प्रशासनको वैकल्पिकमा परेकी शारदा राउतको न्यायमा फड्को

काठमाडौं। नेपाल न्याय सेवा, सरकारी वकील समूह राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)को १ नम्बरमा सिफारिस भएको नाम हो शारदा राउत। एक पुरुष युवराज महतलाई दोस्रो बनाउँदै र अर्का विरेन्द्रप्रकाश खड्कालाई वैकल्पिकमा पुऱ्याउँदै राउत सरकारी वकिल समूहको सहसचिव भएकी हुन्।
रोचक पक्ष त के छ भने नेपाल न्याय सेवाको, कानुन समूहमा उर्मिला जिसी, सरकारी वकिल शारदा राउत र न्याय समूह सपना अधिकारी तीनै जना महिला पहिलो नम्बरमा सिफारिस भएका छन्। न्यायमा सपनाको एकल उपस्थिति छ। यसले पनि न्याय सेवामा महिलाहरूले निकै फड्को मार्न थालेको आभाष हुन्छ।
भोजपुर-४ मा जन्मिएकी शारदा विष्णुबहादुर र निरकुमारी राउतकी सन्तान हुन्। उनी शिक्षा प्रशासनबाट निजामती सेवामा प्रवेश गरेको देखिन्छ। शिक्षाको अधिकृत शारदा उपसचिवमा भने वैकल्पिकमा परिन्। २०७५ मा भएको लोक सेवा आयोगको लिखित परीक्षामा शिक्षाको उपसचिवमा शारदासहित महिला कोटाबाट सविता दङ्गाल (गौतम) र राधा देवकोटा उपाध्यायले नाम निकालेका थिए। तर, अन्तर्वार्तापछि संखुवासभाकी सविता दङ्गाल (गौतम) उपसचिवमा सिफारिस भइन् भने भोजपुरकी शारदा वैकल्पिकमा परिन्। उनको शिक्षातिरको यात्रामा ब्रेक लाग्यो।
शिक्षा प्रशासनपछि शारदाले प्रशासन सेवा, सामान्य प्रशासन समूहको उपसचिवमा पनि लिखितमा नाम निकाल्न सफल भएकी थिइन्। तर, अतर्वार्तापछिको सिफारिसमा उनी फेरि वैकल्पिकमै परिन्। काभ्रेपलाञ्चोक पनौतीकी सीता निरौला (फुयाँल) प्रशासनको उपसचिवमा सिफारिस हुँदा शारदा यसमा पनि वैकल्पिकमा धकेलिन्। तर, शारदाको यात्रा रोकिएन। उनी कानुनतिरको उपसचिव बनेरै छाडिन्। शारदा भोजपुर बहुमुखी क्याम्पसको स्ववियू सभापति बनेर चर्चामा आएकी व्यक्ति समेत हुन्।
शिक्षा प्रशासन र सामान्य प्रशासन समूहको उपसचिवको वैकल्पिकमा परेकी शारदालाई न्याय सेवा भने फलिफाप हुन पुग्यो। एउटा ढोका बन्द भए अर्को ढोका खुल्छ भन्ने उनी गतिलो दृष्टान्त हुन्।
शारदा आन्तरिक प्रतिस्पर्धाबाटै नेपाल न्याय सेवा, सरकारी वकिल समूहको राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)मा सिफारिस हुन सफल भएकी छिन्। शारदाले लिखितमा कानुन र सरकारी वकिल समूहमा नाम निकाले पनि अन्तर्वार्तापछि सरकारी वकिल समूहको सहसचिवमा सिफारिस भएकी हुन्। उनी सहन्यायाधिवक्ता शारदा राउतको नामले परिचित हुन थालेकी छिन्।
क्याटेगोरी : समाचारट्याग : #शारदा राउत, #शारदा राउत सहसचिव, #सरकारी वकिल शारदा राउत
तपाईको प्रतिक्रिया दिनुहोस