को हुन् बेलायतका लागि नवनियुक्त नेपाली राजदूत चन्द्रकुमार घिमिरे?


लण्डनबेलायतका लागि नवनियुक्त नेपाली राजदूत चन्द्रकुमार घिमिरे बौद्धिक, कुशल कूटनीतिज्ञ र निष्कलंक व्यक्तिका रुपमा परिचित छन् । तिन दसक भन्दा लामो निजामती सेवाबाट सन् २०२१ मा सेवानिवृत्त भएका घिमिरेले त्यसपुर्व महावाणिज्यदूतका रुपमा महावाणिज्यदूताबास कोलकाता हुँदै उद्योग वाणिज्य सचिव, राष्ट्रिय योजना आयोगका सचिव, स्वास्थ्य सचिव, प्रधानमन्त्री कार्यालयको सचिवको जिम्मेवारी सम्हालेको अनुभव सँगालेका छन् । नेपालको उद्योग वाणिज्य पारवहन र विश्व व्यापार संगठनको नीति नियम र द्दिपक्षिय तथा क्षेत्रीय व्यापार वार्ता तथा सन्धि संझौता नियम तर्जुमा साथै औद्योगिक विकास र लगानी प्रवर्धनमा दख्खल राख्ने हुदा उनी नेपाली सन्दर्भमा उद्योग र वाणिज्य क्षेत्रका ज्ञातासमेत मानिन्छन् ।

राजदूत घिमिरेको जन्म पिता नरनाथ घिमिरे र माता नेत्रकुमारी घिमिरेको ज्येष्ठ सुपुत्रको रुपमा धरान उपमहानगरपालिका वडा नम्बर १० मा भएको हो । बाल्यकाल पनि धरानमै बिताएका राजदूत घिमिरेले नर्वेको बर्गिन विश्वविद्यालयबाट मास्टर अफ फिलोसफी (एमफिल) आर्जन गरेका छन् । त्रिभुवन विश्व विद्यालयबाट सर्वोत्कृष्ट नतिजा ल्याएर मास्टर इन पब्लिक एडमिनिस्ट्रेसन (एमपीए) उत्तीर्ण गरेपछि उनी त्रिभुवन विश्वविद्यालयबाट नेपाल विद्याभुषण (ख) लगायतका स्वर्ण पदकहरुद्वारा विभूषित भएका थिए । त्यस्तै सार्वजनिक क्षेत्रमा विशिष्ट सेवा योगदान गरे वापत नेपालका निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय सुप्रवल जनसेवा पदकद्वारा विभूषित भएका छन् उनी ।

राजदूत घिमिरेको प्रराम्भिक शिक्षा धरान पब्लिक हाइस्कुलबाट सुरु भएको थियो भने सन् १९८१ सालमा प्रवेशिका परीक्षा पनि धरान पब्लिक हाइस्कुलबाट नै उत्तीर्ण गरेका थिए। प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि उनले महेन्द्र बहुमुखी कलेजमा अध्ययन गरी सन् १९८५ मा इन्टर मिडियट अफ कमर्स (आइकम) उत्तीर्ण गरेका थिए ।

राजदूत घिमिरे आइकम उत्तीर्णपछि ब्याचलर अफ कमर्स (बिकम) को अध्ययन गर्न काठमाडौं पसेका थिए । काठमाडौं आएपछि घिमिरेले शंकरदेव क्याम्पसमा बिकम अध्ययन शुरु गरे । उनले सन् १९८७ – १९८८ अवधिमा बिकम अध्ययन सम्पन्न गरेका थिए । उनले बिकम उत्तीर्ण गरेपछि अध्ययनलाई पनि निरन्तरता दिँदै शाखा अधिकृत पदमा जागिरका लागि लोकसेवा आयोगको परीक्षा दिए । सन् १९८९ सालमै निजामति सेवामा प्रवेश भए उनी । उनको पहिलो दरबन्दी सिंहदरबारमा रहेको थियो । सिंहदरबारमा उनले भौतिक तथा आवास मन्त्रालय र राष्ट्रिय योजना आयोग र प्रधानमन्त्री कार्यालयमा काम गर्ने अवसर पाएका थिए । यस बिच उनले नेपालको सामान्य प्रशासन मन्त्रालयको प्रशासन सुधार महाशाखा प्रमुखको रुपमा प्रशासनिक सुधार सम्बन्धी विभिन्न पहलहरु गरे। त्यसपछि उनले नेपालको वाणिज्य मन्त्रालयमा सहसचिबका रुपमा अन्तराष्ट्रिय व्यापार र विश्व व्यापार संगठनको नीति नियम र सन्धि सम्झौताको नियम जस्ता विषयहरुमा अनुभव बटुलेका थिए। सोहि समयमा केहि समय उनले नेपाललगायत एशियाली तथा प्यासिफिक अल्पविकाशित मुलुक (एलडिसी) हरुको प्रतिनिधित्व गर्दै जेनेभास्थित विश्व ब्यापार संगठनको एक संयन्त्रमा सदस्यका रुपमा एलडिसीहरुको ब्यापार सम्बन्धि क्षमता विकासमा योगदान दिए।

राजदूत घिमिरेले निजामती सेवालाई पनि निरन्तरता दिँदै मास्टर्स इन बिजिनेस एडमिनिस्ट्रेसन (एमबीए) अध्ययन गर्न त्रिविमा भर्ना भएका थिए। उनले त्रिबिबाट सन् १९९३ सालमा एमबीए उत्तीर्ण गरेका थिए। राजदूत घिमिरेले एमबीए उत्तीर्ण गरेपश्चात् सोही विश्वविद्यालयमा मास्टर इन पब्लिक एडमिनिस्ट्रेसन (एमपीए) विषय २००२-२००४ अवधिमा अध्ययन सम्पन्न गरेका थिए ।

राजदूत घिमिरे सन् २०१२ सालमा छिमेकी देश भारतका लागि कोलकातामा महावाणिज्यदूतको रुपमा कार्यरत थिए भने सन् २०१६ मा सचिबमा पदोन्नति भएर नेपालका प्रधानमन्त्री कार्यालयको सचिवको अभिभारा उनले पाएका थिए । तत्पश्चात नेपालमा निक्कै महत्वपूर्ण मानिने उद्योग वाणिज्य मन्त्रालयमा वाणिज्य सचिव साथै उद्योग सचिव गरि दुवै क्षेत्रको प्रशासनिक प्रमुखको अनुभव आर्जन गरेका छन्।

राजदूत घिमिरेले नर्वेको बर्गेन विश्वविद्यालयबाट NORAD छात्रवृत्तिमा एमफिल गरेका छन् । साथै हार्वर्ड विश्वविद्यालयको Kennedy School of Government बाट Trade Policy & Negotiation मा सन् २०११ मा प्रशिक्षित हुन् पाएका छन्। यसबिच २००६ मा बेलायतको Chevening Fellowship पाएर University of York बाट प्रशिक्षित भएका थिए। घिमिरेले उद्योग, व्यापार, लगानी, सार्वजनिक सुधार, आर्थिक कुटनीतिक सम्बन्धि खोजमुलक लेख तथा प्रतिवेदनहरु विभिन्न जर्नल र प्रतिष्ठित पत्रपत्रिकाहरुमा प्रकाशित छन्। सन् २०२१ मा नेपालको निजामती सेवाबाट सेवानिवृत्त भएपछि सन् २०२४ सम्म उनले वरिष्ठ नीति अनुसन्धानकर्ताका रुपमा काम गरे। सो दोरान उनको संलग्नतामा सम्पन्न भएका थुप्रै अनुसन्धानात्मक अध्ययनहरु उपलब्ध छन्। उनी वैदेशिक लगानीका लागि गरिने सुधारका लागि निरन्तर प्रयासरत रहे।

राजदूत घिमिरेको नेपाली साहित्यप्रति विशेष अभिरुची रहेको छ । उनले सन् २०१२ मा “डोन्ट टच मी वो (Don’t Touch Me O) कविताहरु” र सन् २०१६ मा “काठको बाकस” कवितासंग्रहहरु प्रकाशित गर्नुको साथै कान्तिपुर दैनिक र राजधानी दैनिक पत्रिकामा धेरै संस्मरण, कविता र कथाहरु प्रकाशित गरिसकेका छन्। राजदूत घिमिरे सन् १९९१ सालमा सरिता न्यौपानेसँग वैवाहिक सम्बन्धमा जोडिएका थिए । घिमिरे दम्पतीबाट दुई सन्तानको जन्म भएको छ । छोरा सौरभ घिमिरे हुन् भने छोरी श्रद्धा घिमिरे हुन्।

राजदूत घिमिरे फुर्सदको समय साहित्य, नीति संवाद, पुस्तक अध्ययन, हाइकिङ, फुटबल, अन्तराष्ट्रिय व्यापार, कुटनीति, वैदेशिक लगानी र विश्वको समसामयिक जानकारी लिन रुचाउँछन् । बचेको समय परिवारसहित देश, विदेशको यात्रा गर्न मन पराउँछन् ।

प्रस्तुति: चिम्खोले काईला

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ