डिल्लीबजारको सिल्भर अपार्टमेन्टमा पोद्दारको अनधिकृत ‘द एड्रेस लाउन्ज’
काठमाडौं। डिल्लीबजारस्थित सिल्भर अपार्टमेन्टको छतमा विवादित व्यवसायी विमल पोद्दारको अनधिकृत ‘द एड्रेस लाउन्ज’ रेष्टुरेन्ट सञ्चालनमा रहेको खुलासा भएको छ। उक्त रेष्टुरेन्ट मापदण्डविपरीत मात्र होइन अनधिकृत रूपमा सञ्चालनमा रहेको पाइएको हो। विवादित व्यवसायी पोद्दारले जोमिखपूर्ण ढंगले अपार्टमेन्टमा रेष्टुरेन्ट चलाइएको पाइन्छ।
सिल्भर भ्याली डेभलपर्सले उक्त अपार्टमेन्ट निर्माण गरेको हो। काठमाडौं उपत्यका विकास प्राधिकरणबाट अपार्टमेन्टका लागि मात्र उक्त भवन निर्माण गर्ने योजना अनुमति (प्लानिङ परमिट) लिएको देखिन्छ। तर, स्वीकृत मापदण्डविपरीत अपार्टमेन्टको छतमा संरचना बनाएर अनधिकृत रूपमा ‘द एड्रेस लाउन्ज’ सञ्चालन गरिरहेको पाइएको हो। अपार्टमेन्टको योजना अनुमति लिएर अवैध रूपमा छतमा संरचना बनाएर रेष्टुरेन्ट सञ्चालन गर्नु गम्भीर विषय हो। उक्त प्रकरणमा काठमाडौं उपत्यका विकास प्राधिकरणले छानबिन गर्नुपर्छ। एउटा प्रायोजनका लागि योजना अनुमति लिएर अर्को प्रयोजनमा प्रयोगमा ल्याउने कुरा पनि अनधिकृत हो। स्वास्थ्य लाइभले खोजी गर्दा उक्त अपार्टमेन्टमा रेष्टुरेन्ट सञ्चालन गर्न अनुमति दिएको पाइँदैन। तर, अहिले पनि अनधिकृत र जोमिखपूर्ण ढंगले सिल्भर अपार्टमेन्टको छतमा ‘द एड्रेस लाउन्ज’ रेष्टुरेन्ट चलिरहेको छ।
काठमाडौं उपत्यका विकास प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त ई. सुवास बस्नेतले सिल्भर भ्याली डेभलपर्सले अपार्टमेन्टका लागि मात्र योजना अनुमति लिएको प्राधिकरणको रेकर्डमा रहेको बताए। मापदण्डविपरीत स्वीकृत संरचनाभन्दा बाहिर गएर रेष्टुरेन्ट सञ्चालन गर्न नमिल्ने बस्नेतले स्पष्ट पारे।
‘एक त उक्त रेष्टुरेन्ट मापदण्डविपरीत र प्राधिकरणको योजना अनुमतिविपरीत रहेको छ। यसले ठूलो जोखिम निम्ताएको छ। संसारमा कुनै पनि देशमा अपार्टमेन्टको छतमा रेष्टुरेन्ट सञ्चालन गर्न पाइँदैन। प्राधिकरणले पनि त्यसका लागि अनुमति दिएको छैन’, जिल्ला आयुक्त बस्नेतले भने। काठमाडौंको लाजिम्पाटस्थित कम्फर्ट अपार्टमेन्टमा आगोलागी भएको प्रसंग उल्लेख गर्दै उनले अपार्टमेन्टको टपमा रेष्टुरेन्ट चलाउनु गम्भीर र संवेदनशील विषय भएको बताए। त्यो विषयमा प्राधिकरणले आवश्यक छानबिन गर्ने जिल्ला आयुक्त बस्नेतको भनाई छ।
अपार्टमेन्टमा अवैध र अनधिकृत ‘द एड्रेस लाउन्ज’ चलाउने विमल पोद्दारसहित काठमाडौं जिल्ला अदालतमा राष्ट्र बैंक ऐन, २०५८ विरुद्ध र संगठित अपराध गरेको कसूरमा मुद्दा समेत दर्ता भएको छ। अघिल्लो वर्ष माघमा दर्ता भएको उक्त मुद्दामा पोद्दारसहित १७ जना प्रतिवादी रहेका छन्। उनै पोद्दारले अपार्टमेन्टको छतमा स्वीकृत मापदण्डविपरीत अनधिकृत रूपमा ‘द एड्रेस लाउन्ज’ रेष्टुरेन्ट चलाएका हुन्।
वर्षौंदेखि अपार्टमेन्टको छतमा अनधिकृत रेष्टुरेन्ट चल्दा पनि नियमनकारी निकाय काठमाडौं उपत्यकाका विकास प्राधिकरण मुकदर्शक बनेको छ। आफ्नै कार्यालयबाट एक/डेढ किलोमिटर दूरीमा रहेको अपार्टमेन्टमा अवैध धन्दा चल्दा समेत नदेख्ने प्राधिकरण कुन हालमा चलेको छ भन्ने प्रस्टै देखिन्छ। कानुनले तोकेको जिम्मेवारी पूरा नगर्ने प्राधिकरणका अधिकारीहरू पनि कारबाहीको भागिदार हुनुपर्छ। कानुनले दिएको जिम्मेवारी पूरा नगर्ने प्राधिकरणका अधिकारीहरुमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत छानबिन गरी कारबाहीको दायरामा ल्याउन जरूरी छ।
क्याटेगोरी : समाचारट्याग : #'द एड्रेस लाउन्ज', #अनधिकृत रेष्टुरेन्ट, #काठमाडौं उपत्यका विकास प्राधिकरण, #जिल्ला आयुक्त सुवास बस्नेत, #विमल पोद्दार, #सिल्भर अपार्टमेन्ट कालिकास्थान
तपाईको प्रतिक्रिया दिनुहोस