नि:शुल्क पिजी पढ्न चाहने चिकित्सकले २ वर्ष पढेको कलेजमा सेवा गर्नु पर्ने


काठमाडौं। निजी मेडिकल कलेजका नि:शुल्क स्नातकोत्तर (पिजी) पढ्न चाहने चिकित्सकले २ वर्ष पढेको कलेजमा सेवा गर्नु पर्ने भएको छ। प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।

निजी मेडिकल कलेजहरूले शैक्षिक शत्र २०८१/०८२ देखि नै स्नातकोत्तर तहमा अध्ययन गर्न आवसीय चिकित्सकहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छात्रवृत्ति निर्देशिका अनुसार निर्वाह भत्ता प्रदान गर्ने र नि:शुल्क अध्ययन गर्न चाहने आवासीय चिकित्सकलाई अध्ययन पश्चात दुई वर्ष सोही शिक्षण संस्थामा कबुलियतनामा गरी सेवा गर्ने व्यवस्था मिलाउन नेपाल सरकारले कानुनी व्यवस्था मिलाउने निर्णय भएको छ। उक्त निर्णयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले पनि सहमति जनाएका छन्।

आयोगको बैठकले स:शुल्क तर्फ निजी मेडिकल कलेजमा अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई कम्तिमा पहिलो वर्ष २५ हजार रुपैयाँ, दोस्रो वर्ष ३० हजार रुपैयाँ र तेस्रो वर्ष ३५ हजार रुपैयाँ दरले मासिक निर्वाह भत्ता निजी मेडिकल कलेजले उपलब्ध गराउने समेत निर्णय भएको छ। निजी मेडिकल कलेज, नेपाल चिकित्सक संघ र सरकारबीच सहमतिको बिन्दु पौल्याएर उक्त निर्णयमा पुगेको हो।

स्नातकोत्तर तहमा अध्ययन गर्ने आवासीय चिकित्सकलाई निजी मेडिकल कलेज, विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल एवं प्रचलित  श्रमसम्बन्धी कानुन बमोजिम मर्यादित सेवा सुविधा उपलब्ध गराउन समेत आयोगले निर्देशन दिएको छ।

निजी मेडिकल कलेजले भने कार्यविधि हेरेर मात्र उक्त निर्णय कार्यान्वयन गर्ने/नगर्नेबारे निर्णय लिने बताएको छ। एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेजका तर्फबाट अध्यक्ष प्रा. डा. ज्ञानेन्द्रमानसिंह कार्कीले कार्यविधिमा आफूहरुले सहमति जनाएपछि मात्र लागू हुने बताए। ‘अब आयोगले कलेज अनुगमन गर्ला त्यसपछि के हुन्छ हेरौं कार्यविधि नबनीकन र निजी मेडिकल कलेजले हस्ताक्षर नगरी यो निर्णय कार्यान्वयनमा जाँदैन।’, कार्कीले भने। यो निर्णय पनि कार्यान्वयन हुने अवस्था देखिँदैन।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ