पार्टी टुक्र्याउने र भत्काउनेजस्ता खुद्रे कुराहरु यो सरकारको मेन्युमा छैन: प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी टुक्र्याउने र भत्काउनेजस्ता खुद्रे कुराहरु यो सरकारको मेन्युमा नरहेको स्पष्ट पारेका छन्। सङ्घीय संसद्, प्रतिनिधिसभाको पाँचौ अधिवेशन प्रारम्भका अवसरमा बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ढुक्क हुन आग्रह गर्दै काँग्रेस एमालेसहितको यति बलियो सरकारको प्राथमकिता त्यस्तो हुन नसक्ने स्पष्ट पारेका हुन्।

सरकार ढल्यो भनेर समय खेर नफाल्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, “विपक्षमा रहेका साथीहरुले एउटा कुरामा आफ्नो समय व्यर्थै खेर फालेजस्तो लागिरहेको छ- ‘सरकार ढल्छ । ढल्नै लाग्यो । पुस मसान्त, माघे संक्रान्ति काट्दैन ।’ आदि इत्यादि । यस्तो गायन मनोरञ्जनका मञ्चमा गाउनु राम्रो हुन्छ, राजनीतिका मञ्चमा गाउन बन्द गरौं ।’’

बैठकमा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहागिता र हालैको छिमेकी चीनको औपचारिक भ्रमणबारे पनि जानकारी गराएका छन्।

संविधान संशोधनमा प्रधानमन्त्री ओलीले के भने?

यो सरकारले संविधान प्रारम्भ भएपछि अभ्यासमा देखा परेका सबल र दुर्बल पक्ष तथा अभ्यासका क्रममा देखापरेका जटिलताको समीक्षा गरी राजनैतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिन्छ । यसको लागि सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा (एमाले) ले विज्ञ सम्मिलित आन्तरिक अध्ययन कार्यदल बनाएको छ । त्यससँगै सरकारपक्षीय दलहरुसँगको छलफल गरिनेछ । विभिन्न पक्षसँग सघन विमर्श गरी पहिले संविधान संशोधनका विषयको पहिचान गरिने छ । र, पहिचान गरिएका विषयहरुमाथि संसदमा प्रतिनिधित्व गर्ने वा बाहिर रहेका दलहरु र सरोकारवालाहरुसँग छलफल गरिने छ । हामी स्पष्ट छौं, पार्टीहरुका आ–आफ्नै धारणा र पोजिसन हुनसक्छन् । मिलेका कुरामा साझा धारणा वनाइने छ, नमिलेका कुरामा वहस र छलफल गरिने छ । संविधान संशोधन विधेयक ल्याउने काम सरकारको हो, बहस÷छलफल आधारित निष्कर्षबाट सरकारले साझा धारणा वनाउँछ । र, त्यसैमा आधारित संशोधन प्रस्ताव तयार गर्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ