भुवनेश्वर चन्द्रागिरी र रामप्रसाद दक्षिणकाली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बने
![](https://ap-south-1.linodeobjects.com/swasthyalive/2025/02/IMG_20250213_210746.jpg)
काठमाडौं। भुवनेश्वर लामिछाने चन्द्रागिरी नगरपालिका र रामप्रसाद आचार्य दक्षिणकाली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेका छन्। चन्द्रागिरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल र दक्षिणकाली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवाली आन्तरिक प्रतिस्पर्धाबाट सहसचिवमा सिफारिस भएपछि उनीहरूले अवसर पाएका हुन्।
लामिछाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखा (स्थानीय तह)को सरुवा हेर्नेमा प्रमुख थिए भने आचार्य पनौती नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए। लामिछानेले आफ्नो सरुवाको प्रस्ताव आफैले गरेर चन्द्रागिरीको प्रमुख प्रशासकीय अधिकृत बनेका छन्। उनी यसअघि पनि काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए। आचार्य पनि काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिसकेका उपसचिव हुन्।
उपसचिवका लागि आकर्षक मानिने काठमाडौं चन्द्रागिरी र दक्षिणकालीमा लामिछाने र आचार्य प्रमुख प्रशासकीय अधिकृत बनेर जान सफल भएका छन्। काठमाडौंको चन्द्रागिरी र दक्षिणकाली दुबै नेपाली कांग्रेसले जितेका नगरपालिका हुन्। चन्द्रागिरीमा घनश्याम गिरी र दक्षिणकालीमा मोहन बस्नेत मेयर रहेका छन्। उक्त ठाउँमा प्रमुख प्रशासकीय अधिकृत भएर जान उपससचिवहरूबीच प्रतिस्पर्धा नै हुने गरेको छ। त्यसमा लामिछाने र आचार्यले बाजी मारेका हुन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार साँझ ५० जना उपसचिवको सरुवा गरेको हो।
क्याटेगोरी : समाचारट्याग : #गोकर्णेश्वर नगरपालिका, #चन्द्रागिरी नगरपालिका, #दक्षिणकाली नगरपालिका, #बुढानिलकण्ठ नगरपालिका, #भुवनेश्वर लामिछाने, #रामप्रसाद आचार्य, #रोशन ज्ञवाली, #हेमराज अर्याल
तपाईको प्रतिक्रिया दिनुहोस