ग्राण्डीदेखि फ्रन्टलाइन अस्पतासम्मले प्राधिकरणबाट लिएका छन् योजना अनुमति


काठमाडौं। मुलुकको संघीय राजधानी ठूला अस्पतालले काठमाडौं उपत्यका विकास प्राधिकरणको योजना अनुमतिबिनै संरचना खडा गरेका छन्। नर्भिक इन्टरनेसनल, ओम, एभरेष्ट, काठमाडौं मोडल, मेडिकेयर, चिरायुलगायतका चलेका अस्पताल अवैध रहेको पाइन्छ। तर, काठमाडौंका केही ठूला अस्पतालले भने काठमाडौं उपत्यका विकास प्राधिकरणबाट योजना अनुमति लिएर मात्रै भवन बनाएको देखिन्छ।

काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, सेतोपुलमा रहेको फ्रन्टलाइन अस्पता (नोबेल) र धुम्बाराहीस्थित ह्याम्स अस्पतालले काठमाडौं उपत्यका विकास प्राधिकरणबाट योजना अनुमति (प्लानिङ परमिट) लिएका छन्। ह्याम्सले (हस्पिटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी)को नाममा प्राधिकरणबाट योजना अनुमति लिएको छ। त्यस्तै काठमाडौंको सोह्रखुट्टेमा रहेको एरा अन्तर्राष्ट्रिय अस्पताल, महाराजगञ्जस्थित अन्तर्राष्ट्रिय मैत्री बाल अस्पताल र नेपाल जनस्वास्थ्य सरोकार ट्रष्टद्वारा सञ्चालित किर्तिपुर अस्पतालले प्राधिकरणबाट योजना अनुमति लिएका छन्।

काठमाडौंमा दर्जनौं अस्पताल काठमाडौं उपत्यका विकास प्राधिकरणबाट योजना अनुमति नै नलिई अवैध ढंगले चलिरहँदा ग्राण्डी, फ्रन्टलाइन, ह्याम्स, एरा, अन्तर्राष्ट्रिय मैत्री, किर्तिपुर अस्पताल भने योजना अनुमति लिएर वैध तरिकाले सञ्चालन रहेको पाइए को हो। कानुन पालनमा ग्राण्डी, फ्रन्टलाइन, ह्याम्सलगायतका अस्पताल इमानदार देखिएका हुन्।

नेपाल सरकारको स्वीकृत मापदण्ड, २०६४ तथा बस्ती विकास सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ मा काठमाडौं उपत्यका विकास प्राधिकरणबाट योजना अनुमति लिएर मात्र भवन निर्माण गर्न पाउने व्यवस्था छ। उक्त व्यवस्थालाई ग्राण्डी, फ्रन्टलाइन, ह्याम्सलगायतका आधा दर्जन अस्पतालले मात्र पालना गरेका छन्। मापदण्ड पालना नगर्ने अस्पतालमाथि एक्सन हुने काठमाडौं उपत्यका विकास प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त सुवास बस्नेतले बताए। कानुन कार्यान्वयन गर्न प्राधिकरण सक्रिय भएको उनको भनाइ छ। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कानुन कार्यान्वयन गर्न प्राधिकरणलाई निर्देशन दिएसँगै प्राधिकरण सक्रिय भएको हो।

अस्पताल मात्र होइन विद्यालय, कलेज, नर्सिङ्ग होम, जग्गा प्लटिङ्ग, संस्थागत भवन, सार्वजनिक, व्यापारिक, मिश्रित आवासीय, सभा सम्मेलन भवन, सांस्कृतिक समारोह तथा भोजभतेर स्थल, संयुक्त वा सामूहिक आवास, मनोरञ्जन स्थल निर्माण गर्नका लागि अनिवार्य रुपमा प्राधिकरण वा सम्बन्धित जिल्ला आयुक्तको कार्यालयबाट योजना अनुमती लिन पनि प्राधिकरणले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले अनुमोदन गरेको स्वास्थ्य भवन मापदण्डमा पनि अस्पताल भवन बनाउँदा उपत्यकाको हकमा काठमाडौं उपत्यका विकास प्राधिकरणबाट अस्पताल भवन निर्माणसम्बन्धी योजना अनुमति स्वीकृत भएको हुनुपर्नेछ भन्ने व्यवस्था रहेको छ।

काठमाडौं उपत्यकामा विकास प्राधिकरण काठमाडौं उपत्यकालाई योजनाबद्ध रूपमा विकास गरी जनसाधारणलाई आवश्यक सेवा सुविधा पुऱ्याउन भौतिक विकास योजना तर्जुमा र कार्यान्वयन गर्नका लागि काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ अनुसार स्थापित संस्था हो। देशको राजधानी समेत रहेको काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउने कार्यमा प्राधिकरण सक्रिय रहेको जिल्ला आयुक्त बस्नेतले जनाए। कुनै व्यक्ति, संघ-संस्थाले योजना अनुमति नलिई निर्माण कार्य गरेको थाहा भएमा प्राधिकरणलाई जानकारी गराएर सहयोग गरिदिन समेत काठमाडौं उपत्यका विकास प्राधिकरणले आग्रह गरेको छ।

क्याटेगोरी : समाचार
ट्याग : #अन्तर्राष्ट्रिय मैत्री बाल अस्पताल, #एरा अन्तर्राष्ट्रिय अस्पताल, #किर्तिपुर अस्पताल, #ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, #फ्रन्टलाइन अस्पताल, #ह्याम्स अस्पताल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ