मीनभवन र बबरमहलमा बन्ने भयो अपाङ्गमैत्री आकाशेपुल
काठमाडौं। बानेश्वरको मीनभवन र बबरमहलमा लिफ्टसहितको अपाङ्गमैत्री आकाशेपुल (ओभरहेड ब्रिज) बन्ने भएको छ। उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र बागमती प्रदेश सांसद दीपेन्द्र श्रेष्ठको पहलमा बानेश्वर र बबरमहलमा लिफ्टसहितको अपाङ्गमैत्री आकाशे पुल बन्ने भएको हो। उक्त आकाशेपुलले काठमाडौं जिल्ला अदालतका दुई भवन र विशेष अदालत मात्र होइन बबरमहलका दुई भूगोललाई समेत जोड्ने काम गर्ने छ। त्यस्तै बानेश्वरको मीनभवनमा बन्ने आकाशेपुलले प्रयागमार्ग र आलोकनगर जोड्ने छ।
काठमाडौं जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष अधिवक्ता रामचन्द्र विमल पौडेलका अनुसार काठमाडौं जिल्ला बारको आग्रहमा नेपाल सरकारका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र बागमती प्रदेश संसद दीपेन्द्र श्रेष्ठको पहलमा काठमाडौं जिल्ला अदालत अगाडि लिफ्टसहितको अपाङ्गमैत्री पुलको निर्माणको लागि टेण्डर आह्वान भएको हो। यसले दैनिक हजारौं अधिवक्ता र सेवाग्राहीलाई लाभ पुग्ने छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले मीनभवनको प्रयागमार्ग र आलोकनगर जोड्ने र बबरमहलको दुई भाग र जिल्ला अदालतका दुई भवनमा आउन-जान सहज हुने गरी ठेक्का आह्वान गरेको छ। उक्त क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित सिंहको निर्देशनमा प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठ डेढ वर्षदेखि त्यो ठाउँमा आकाशेपुल हाल्न विभिन्न निकायमा धाइरहेका थिए। उनको निरन्तरको धाइले बल्ल मूर्त रुप लिएको छ।
अर्थ मन्त्रालयका तत्कालीन बजेट तथा कार्यक्रम महाशाखा प्रमुख रितेशकुमार शाक्य उक्त आकाशेपुल बनाउने विषयमा महत्त्वपूर्ण भूमिका खेलेका थिए। स्रोत सुनिश्चिततादेखि ठेक्का आह्वान गर्ने चरणम पुग्दासम्म सिंहको विशेष जोडबल रहेको थियो। अब भने आकाशपुल बन्ने चरणमै पुगेको हो।
प्रयागमार्ग र आलोकनगर जोड्न आकाशेपुल नहुँदा अहिलेसम्म ४ दर्जन बढी नागरिकले अकालमा ज्यान गुमाइसकेका छन्। त्यहाँ थप मान्छेले ज्यान गुमाउन नपरोस् भनेर सांसद श्रेष्ठ राज्यका निकायलाई झकझक्याउन धाइरहेका थिए। हुनको पहलले बल्ल सार्थकता पाएको छ। त्यहाँ आकाशेपुल बन्ने निश्चित भएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #आकाशे पुल, #दिपेन्द्र श्रेष्ठ, #दिपेन्द्र श्रेष्ठ प्रदेश सांसद, #मिनभवन आकाशे पुल
तपाईको प्रतिक्रिया दिनुहोस