व्यापारीलाई प्राकृतिक स्रोत लुटाउन आदिवासीमाथि गोली चलाइरहेको राज्य


काठमाडौं। अमेरिकी केरा व्यापारीले राज्य सत्ता गरेपछि मध्य अमेरिकी राष्ट्र गणतन्त्र होण्डुरसलाई ‘बनाना रिपब्लिका’को संज्ञा दिने गरिन्छ। नेपालमा पनि पछिल्लो समय राज्य सत्ता व्यापारीको कब्जामा पुगेको भान हुन्छ।

व्यापारीको स्वार्थमा प्राकृतिक स्रोत मासेर ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार बनाउन राज्यले आदिवासी जनजातिमाथि गोली चलाउन थालेको छ। मुक्कुमलुङ संघर्ष समिति, केवलकार खारेजी संघर्ष समितिलगायतले पाथीभरामा बन्ने केवलकारको विरोध गरिरहेका छन्। तर, चन्द्रागिरी, मौलाकालीलगायतमा वन कब्जा गरेर केवलकारको व्यापार गरिरहेका चन्द्र ढकालको लागानीमा जबरजस्ती ढंगले पाथीभरा क्षेत्रमा केवलकार निर्माणको काम सुरु भएको छ। प्राकृतिक स्रोत मासेर केवलकार बनाउनु हुँदैन भन्ने त्यो क्षेत्रका आदिवासी जनजातिलाई राज्यले गोली चलाएर चन्द्र ढकालको केवलकार निर्माणलाई साथ दिइरहेको छ। शनिबार साँझ ‘नो केवलकार समूह’ र प्रहरीबीच पाथीभरा क्षेत्रमा दर्जनौं घाइते भएका छन्। केहीको अवस्था गम्भीर छ।

काफ्लेपाटीभन्दा एक किलोमिटरमाथि रहेको बलुडाँडामा दुई पक्षबीच झडप भएको जनाइएको छ। पाथीभरा क्षेत्रको प्राकृतिक स्रोत मासेर पाथीभरा माता केवलकार कम्पनी साढे दुई किलोमिटर केवलकार निर्माण सुरु गरेको हो। ३ अर्ब लागत लाग्ने दाबी गरिएको उक्त केवलकार हिमालयन कन्ट्रक्सनका इन्द्र केदेमले १५ महिनाभित्र निर्माण सक्ने गरी ठेक्का पाएको छ। केवलकार निर्माणको कामलाई कम्पनीले तीव्रता दिएपछि मुक्कुमलुङ संघर्ष समिति विरोधमा उत्रिएको छ। उनीहरूको विरोधलाई दमन गर्न प्रहरी प्रशासनले गोली चलाएको छ।

पाथीभरा क्षेत्रमा केवलकार निर्माण गर्ने उद्देश्यले पुगेका आङछिरिङ शेर्पा तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीलगायतको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो। अहिले चन्द्र ढकालको समूहले उक्त केवलकार निर्माणको जिम्मा लिएपछि स्थानीय जनताले ज्यान गुमाउनु पर्ने अवस्था आएको छ। विकासका नाममा गरिने विनाशले विद्रोह निम्त्याउने काम गरेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ