चौथोपटकको प्रयासपछि सहसचिव बनेका मुक्तिराम अर्याल


काठमाडौं। प्रशासन सेवामा आन्तरिक प्रतिस्पर्धाबाट सहसचिवमा सिफारिस हुनेको सूचीमा ८ औं नम्बरमा मुक्तिराम अर्यालको नाम रहेको छ। लोक सेवा आयोगले नेपाल प्रशासन सेवा, राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरहका लागि ११ जना मागेकोमा मुक्तिराम ८ औं नम्बरमा पर्न सफल भएका हुन्। गुल्मी जिल्ला मालिकामा जन्मिएका देवीराम अर्याल र दुर्गादेवी अर्यालका छोरा मुक्तिराम नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव बन्न सफल भएका छन्।

नियुक्तिपत्र बुझ्दै सहसचिव मुक्तिराम अर्याल

मुक्तिराम त्यतिकै यसपटक सहसचिवको सिफारिसमा परेका हैनन् त्यसका लागि मुक्तिरामले चौथो पटकसम्म प्रयासमा गरेका थिए। चौथो पटकको प्रयासपछि मात्र मुक्तिरामले सहसचिव बन्ने कसरत र सपनाबाट मुक्ति पाएका छन्। उनको नाम मुक्तिराम भएपनि लोक सेवाबाट मुक्ति पाउन भने उनले ‘फलामको चिउरा’ चपाउनु परेको छ।

मुक्तिरामले सहसचिवमा २ पटक खुला र १ पटक आन्तरिक प्रतिस्पर्धाबाट लिखितमा नाम निकालेर अन्तर्वातामा असफल भएका थिए। चौथो प्रयासमा अहिले भने उनी आन्तरिक प्रतिस्पर्धाबाटै सहसचिव बन्न सफल भएका छन्।

सहसचिव मुक्तिराम अर्याल

मुक्तिरामले २०७१ साल फागुनमा नेपाल प्रशासन सेवाको सहसचिव खुलामा नाम निकालेका थिए। त्यो बेला उनी वैकल्पिकमा पनि पर्न सकेनन्। प्रशासन सेवाको खुलामा ३ जना सहसचिव मागेकोमा मुक्तिरामको जयनारायण आचार्य, नारायणप्रसाद भट्ट, उत्तरकुमार खत्री, डिलाराम पन्थी लगायतसँगै लिखितमा नाम निस्किएको थियो। त्यो बेला अन्तर्वार्तापछि जयनारायण आचार्य, नारायणप्रसाद भट्ट, उत्तरकुमार खत्री सहसचिवमा सिफारिस भए। वैकल्पिकमा पनि डिलाराम पन्थी परेका थिए। त्यो बेला पनि मुक्तिराम मुकदर्शक मात्र बने। तर उनले हिम्मत हारेनन्।

२०७४ सालमा फेरि मुक्तिरामले दोस्रोपटक सहसचिवको खुलामा नाम निकाले। त्यो बेला उनीसँगै नारायणप्रसाद रेग्मी, नारायणप्रसाद भट्टराई, ध्रुव घिमिरे, प्रकाश दाहाल, टोकराज पाण्डे, नारायण खतिवडालगायतले नाम निकालेका थिए। त्यसमा नारायणप्रसाद रेग्मी, नारायणप्रसाद भट्टराई, ध्रुव घिमिरे, प्रकाश दाहाल सहसचिव सिफारिस भए भने टोकराज पाण्डे र नारायण खतिवडा वैकल्पिकमा परे। त्यो बेला पनि मुक्तिराम असफल भए। यसपटक मुक्तिरामले हिम्मत हारेनन्।

 

२०७९ सालमा मुक्तिरामले खुलातिर बिट मारेर आन्तरिक प्रतिस्पर्धाबाट सहसचिवको लिखितमा नाम निकाले। २०७९ सालको आन्तरिक प्रतिस्पर्धामा रामकृष्ण लामिछाने, विन्देश्वरप्रसाद लेखक, बद्रीनाथ गैह्रे, पार्वती अर्याल, धर्मराज रोकायसँगै मुक्तिरामले सहसचिवको लिखितमा नाम निकालेका थिए। त्यो बेला आन्तरिक प्रतिस्पर्धाबाट रामकृष्ण लामिछाने, विन्देश्वरप्रसाद लेखक, बद्रीनाथ गैह्रे, पार्वती अर्याल सहसचिवमा सिफारिस हुँदा धर्मराज रोकायपछिको वैकल्पिकमा मुक्तिराम परेका थिए। तर, पनि उनको प्रयास जारी रह्यो।

२०८१ सालमा भने मुक्तिरामले सहसचिव बन्ने प्रयासबाट मुक्ति पाएका छन्। २०८१ सालको प्रशासन सेवाको आन्तरिक प्रतिस्पर्धामा १५ जनाले लेखितमा नाम निकालेका थिए। ११ जना सहसचिवको लागि भएको प्रतिस्पर्धामा १ नम्बर वैकल्पिकमा पर्ने खतराबाट मुक्त हुँदै मुक्तिरामले ८ औं नम्बरमा सिफारिस हुन सफल भएका छन्।

प्रशासन सेवाको सहसचिवमा आन्तरिक प्रतिस्पर्धामा टंकनाथ लम्साल, धर्मराज जोशी, धर्मराज रोकाया, धोलकराज ढकाल, ध्रुव गिरी, प्रवीण ढकाल, मुक्तिराम अर्याल, मोतिराम सापकोटा, यज्ञ पुरी, रुद्रबहादुर कार्की, रोशन ज्ञवाली, विजय राना, सिर्जना थपलिया, हिरालाल भण्डारी र हेमराज अर्यालको लिखितमा नाम निस्किएको थियो। अन्तर्वार्तापछि भने रोशन ज्ञवाली, यज्ञ पुरी, मोतिराम सापकोटा, सिर्जना थपलिया, धर्मराज जोशी, धोलकराज ढकाल, हेमराज अर्याल, मुक्तिराम अर्याल, रुद्रबहादुर कार्की, ध्रुव गिरी, टंकनाथ लम्साल सहसचिवमा सिफारिस भएका छन्। उनीहरूले नियुक्ति समेत लिइसकेका छन्। मुक्तिरामले यो सिफारिससँगै सहसचिवको परीक्षाबाट मुक्ति पाएका हुन्।

आन्तरिक प्रतिस्पर्धाबाट सहसचिवको लिखितमा नाम निकालेर २ पटक वैकल्पिकमा परेका धर्मराज रोकायका लागि पनि मुक्तिराम हिम्मत नहार्न प्रेरणको स्रोत बन्न सक्छन्। अन्य निजामती कर्मचारीका लागि पनि १० वर्षको प्रयासपछि लिखितबाट सहसचिवमा सिफारिस भएका मुक्तिराम अर्याल प्रेरणादायी व्यक्ति बन्न सक्छन्।

 

क्याटेगोरी : समाचार
ट्याग : #मुक्तिराम अर्याल, #सहसचिव मुक्तिराम अर्याल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ