चन्द्रागिरी र दक्षिणकाली नगरपालिकामा तत्काल कार्यकारी पठाउँदा महानगरलाई असहयोग
![](https://ap-south-1.linodeobjects.com/swasthyalive/2025/02/IMG_20250214_071017.jpg)
काठमाडौं। संघीय सरकारले काठमाडौंको चन्द्रागिरी र दक्षिणकाली नगरपालिकामा खाली भएको २४ घण्टा नबित्दै प्रमुख प्रशासकीय अधिकृत पठाएको छ। संघीय सरकारले केही दिन अघि डेढ दर्जन सहसचिवको सरुवा गर्दा पनि काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत नपठाएको हो।
चन्द्रागिरीमा भुवनेश्वर लामिछाने र दक्षिणकाली रामप्रसाद आचार्यलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ। चन्द्रागिरीका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल र दक्षिणकालीका रोशन ज्ञवाली आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएपछि दुबै नगरपालिकामा २४ घण्टा नबित्दै नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइएको हो। तर, २ महिनादेखि निमित्तको भरमा चलेको काठमाडौं महानगरपालिकामा भने संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृत पठाएको छैन। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईंमाथि छानबिन सुरू भएपछि उनी बिदामा बसेका छन्। महानगर अहिले आर्थिक अधिकार प्रयोग गर्न नपाउने निमित्तको भरमा चलिरहेको छ।
काठमाडौं कै चन्द्रागिरी र दक्षिणकाली नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत पाउँदा काठमाडौं महानगरपालिका भने संघीय सरकारको ‘हेला’मा परेको छ। काठमाडौंमा प्रमुख प्रशासकीय अधिकृत नपठाएर असहयोग गर्ने नीति संघीय सरकारले गरेको पाइन्छ।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्न सहज छैन भन्ने छ। त्यहाँ जान खोजिरहेका सहसचिवहरूलाई पनि त्यस्तै डर देखाउने गरिएको छ। तर, यथार्थ अलि फरक देखिन्छ। काठमाडौं महानगरपालिकामा जाने प्रमुख प्रशासकीय अधिकृत त्यहाँको मेयरलाई सहयोग गर्नेभन्दा पनि संघीय सरकारको इसारामा चल्न खोज्ने भएकाले समस्या भएको पाइन्छ। गुरागाईंको हकमा पनि त्यहीँ भएको हो।
काठमाडौं महानगरपालिका राम्रै काम गरिरहेका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई संघीय सरकारले बिना कारण झिकेर गुरागाईंलाई पठाएको थियो। परियारले छानबिन समिति बनाएर रोकेको काम गुरागाईंले हाजिर भएको पन्ध्र दिनमै अगाडि बढाइदिए। त्यसैले उनीमाथि नै महानगरपालिकाले छानबिन समिति बनाएको हो।
चन्द्रागिरी र दक्षिणकालीमा खाली हुनसाथ प्रमुख प्रशासकीय अधिकृत पठाउने र काठमाडौं महानगरपालिका नपठाउने संघीय सरकारको रबैयाले प्रश्न उठाएको छ। काठमाडौं महानगरपालिकामा पनि तत्काल प्रमुख प्रशासकीय अधिकृत पठाउन जरुरी देखिन्छ।
क्याटेगोरी : समाचारट्याग : #भुवनेश्वर लामिछाने, #रामप्रसाद आचार्य, #सरोजप्रसाद गुरागाईं
तपाईको प्रतिक्रिया दिनुहोस