पाथीभरामा केवलकार बनाउने ‘टाक्स’सहित ताप्लेजुङ पुगेका थिए सिडिओ शर्मा


काठमाडौं। पाथीभरा केवलकार निर्माणको विषयलाई लिएर अहिले ताप्लेजुङ मात्र होइन कोशी प्रदेशदेखि संघीय राजधानी काठमाडौं समेत तातेको छ। स्थानीयहरू ‘नो केवलकार’ अभियान चलाएर आन्दोलनमा उत्रिएका छन्। एकाथरी केवलकार बनाउनु पर्छ भनेर लागेका छन्। अर्काथरी केवलकार बनाउनै हुँदैन भनेर लागिपरेका छन्। खासगरी मुक्कुमलुङ संघर्ष समिति, केवलकार खारेजी संघर्ष समितिलगायत पाथीभरामा बन्ने केवलकारको विरोधमा उत्रिएका छन्।

केवलकार निर्माण रोक्न खोज्ने पक्ष र प्रहरीबीच झडप हुँदा दर्जनौं घाइते भएका छन्। घाइते भएकाहरूको उपचार काठमाडौंमा भइरहेको छ। उक्त आन्दोलन तत्काल मथ्थर हुने अवस्था देखिँदैन। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नेत्रप्रसाद शर्माले मुकुम्लुङ बचाउ अभियान्ताहरूलाई गोली ठोक्ने आदेश दिएको भन्दै उनको समेत विरोध भइरहेको छ।

ताप्लेजुङबाट प्रतिनिधिसभा निर्वाचित योगेश भट्टराई केवलकार बनाउनु पर्छ भन्ने लबिइङमा छन्। सांसद भट्टराईले बुधबार दिउँसो काठमाडौं बागबजारको हार्दिक होटलमा पत्रकार सम्मेलन पाथीभरामा केवलकार बनाउनु पर्ने अडान दोहोऱ्याए। उनी केवलकारको पक्षमा खुलेरै लागिरहँदा त्यसको २ किलोमिटर दूरीमा रहेको रिपोर्टस क्लबमा आन्दोलन पक्षका युवाहरूले पाथीभरामा केवलकार बनाउने नाममा मुकुम्लुङको सभ्यता मास्न खोजेको आरोप लगाउँदै थिए। उनीहरूले काफ्लेपाटीबाट सशस्त्रको क्याम्प हटाउन सरकारसमक्ष माग समेत राखिरहेका थिए। सांसद भट्टराई भने केवलकारले ताप्लेजुङमा तरक्की हुने भाष्य निर्माण गरिरहेका छन्।

पाथीभरा केवलकार ‘केवलकार किङ’का रूपमा परिचित चन्द्र ढकालको टिमले लगानी गरेको परियोजना हो। पाथीभरा देवी मुकुम्लुङ दर्शन केवलकार सञ्चालन तथा व्यवस्थापन गरिरहेको आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल निकै प्रभावशाली र शक्तिशाली व्यक्ति मानिन्छन्। चन्द्रागिरी, मौलाकालीलगायतमा वन कब्जा गरेर केवलकारको व्यापार गरिरहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका ढकाल पाथीभरा छिरेपछि हलचल मच्चिएको छ। बुटवलको लुम्बिनी केवलकारको पनि ढकाल कै समूहले बनाएको हो। ढकालको समूह पाथीभरा छिरेदेखि नै लफडा सुरु भएको हो। अझ केवलकार आन्दोलनले अझ उग्र रूप लिने देखिन्छ।

काफ्लेपाटीदेखि पाथीभरादेवी मन्दिर नजिक करिब साढे २ किलोमिटर केवलकार बनाउन लागिपरेको ढकालको टिमले उक्त क्षेत्रमा राज्यको सशक्त उपस्थिति बढाएको छ। उक्त केवलकार निर्माणका लागि पाथीभरा क्षेत्रमा सिंगो राज्य लागिपरेको पाइन्छ।

बागुलङ नगरपालिका वडा नम्बर १२ अमलाचौरका ढकालको वडासँग सीमा जोडिएको जैमिनीका नेत्रप्रसाद शर्मा ताप्लेजुङको सिडिओ बनेर गएका छन्। २०८१ साल कार्तिक १२ गते शर्माले सिडिओको कार्यभार सम्हालेका थिए। त्यसको बाह्रौं दिनका दिन केवलकारको शिलान्यास गरिएको थियो। संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केवलकारको शिलान्यास गरेका थिए। ताप्लेजुङका तत्कालीन सिडिओ रविन्द्र आचार्यले पाथीभरामा केवलकार बनाउने प्रबन्ध मिलाउन नसकेपछि उनलाई गृह मन्त्रालय तानेर ढकालका गाउँले नेत्रप्रसाद शर्मालाई ताप्लेजुङको सिडिओ बनाएर पठाइयो।  गएको सिडिओ बनेर गएको बाह्रौं दिनका दिन केवलकारको शिलान्यास गराउन सफल भएका थिए। केवलकारको शिलान्यास गर्दा झडप भएपछि सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)को कमाण्डमा ६० जनाको सुरक्षा बेस क्याम्प नै खडा गरेर फेरि केवलकार निर्माणको काम सुरू भएको छ। तर केवलकारको काम सुरू हुनसाथ नो केवलकार अभियान्ता जुर्मुराएका छन्। सिडिओ शर्माको निर्देशनमा गोली चलेपछि गम्भीर घाइते भएका मुकुम्लुङ बचाउ अभियान्ताहरूलाई हेलिकप्टरमा हालेर काठमाडौं ल्याइएको छ। केवलकार निर्माण गर्ने सुरक्षाको टास्क लिएर ताप्लेजुङ पुगेका शर्मा पछाडि हट्ने मनस्थितिमा देखिँदैनन्।

३ अर्ब लागत लाग्ने दाबी गरिएको उक्त केवलकार हिमालयन कन्ट्रक्सनका इन्द्र केदेमले १५ महिनाभित्र निर्माण सक्ने गरी काम अगाडि बढाएको छ। यसका लागि ढकाल नै सक्रिय भएर लागेका छन्। आफूलाई मन्त्री सरहको मर्यादा दिनु पर्ने लबिइङ गर्दै आएका ढकाल मन्त्रीलाई नै हल्लाउने हैसियत राख्छन्।

पाथीभरा क्षेत्रमा केवलकार निर्माण गर्ने उद्देश्यले पुगेका यति ग्रुपका संस्थापक आङछिरिङ शेर्पा तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीलगायतको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो। अहिले चन्द्र ढकालको समूहले उक्त केवलकार निर्माणको जिम्मा लिएपछि स्थानीय जनताले ज्यान गुमाउनु पर्ने अवस्था आएको छ। आङछिरिङले पनि उक्त केवलकार त्रिवेणी ग्रुपका संघाईहरूबाट विभिन्न तिकडम लगाएर खोसेका थिए। संघाईबाट स्व. आङछिरिङको खोसेको केवलकार ‘केवलकार किङ’ ढकालको हातमा पुगेको हो। केवलकारले अहिले पाथीभरा क्षेत्र अशान्त बनेको छ। उक्त केवलकारले अझै के के हुने हो हेर्न बाँकी छ।

क्याटेगोरी : समाचार
ट्याग : ## पाथीभरा केबलकार, #चन्द्र ढकाल, #नेत्रप्रसाद शर्मा सिडिओ प्रमुख जिल्ला अधिकारी ताप्लेजुङ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ