आरक्षणको दुरूपयोग गरेर ३ पटकसम्म समानुपातिक सांसद बन्ने तरमाराहरू
काठमाडौं। संविधानले आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेकालाई प्रतिनिधित्व गराउने भनेको समानुपातिक (आरक्षण)मा सम्भ्रान्त वर्गका व्यक्तिरूको राइँदाइँ देखिन्छ। त्यो पनि एक पटक होइन तीन पटकसम्म एउटै व्यक्तिले राजनीतिक आरक्षण लिएर समानुपातिक सांसद बनेको पाइन्छ।
समानुपातिक (आरक्षण) प्रणालीको दुरूपयोग गरेर तीन पटक सांसद बन्नेमा डा. आरजु राणा देउवा, डा. प्रकाशशरण महत, अम्बिका बस्नेत, एकनाथ ढकाल र ईश्वरी न्यौपाने रहेका छन्। कुलिन वर्गका देउवा, महत, बस्नेत, ढकाल र न्यौपाने एक पटक मात्र होइन आरक्षणको दुरुपयोग गरेर तीन पटकसम्म समानुपातिक सांसद र मन्त्री बन्दा संविधान कै हुर्मत लिने काम भएको छ। उनीहरू तीन पटकसम्म सांसद बन्दा संविधानले परिकल्पना गरेको समानुपातिक समावेशी सिद्धान्तको प्रावधान, उद्देश्य, मर्म र भावनामा गम्भीर प्रहार भएको हो। सर्वोच्च अदालतको एक फैसलाले समेत तरमाराहरूको विषयमा बोलेको छ।
संविधानको धारा ४२ ले आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तकृत, अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक, किसान, श्रमिक, उत्पीडत वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रूपले विपन्न खस आर्यलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको सुनिश्चितता प्रदान गरेको हो। तर, उक्त धारालाई नै चुनौती दिएर डा. देउवा, महत, बस्नेत, ढकाल र न्यौपाने समानुपातिक सांसद बनेका हुन्। जुन संविधानको घोर उल्लंघन हुने कार्य हो। उनीहरू संविधानविपरीतको प्रतिनिधित्व (सांसद) हुन्। सामाजिक न्यायको हकमा रहेको उक्त व्यवस्था नेपालको अन्तिम संविधानमा समेत थियो र संविधानसभाले बनाएको संविधानमा पनि उक्त व्यवस्थाले निरन्तरता पाइएको देखिन्छ। यो विषय समानताको हकविपरीत समेत रहेको छ।
परराष्ट्रमन्त्रीमन्त्री रहेकी आरजु राणा देउवा तीन पटकसम्म समानुपातिक सांसद हुने व्यक्तिमा पछिन्। जुद्ध शमशेरकी नातिनी विनोद शम्शेर र प्रतिभा राणा (पूर्व सांसद/राजदूत)की छोरी तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती आरजु समानुपातिक सांसद बन्ने मापदण्डभित्र कसरी परिन् त्यो गम्भीर विषय हो। संविधानले आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिलालाई मात्र समानुपातिक समावेशी सिद्धान्तका आधारमा प्रतिनिधित्व गराउने भनेको छ। कुलिन राणा परिवारमा जन्मिएकी र प्रधानमन्त्री भइसकेको व्यक्तिको श्रीमती आरजु संविधानसभाको निर्वाचन (२०६४/०७०) र प्रतिनिधिसभाको निर्वाचन २०७९ मा समानुपातिक सांसद बनेकी हुन्।
शैक्षिक दृष्टिले भारतको चन्डीगढस्थित पञ्जाव विश्वविद्यालयबाट मनोविज्ञान विषयमा विद्यावारिधि हासिल गरेकी, आर्थिक हिसाबले काठमाडौं, बर्दिया, कैलालीसहित देशका विभिन्न ठाउँमा अर्बौंको सम्पत्ति रहेकी र सामाजिक दृष्टिले पनि पूर्वप्रधानमन्त्रीको श्रीमती र नेपालमा १०४ वर्ष शासन गर्ने राणा परिवारमा जन्मिएकी आरजु आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेकालाई दिइने आरक्षणमा समानुपातिक सांसद बन्नु नै आश्चर्यको कुरा हो।
संविधान जारी भएपछि २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट आरजुले प्रत्यक्ष निर्वाचन समेत लडेकी थिइन्। तर, उनलाई एमालेका नारदमुनि रानाले भारी मतले पराजित गरेका थिए। एमालेका नारदमुनीले २७ हजार २०२ मत पाएर विजयी हुँदा आरजु राणा देउवाले २२ हजार ३२२ मत ल्याएकी थिइन्। आरजु झन्डै ५ हजार मतान्तरले नारदमुनीसँग हारेकी थिइन्। फेरि २०७९ सालमा समानुपातिकमा बसेर आरक्षणको दुरूपयोग गर्दै सांसद बनेकी आरजु अहिले त परराष्ट्रमन्त्री नै छिन्।
परराष्ट्रमा कस्तो संयोग भएको छ भने मन्त्री आरजु र सचिव सेवा लम्साल आरक्षणबाटै आएका हुन्। उपसचिव र सहसचिवमा आरक्षण प्रयोग गरेकी सेवा अहिले बेल्जियमको राजदूत भएकी छिन्। बेल्जियमको राजदूतबाट फिर्ता भएका सहसचिव गेहेन्द्र राजभण्डारी पनि मन्त्री आरजु जस्तै तीन पटकसम्म आरक्षण प्रयोग गर्नेमा पर्छन्। हेटौंडाको धनाढ्य व्यापारी परिवारमा जन्मिएका राजभण्डारी पर्यटन बोर्डको अधिकृत हुँदै परराष्ट्र सेवामा छिरेका हुन्। उनले परराष्ट्रको शाखा अधिकृत, उपसचिव र सहसचिवमै आदिवासी/जनजाति कोटा प्रयोग गरेको पाइन्छ। राजभण्डारीलाई पनि माथ खुवाउने गरी मन्त्री आरजुले आरक्षणको लाभ लिएको देखिन्छ।
आरजु मात्र होइन कांग्रेस कै नेता प्रकाशशरण महत पनि तीन पटकसम्म समानुपातिक (आरक्षण)को दुरूपयोग गर्नेमा पर्छन्। पहिलो संविधानसभाको निर्वाचन-२०६४ मा समानुपातिक सांसद बनेका महत तात्कालीन माधवकुमार नेपाल नेतृत्वको सरकारमा ऊर्जामन्त्री बनेका थिए। समानुपातिक सांसद र मन्त्री भइसकेका महत फेरि आरक्षणको दुरूपयोग गर्दै दोस्रो संविधानसभाको निर्वाचन-२०७० मा पनि समानुपातिक सांसद नै बने। दोस्रो संविधानसभामा पनि आरक्षणको दुरूपयोग गरेर समानुपातिक सांसद बनेका महत २०७३ मा तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री बन्न सफल भए।
२०७४ मा प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर ५ मा प्रत्यक्ष निर्वाचन उठेका महत एमालेका नेता ईश्वर पोखरेलसँग १० हजार बढी मतान्तरले पराजित भएका थिए। पोखरेलले २३,०२९ मत प्राप्त गर्दा नेता डा. प्रकाशशरण महतले १३,१६९ मत ल्याएका थिए। पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेसका नरहरी आचार्यले लगातार जित्दै आएको क्षेत्रमा नुवाकोटे महत उठ्दा पोखरेलले सहजै हराइदिए। महतले त्यो बेला चुनाव जितेको भए पोखरेलले कोरोनाकालमा ओम्नी काण्ड मच्चाउन पाउँदैन थिए। प्रत्यक्षमा उठेर सातो गएपछि महत फेरि प्रतिनिधिसभा निर्वाचन-२०७९ मा समानुपातिकमै बसेर त्यसको सांसद भए। आरक्षणको दुरुपयोग गर्दै समानुपातिक सांसद बनेका महत फेरि अघिल्लो दाहाल नेतृत्वको सरकारमा अर्थमन्त्री समेत बन्न भ्याए।
अर्थशास्त्रमा विद्यावारिधि गरेका र नुवाकोटमा जन्मिएका, पटकपटक अर्थमन्त्री बनेका रामशरण महतका भाइ, आफू पनि पटकपटक मन्त्री भइसकेका प्रकाशशरण कसरी आर्थिक, सामाजिक र शैक्षिक दृष्टिले पछि परेका खस आर्य (पुरूष)ले पाउने समानुपातिक (आरक्षण)मा परे आफैंमा आश्चर्यजनक कुरा छ। यसैलाई भन्छ समानुपातिकको चिरहरण र संविधानको हुर्मत।
कांग्रेस कै समानुपातिक सांसद रहेकी अम्बिका बस्नेत पनि तीन पटकसम्म संविधानको हुर्मत लिनेमा पर्छिन्। पहिलो संविधानसभा-२०६४ र दोस्रो संविधानसभा निर्वाचन-२०७० मा समानुपातिक सांसद बनेकी बस्नेत अहिले पनि प्रतिनिधिसभामा समानुपातिक सांसद नै छिन्।
२०७४ सालमा शेरबहादुर देउवाको नेतृत्वमामा बनेको सरकारमा बस्नेत सहकारी तथा गरिबी निवारणमन्त्री थिइन्। २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा बहालवाला मन्त्रीको हैसियतमा काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष चुनाव उठेकी बस्नेत एमालेका कृष्ण राईसँग पराजित भइन्। त्यसपछि भएको २०७९ को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाटै बस्नेत प्रतिनिधिसभामा छिर्न सफल भइन्।
काठमाडौंको बौद्धमा समाजिक रूपले प्रतिष्ठित बस्नेत परिवारमा जन्मिएकी अम्बिका पनि पटकपटक समानुपातिक सांसद बन्दा संविधानको उल्लंघन मात्र होइन प्रणालीमाथि पनि प्रश्न उठ्न थालेको छ। मन्त्री भइसकेपछि पनि आरक्षणको प्रयोग गरेर समानुपातिक सांसद बन्नु संविधानमाथिको ठाडो चुनौती हो।
कांग्रेसबाटै समानुपातिक सांसद रहेकी ईश्वरी न्यौपाने पनि तेस्रोपटक आरक्षण दुरूपयोग गर्नेमा पर्छिन्। संसदीय सुनुवाई समितिको सभापति समेत रहेकी न्यौपाने पहिलो संविधानसभा-२०६४ र दोस्रो संविधानसभा-२०७० मा समानुपातिक सांसद थिइन्। २०७४ सालमा कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा प्रत्यक्ष चुनाव लडेकी न्यौपाने प्रतिस्पर्धामा गुल्टिएर तेस्रो भएकी थिइन्। त्यसपछि २०७९ सालमा फेरि समानुपातिक मै फर्किन।
२०६४ र २०७० को संविधानसभामा समानुपातिक सांसद रहेका एकनाथ ढकाल पनि अहिले समानुपातिक सांसद रहेका छन्। पटकपटक मन्त्री र सांसद भइसकेका ढकाल समेत अहिले पनि आरक्षणबाटै सांसद बनेका हुन्। जे हुन्छ नेपालमै हुन्छका दृष्टान्त हुन् एमालेबाट समानुपातिक सांसद बनेका ढकाल।
नेपाल परिवार दलको अध्यक्ष समेत रहेका ढकाल एमालेका समानुपातिक सांसद हुनभन्दा यो व्यवस्थालाई खिचडीतन्त्र बनाएको भान हुन्छ। बाबुराम भट्टराईको नेतृत्वमा सहकारी तथा गरिबि निवारणमन्त्री बनेका ढकाल केपी शर्मा ओली नेतृत्वको सरकारमा शान्ति तथा पुनर्निर्माणमन्त्री बनेका थिए। उनलाई ‘होली वाइन’को प्रवर्तकका रूपमा चिनिन्छ।
दुईपटक समानुपातिक सांसद र दुई पटक नै मन्त्री भइसकेका एकनाथ ढकाल एमालेको सहयोगमा तेस्रोपटक समानुपातिक सांसद बनेका हुन्। ढकाल कुन हिसाबले आर्थिक, सामाजिक र शैक्षिक दृष्टिले पछाडि परेका खस आर्य पुरूष हुन् एमाले अध्यक्ष केपी शर्मा ओली नै जानुन्।
कांग्रेसबाट समानुपातिक तीनपटकसम्म दुरूपयोग गर्नेमा खस आर्य महिला र पुरूष देखिन्छन्। उनीहरू संविधानभन्दा माथि देखिएका छन्। पञ्चायमा राजा मात्र संविधानमाथि थिए। गणतन्त्रमा पनि ‘छोटे राजा’को अभ्यास भइरहेको छ। देउवा, महत, बस्नेत, न्यौपाने र ढकाल त्यसका ज्वलन्त उदाहरण हुन्।
तीन पटकसम्म समानुपातिक सांसद बन्नेहरू तरमाराहरू
🛑आरजु राणा देउवा
🛑प्रकाशशरण महत
🛑अम्बिका बस्नेत
🛑ईश्वरी न्यौपाने
🛑एकनाथ ढकाल
क्याटेगोरी : समाचार
ट्याग : #अम्बिका बस्नेत, #ईश्वरी न्यौपाने, #डा. आरजु राणा देउवा, #तीन पटकसम्म समानुपातिक सांसद बन्नेहरू तरमाराहरू, #प्रकाशशरण महत
तपाईको प्रतिक्रिया दिनुहोस