भगवान कोइरालाको नेतृत्वमा योजना अनुमति नलिई अवैध ढंगले बनिरहेको बाल अस्पताल
काठमाडौं। प्रतिष्ठित चिकित्सक डा. भगवान कोइरालाको नेतृत्वमा निर्माण भइरहेको बाल अस्पतालले काठमाडौं उपत्यका विकास प्राधिकरणबाट योजना अनुमति (प्लानिङ परमिट) नलिएको खुलासा भएको छ। काठमाडौं उपत्यकाभित्र अस्पताल भवन बनाउँदा काठमाडौं उपत्यका विकास प्राधिकरणसँग अनिवार्य रुपमा योजना अनुमति लिनुपर्ने हुन्छ। प्राधिकरणसँग अनुमति नलिई अस्पताल भवन बनाउँदा त्यो अवैध हुन्छ। तर, डा. भगवान कोइराला नेतृत्वमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा-७ हेपाली हाइटमा बनि रहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पतालले प्राधिकरणसँग योजना अनुमति नै नलिई भवन निर्माण गरेको खुल्न आएको हो।
सरकारसँग ४१ रोपनीभन्दा बढी जग्गा लिजमा लिएर विभिन्न मुद्दा लागेका भाटभटेनी सुपरमार्केटका मालिक मिनबहादुर गुरूङसँग ४१ करोड दान लिएर निर्माण थालिएको अस्पताल भवन अवैध रहेको पाइएको हो।
काठमाडौं उपत्यका विकास प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त सुवास बस्नेतका अनुसार काठमाडौं उपत्यकाभित्र क्षेत्रका अस्पताललगायतका संरचना निर्माण गर्दा प्राधिकरणबाट योजना अनुमति लिएर मात्र गर्नुपर्छ। स्वास्थ्य लाइभले खोजी गर्दा डा. कोइरालाको नेतृत्वमा बनिरहेका काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पतालले प्राधिकरणबाट योजना अनुमति नलिएको भेटिएको हो।
भाटभटेनी, काठमाडौं महानगरपालिकालगायतका विभिन्न दातासँग चन्दा उठाएर झन्डै २ अर्ब ६६ करोड रुपैयाँमा बनाउन सुरु गरेको २ सय शप्याको अस्पताल भवन अवैध ढंगले बनाउनु गलत हो। स्वास्थ्य मन्त्रालयका सदाबहार विज्ञ सल्लाहकार डा. भगवान कोइरालाले अधिकारसम्पन्न काठमाडौं उपत्यका विकास प्राधिकरणलाई ‘बाइपास’ अवैध ढंगले अस्पताल भवन निर्माण गर्दा उनको प्रतिष्ठामाथि समेत धक्का लाग्ने देखिन्छ।
प्राधिकरणका जिल्ला आयुक्त बस्नेतका अनुसार प्राधिकरणसँग योजना अनुमति नलिइ बनेका संरचना भत्काउन सक्ने कानुन रहेको छ। काठमाडौं उपत्यकाका व्यवस्थित गर्न प्राधिकरणको स्थापना भएको स्मरण गराउँदै कानुनको पालना सबैले गर्नु पर्ने उनले बताए। योजना अनुमति नलिई अवैध ढंगले बनेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)को भवनको विषयमा प्राधिकरणले के गर्छ हेर्न बाँकी छ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचारट्याग : #काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच), #काठमाडौं उपत्यका विकास प्राधिकरण, #डा. भगवान कोइराला
तपाईको प्रतिक्रिया दिनुहोस