डलर अर्बपति शेष घलेको निर्माणाधीन शेराटन होटल अवैध रहेको खुलासा


काठमाडौं। अस्ट्रेलिया व्यापारी डलर अर्बपति शेष घले र उनकी श्रीमती जमुना घलेको लगानीमा काठमाडौंको कान्तिपथमा निर्माणाधीन पाँचतारे होटल शेराटन अवैध रहेको पाइएको छ। एनआरएनका पूर्वअध्यक्ष समेत रहेका घलेको लगानीमा रहेको उक्त पाँचतारे होटल शेरटानले काठमाडौं उपत्यका विकास प्राधिकरणबाट योजना अनुमति (प्लानिङ परमिट) नलिई अवैध संरचना खडा गरिरहेको पाइएको हो।

काठमाडौं उपत्यकाभित्र होटललगायतका संरचना बनाउँदा काठमाडौं उपत्यका विकास प्राधिकरणबाट योजना अनुमति (प्लानिङ परमिट) लिनुपर्ने हुन्छ। तर, घलेको एमआईटी ग्रुप होल्डिङसको लगानीमा निर्माण भइरहेको होटल शेराटनले प्रधिकरणबाट योजन अनुमति लिएको पाइँदैन।

केशर पुस्तकालयको जग्गा हडपेको आरोप लाग्दै आएको घलेको शेराटन होटलले प्राधिकरणसँग योजना अनुमति नलिई संरचना निर्माण गर्नु शंकास्पद देखिन्छ। स्वास्थ्य लाइभले खोजी गर्दा उक्त शेराटन होटलले प्राधिकरणबाट योजना अनुमति नलिएको भेटिएको छ। प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त सुवास बस्नेतसँग शेरटान होटलले प्लानिङ परमिट लिएको रेकर्ड माग्दा उक्त होटलले प्लानिङ परमिट लिएको रेकर्ड आफूहरूसँग नरहेको बताए। प्लानिङ परमिट नै नलिई केशरमहल र नारायणहिटीको बीचमा त्यत्रो होटल कसरी बन्यो त भन्ने प्रश्नमा आफू आउनुभन्दा पहिलाको कुरा भएको दाबी गरे।

योजना अनुमति नै नलिई केशरमहल र उपराष्ट्रपति कार्यालयसँगै त्यत्रो होटल बन्दा पनि प्राधिकरण बेखबर रहेको पाइएको छ। योजना अनुमति नलिई बनाइएका त्यस्ता संरचना निर्माण कार्य रोक्न वा भत्काउन सक्ने अधिकार प्रधिकरणसँग रहेको छ। तर, प्राधिकरण निकम्मा हुँदा योजना अनुमति बिनै अवैध ढंगले काठमाडौंमा ठूल्ठूला संरचना बनिरहेका छन्। त्यसको पछिल्लो उदाहरण हो होटल शेराटन। योजना अनुमति नलिइ संरचना खडा हुँदा पनि प्राधिकरणले कुनै चासो नदिनुले उक्त प्राधिकरणको औचित्यमाथि प्रश्न खडा भएको हो।

१० अर्बभन्दा बढी लगानी रहेको घलेको करिब १४ रोपनी क्षेत्रफलमा १९ तले होटल निर्माणको अन्तिम चरणमा छ। अष्ट्रेलियाको एमआईटी ग्रुप होल्डिङस लगानी रहेको होटल शेराटनको व्यवस्थापन तथा सञ्चालन भने सिंगापुरको स्टारवुड ग्रुपले गर्ने जनाइएको छ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं उपत्यका विकास प्राधिकरण, #जमुना घले, #प्लानिङ परमिट, #प्लानिङ परमिट नरहेको पाँचतारे होटल, #शेष घले, #होटल शेराटन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ