रामशरण पुडासैनी जस्तै एमाले सत्ताका शक्तिशाली सहसचिवमा ‘दर्ज’ भएका छन्। देश बनाउनभन्दा नेपाल आफू बन्न भने सफल भएका हुन्। यो सीमित व्यक्तिले मौकामा पाउने असीमित अवसर समेत हो।
क्याटेगोरी : समाचारट्याग : #Alternative Directors-ADB, #Asian Development Bank, #Joint secretary Shree Krishna Nepal, #Philippines Manila, #एसियाली विकास बैंक(एडिबी), #फिलिपिन्सको राजधानी मनिला, #रामशरण पुडासैनी, #श्रीकृष्ण नेपाल, #सोमलाल सुवेदी
तपाईको प्रतिक्रिया दिनुहोस