२०७० चैतमा आन्तरिकबाट सहसचिव भएका सचिवमा उक्लिसके, अब खुलाको पालो


काठमाडौं। बालुवाटार सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बाबुराम अधिकारीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। लुम्बिनी प्रदेशका कायममुकायम प्रमुख सचिव रहेका पाल्पाली अधिकारी सचिवमा बढुवा भएसँगै लुम्बिनीमै पदस्थापन भएका छन्।

सोमबार बिहान अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३४ औं वार्षिकोत्सवमा उपस्थित हुन नसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुका आफ्नै सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक राखेर अख्तियार कै सचिवलाई अर्थ सचिवको रूपमा टंगालबाट सिंहदरबार सरूवा गरिदिएका छन्। घनश्याम उपाध्याय रेग्मी अर्थ सचिवमा सरूवा भएसँगै अख्तियारको सचिवमा भने राष्ट्रपति कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई पठाइएको छ। दुवाडी अख्तियार प्रमुख प्रेमकुमार राईका विश्वासपात्र समेत हुन्। अर्थ सचिव रामप्रसाद घिमिरेलाई भने राष्ट्रपति कार्यालयमा पठाएको छl घिमिरे पनि अख्तियारबाटै अर्थ छिरेका थिए।

कायममुकाय प्रमुख सचिव अधिकारी सचिवमा बढुवा भएसँगै २०७० साल चैतमा आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएकाहरू ८ जनामध्ये ६ जना सचिव भएका छन्। २ जना सहसचिव भने सचिव हुन नपाई ५८ वर्षे उमेर हदका कारण घर गइसकेका छन्।

२०७० साल चैतमा आन्तरिक प्रतिस्पर्धाबाट केदारनाथ शर्मा, लोकनाथ पौड्याल, गोविन्दबहादुर कार्की, महादेव पन्थ, रघुराम विष्ट, बाबुराम अधिकारी, प्रेमकुमार श्रेष्ठ र काशीराज दाहाल सहसचिव भएका थिए। उनीहरूमध्ये श्रेष्ठ र दाहाल ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाइसकेका छन्। अधिकारी पनि सचिवमा बढुवा भएपछि उक्त ‘ब्याच’का सहसचिव अब कोही बाँकी छैनन्।

२०७० साल चैतमा आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएका केदारनाथ शर्मा कोशी प्रदेशको प्रमुख सचिवको भूमिका छन्। १ नम्बरमा सहसचिव भएका शर्मा १ नम्बर प्रदेश कै रूपमा परिचित कोशी पुगेका हुन्। लोकनाथ पौड्याल मधेश प्रदेशको प्रमुख सचिव हुँदै कर्णाली प्रदेशको प्रमुख सचिव भएर पुगेका हुन्। २ नम्बर मा सहसचिव भएका पौड्याल दुई नम्बर प्रदेश कै रूपमा परिचित मधेश हुँदै कर्णाली पुगेका हुन्।

गोविन्दबहादुर कार्की बागमती प्रदेशको प्रमुख सचिव हुँदै संघमा उक्लिएर वाणिज्य तथा आपूर्ति सचिवको जिम्मेवारी पाउन सफल भएका छन्। महादेव पन्थ लुम्बिनी प्रदेशको प्रमुख सचिव हुँदै बागमती प्रदेशको प्रमुख सचिवमा सरूवा भएर आएका छन्। रघुराम विष्ट गण्डकी प्रदेशको प्रमुख सचिव रहेका छन् भने बाबुराम अधिकारी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा बढुवा पदस्थापन भएका हुन्।

अब २०७० साल चैतमा खुला प्रतिस्पर्धाबाट सहसचिव भएका मदन भुजेल (अदिवासी/जनजाति कोटा), चन्द्रकला पौडेल (महिला कोटा), शोभाकान्त पौडेल र भूपाल बरालको सचिव हुने पालो आएको छ। आदिवासी/जनजाति कोटाबाट सहसचिव भएका मदन भुजेल मधेश प्रदेशको कायममुकायम प्रमुख सचिव बनेर गइसकेका छन्। उनी फागुन १२ मा जेलमा रहेका निलम्बित सचिव टेकनारायण पाण्डे अवकाश भएपछि सचिवमा बढुवा हुने लाइनमा छन्।

त्यसपछि बीचमा मधेशी कोटाबाट १६  वर्ष अगाडि सहसचिव बनेका वीरेन्द्र यादव छिर्नेछन्। यादवको सचिव हुनलाई आवश्यक पर्ने तालीम (एसईडिपी) फागुन ५ गते सकिने भएपनि भुजेल कायममुकायम सचिव भइसकेकाले टेकनारायण पाण्डेको ठाउँमा उनै सचिवमा बढुवा हुने देखिन्छ।

राष्ट्रिय योजना आयोगका कार्यरत यादव योजना आयोग कै सचिव मधुकुमार मरासिनी फागुन १६ मा घर गएपछि सचिवमा यादव बढुवा हुनेछन्। यादवपछि महिला कोटाबाट सहसचिव बनेकी चन्द्रकला पौडेल सचिवमा बढुवा हुनेछिन्। उनी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल अवकाश भएपछि सचिव हुनेछिन्। चन्द्रकला अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रशासन महाशाखा प्रमुख हुन्।

वैशाख २५ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह घर गएपछि शोभाकान्त पौडेल सचिवमा बढुवा हुनेछन्। पौडेल अहिले अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुख रहेका छन्। त्यसपछि भूपाल बराल सचिव बन्नेछन्। उनी महालेखा नियन्त्रक गणेशप्रसाद पाण्डेले वैशाख ३० मा ५८ वर्ष उमेर हदका कारण अवकाश पाएपछि सचिव हुनेमा पर्छन्। बराल वन तथा वातावरण मन्त्रालयको प्रशासन महाशाखा प्रमुख हुन्।

क्याटेगोरी : समाचार
ट्याग : ##मदन भुजेल, #भूपाल बराल, #शोभाकान्त पौडेल, #सहसचिव चन्द्रकला पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ