ऊर्जामन्त्री खड्काले चलाएको होटल होलिडे इन नै अवैध रहेको खुलासा


काठमाडौं। सरकारमा रहेका मन्त्रीहरूले संसद्ले बनाइदिएको ऐन र कानुन कार्यान्वयन गर्नु पर्ने दायित्व बोकेका हुन्छन्। कानुनी शासनमा कानुन कार्यान्वयन र सुशासनप्रतिको प्रतिबद्धता प्रमुख विषय हो। तर, नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्का आफैं भने अवैध रुपमा होटल सञ्चालन गर्नेमा पर्छन्। 

ऊर्जामन्त्री खड्काको लगानीमा रहेको बुढानिलकण्ठस्थित पाँचतार होटल फरेष्ट इन लि. (होलिडे इन रिसोर्ट) अवैध रुपमा चलिरहेको खुलासा भएको छ। काठमाडौं उपत्यकाभित्र होटल निर्माण गर्दा काठमाडौं उपत्यका विकास प्राधिकरणबाट योजना अनुमति (प्लानिङ परमिट) लिनुपर्ने हुन्छ। तर, ऊर्जामन्त्री खड्काको होटल होलिडे इनले प्राधिकरणबाट योजना अनुमति लिएको पाइँदैन। स्वास्थ्य लाइभले खोजी गर्दा ऊर्जामन्त्री खड्काको लगानीमा सञ्चालित होलिडे इन रिसोर्टले प्राधिकरणबाट योजना अनुमति लिएको नभेटिएको हो। काठमाडौं उपत्यका विकास प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त ई. सुवास बस्नेतले उक्त होटलले भवन बनाउँदा प्राधिकरणसँग योजना अनुमति लिएको रेकर्डमा नदेखिएको स्पष्ट पारे।

काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५, नेपाल सरकारको स्वीकृत मापदण्ड, २०६४ र बस्ती विकास सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ मा काठमाडौं उपत्यका विकास प्राधिकरणबाट योजना अनुमति लिएर मात्र भवन निर्माण गर्न पाउने व्यवस्था छ। कानुन कार्यान्वयन गर्ने जिम्मेवारीमा रहेका ऊर्जामन्त्री खड्काले भने काठमाडौं उपत्यका विकास प्राधिकरणबाट योजना अनुमति नै नलिई पाँचतारे होटल सञ्चालन पाइन्छ। यस्ता व्यक्ति मन्त्री हुँदा कानुनी शासन र सुशासन कै खिल्ली उडेको छ।

साढे ३ अर्ब ५७ करोड लगानी रहेको भनिएको ऊर्जामन्त्री खड्काको होटल होलिडे इन शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जभित्रको मध्यवर्ती क्षेत्रमा पर्छ। खड्काले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगराई होटल निर्माण सुरु गरेका थिए। खड्का कै लागि भनेर कानुन नै परिवर्तन गरिएको थियो। विवादै विवादमा परेको ऊर्जामन्त्री खड्काको होटलको (प्लानिङ परमिट) समेत नरहेको खुल्न आएको छ। ऊर्जामन्त्री खड्काकी श्रीमती विनिता थापाको नाममा रहेको उक्त होटल बीस रोपनी क्षेत्रफलमा फैलिएको छ। १०४ कोठाको उक्त होटल अवैध रहेको फेला परेको हो।

ऊर्जामन्त्री खड्काको होलिडे इन रिसोर्ट

ऊर्जामन्त्री खड्काको लगानीमा रहेको उक्त अवैध पाँचतारे होटलको गत असोजमा फूलपातीको अघिल्लो दिन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त रुपमा उद्घाटन गरेका थिए। राज्य शक्तिको आडमा ऊर्जामन्त्री खड्काको ‘प्लानिङ परमिट’विनाको अवैध होटल बुढानिलकण्ठमा चलिरहेको छ। मन्त्री नै कानुन नमान्ने देशमा सर्वसाधारण जनातालाई भने बोले कै निहुँमा हत्कडी लगाएर कज्याउने काम हुँदै आएको छ। यसले विधिको शासनको हालत खराब भएको छ।

 

क्याटेगोरी : समाचार
ट्याग : #अवैध होटल होलिडे इन, #ऊर्जामन्त्री दिपक खड्का, #काठमाडौं उपत्यका विकास प्राधिकरण, #प्लानिङ परमिट नरहेको पाँचतारे होटल, #विनिता थापा, #होटल होलिडे-इन रिसोर्ट

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ