प्रधानमन्त्री ओलीले उद्घाटन गरेका होटल कै छैन योजना अनुमति


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका होटलहरु कै योजना अनुमति नरहेको पाइएको छ। प्रधानमन्त्री जस्तो जिम्मेवार अधिकारीले नै अवैध होटल उद्घाटन गरेको रहस्य फेला परेको हो।

काठमाडौं उपत्यकाभित्र होटल बनाउँदा काठमाडौं उपत्यका विकास प्राधिकरणबाट योजना अनुमति (प्लानिङ परमिट) लिनुपर्ने हुन्छ। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अघि उद्‌घाटन गरेका पाँचतारे होटल मर्क्योर, होटल लेमन ट्री प्रिमियर र होटल होलिडे-इन रिसोर्टले प्राधिकरणबाट योजना अनुमति नै नलिई अवैध ढंगले सञ्चालन गरिरहेको खुल्न आएको हो।

प्रधानमन्त्री ओलीले डेढ हप्ता अगाडि काठमाडौं सुकेधारामा बनेको पाँचतारे होटल मर्क्योरको उद्घाटन गरेका थिए। देशबन्धु बस्नेतलगायतको समूहले ३ अर्ब बढी लगानीमा सञ्चालन ल्याएको भवन अवैध रहेको खुल्न आएको छ। त्यस्तै प्रधानमन्त्री ओली नै गत भदौंमा काठमाडौंको बुढानिलकण्ठमा साढे दुई अर्ब लगानीमा बनेको पाँचतारे होटल लेमन ट्री प्रिमियर र साढे ३ अर्ब लगानीमा सञ्चालित होटल होलिडे-इन रिसोर्टको उद्घाटन गरेका थिए। उक्त होटलले पनि प्राधिकरणबाट योजना अनुमति लिएको पाइँदैन। स्वास्थ्य लाइभको खोजीमा प्रधानमन्त्री ओलीले तामझामका साथ उद्घाटन गरेका ती तीनवटै पाँचतारे होटलले काठमाडौं उपत्यका विकास प्राधिकरणसँग योजना अनुमति नै स्वीकृत नगराई अवैध ढंगले भवन निर्माण गरेको पाइएको हो। केपी ओलीले नै उद्घाटन गरेको नक्सालस्थित पाँचतारे होटल हिलटनको पनि मापदण्डसम्बन्धी विवाद देखिएको छ।

ऊर्जामन्त्री दिपक खड्काको लगानीमा काठमाडौंको बुढानिलकण्ठमा सञ्चालनमा आएको होटल होलिडे-इन रिसोर्टले पनि प्राधिकरणबाट योजना अनुमति लिएको छैन। साढे ३ अर्बभन्दा बढी लगानीमा सञ्चालित उक्त पाँचतारे होटलको पनि गत असोजमा प्रधानमन्त्री ओली नै उद्घाटन गरेका थिए।

काठमाडौं उपत्यका विकास प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त ई. सुवास बस्नेतले काठमाडौं उपत्यकामा होटलको भवन बनाउँदा अनिवार्य रूपमा प्राधिकरणबाट योजना अनुमति स्वीकृत हुनुपर्ने बताउँछन्। तर, पाँचतारे होटल मर्क्योर र होटल लेमन ट्री प्रिमियरले काठमाडौं उपत्यका विकास प्राधिकरणबाट योजना अनुमति नै लिएको पाइँदैन।

काठमाडौं उपत्यकामा विकास प्राधिकरण काठमाडौं उपत्यकालाई योजनाबद्ध रूपमा विकास गरी जनसाधारणलाई आवश्यक सेवा सुविधा पुऱ्याउन भौतिक विकास योजना तर्जुमा र कार्यान्वयन गर्नका लागि काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ अनुसार स्थापित संस्था हो। उक्त प्राधिकरणको अनुमति लिएर मात्र ठूला होटल निर्माण गर्न सक्ने कानुनी प्रावधान छ। तर, पाँचतारे होटल मर्क्योर र होटल लेमन ट्री प्रिमियरले प्राधिकरणबाट योजना अनुमति नै नलिई अवैध रुपमा भवन निर्माण गरेर होटल सञ्चालनमा ल्याएको हो।

योजना अनुमति नलिएका होटलहरुलाई भत्काउन आदेश दिन सक्ने समेत प्राधिकरणसँग अधिकार रहेको छ। त्यसरी संरचना भत्काउँदा लागेको खर्च समेत सम्बन्धित संस्थाले व्यहोर्नु पर्ने प्रावधान छ। काठमाडौं उपत्यका विकास प्राधिकरणबाट योजना अनुमति नलिई गरिएको काम र बनाएको संरचनालगायतका सम्पत्ति कुनै व्यहोराले हक छाडिदिन वा किनबेच, अंशबण्डा गर्न, बैंक तथा वित्तीय संस्थालाई धितो बन्दकी दिन नपाउने गरी रोक्का राख्न सम्बन्धित मालपोत कार्यालयमा लेखी पठाउने अधिकार समेत प्राधिकरणसँग रहेको छ।

काठमाडौंका पाँचतारे होटलहरू एभरेष्ट, ऱ्याडिसन, याक एण्ड यति, हायात, मल्ललगायत पनि प्राधिकरणबाट योजना अनुमति नलिई अवैध ढंगले चलिरहेको पाइन्छ। प्राधिकरणबाट योजना अनुमति नलिई संरचना बनाए प्राधिकरणले एक्सन लिन सक्छ।

यी हुन् योजना अनुमति लिने होटलहरू

काठमाडौंका केही पाँचतारे होटलले भने  काठमाडौं उपत्यका विकास प्राधिकरणबाट योजना अनुमति लिएका छन्। एभरेष्ट हस्पिटालिटी ग्रुप प्रालिद्वारा सञ्चालित होटल मेरियटले प्राधिकरणबाट योजना अनुमति लिएको पाइन्छ। जगदम्बा हस्पिटालिटी ग्रुप प्रालिमार्फत होटल हिल्टनले पनि प्राधिकरणबाट योजना अनुमति लिएको देखिन्छ। त्यस्तै कमलपोखरीमा अवैध रुपमा ठडिएको छायाँदेवी कम्प्लेक्समा सञ्चालित पाँचतारे अलफ्ट पनि योजना अनुमति लिएको प्राधिकरणको रेकर्डमा उल्लेख छ।

लैनचौरको होटल लि शेर्पा र ठमेलमा नेपाल हस्पिटालिटी ग्रुप प्रालिले सञ्चालन गरेको होटलले पनि योजना अनुमति लिएका छन्। यीबाहेक अधिकांश होटलले काठमाडौं उपत्यका विकास प्राधिकरणबाट योजना अनुमति लिएको पाइँदैन। केही होटलले कानुन मान्दा अधिकांश पाँचतारे होटलहरु अवैध मनमौजी ढंगले चलिरहेको देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #एभरेष्ट, #मल्ल, #याक एण्ड यति, #ऱ्याडिसन, #हायात, #होटल मर्क्योर, #होटल लेमन ट्री प्रिमियर, #होटल होलिडे-इन रिसोर्ट

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ