महादेव खोला आसपासको अवैध संरचना ७ दिनभित्र हटाउन प्राधिकरणको निर्देशन
![](https://ap-south-1.linodeobjects.com/swasthyalive/2025/02/IMG-20250209-WA0011.jpg)
काठमाडौं। काठमाडौं उपत्यका विकास प्राधिकरणले महादेव खोला क्षेत्र वरिपरिका अवैध संरचना ७ दिनभित्र खाली गराउन निर्देशन दिएको छ। प्राधिकरणले उक्त क्षेत्रमा सूचना टाँस्दै महादेव खोला क्षेत्र वरिपरिका सरकारी वा सार्वजनिक जग्गामा मापदण्डविपरीत निर्मित घर, टहरा र अन्य अवैध संरचना ७ दिनभित्र हटाउन वा खाली गराउन निर्देशन दिएको हो।
काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौंले जारी गरेको सूचनामा भनिएको छ, ‘महादेव खोला क्षेत्र वरिपरिका सरकारी वा सार्वजनिक जग्गामा मापदण्डविपरीत निर्मित घर, टहरा र अन्य अवैध संरचना ७ दिनभित्र हटाउन वा खाली गर्नु हुन जानकारी गराइन्छ। अन्यथा प्राधिकरण ऐन, २०४५ अन्तर्गत कारबाही गरिनेछ। साथै यसरी माथि उल्लेख गरिएका सरकारी वा सार्वजनिक जग्गामा बनाईएका संरचनाहरू नहटउने व्यक्तिहरूको तीन(३) पुस्ते नामवली र संस्थाहरूको हकमा उक्त संस्था सञ्चालन गर्ने व्यक्तिहरूको तीन (३) पुस्ते नामावली समेत प्रकाशित गरिने व्यहोरा सहर्ष जानकारी गराईन्छ।’,
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको निर्देशनमा प्राधिकरणले सरकारी/सार्वजनिक जग्गा संरक्षणमा आक्रामक नीति लिएको छ। उक्त अभियानमा सहरी विकास सचिव गोपालप्रसाद सिग्देल र प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त सुवास बस्नेतले साथ दिएको देखिन्छ। उपप्रधानमन्त्री सिंहले सरकारी/ सार्वजनिक जग्गा संरक्षण गरिने र अतिक्रमित जग्गा फिर्ता ल्याउने पटकपटक घोषणा गरेका छन्। उनको घोषणासँगै प्राधिकरण सरकारी/सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउन सक्रिय भएर लागेको हो।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस