२०६७ साल वैशाखका ‘ब्याची’ सहसचिवहरू निजामतीमा रहेनन् बाँकी


काठमाडौं२०६७ साल वैशाखमा सहसचिव भएकाहरू निजामती सेवाबाट पूर्ण रूपमा बाहिरिएका छन्। दिनेश भट्टराईले ५ वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशपाएसँगै २०६७ वैशाखका ‘ब्याची’ सहसचिवहरू निजामती सेवाबाट पूर्ण रूपमा बाहिरिएका छन्।
२०६७ वैशाखमा आन्तरिक र खुला प्रतिस्पर्धाबाट १० जना सहसचिव भएका थिए। जसमध्ये आन्तरिक प्रतिस्पर्धाबाट ७ र खुलाबाट ३ जना सहसचिव हुन सफल भएका थिए। आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव बनेका एक जनाबाहेक सबै सचिव बने। खुलाबाट आएका तीनै जना सचिव बनेर निजामती सेवाबाट बिदा भएका हुन्।
२०६७ वैशाखमा आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव हुनेमा सुरेश अधिकारी, हरि पौडेल, तोयनारायण ज्ञवाली, तोयम राय, केवलप्रसाद भण्डारी, हरिप्रसाद बस्याल र सुदर्शनप्रसाद ढकाल रहेका थिए। त्यस्तै खुला प्रतिस्पर्धाबाट सहसचिव बन्नेमा रामकृष्ण सुवेदी, बालकृष्ण घिमिरे र दिनेश भट्टराई रहेका थिए।


सँगै आन्तरिक र खुला प्रतिस्पर्धाबाट सहसचिवमा छिरेका १० जनामध्ये आन्तरिकबाट सहसचिव भएका सुदर्शनप्रसाद ढकालले मात्रै सहसचिवबाटै अवकाश पाए। सुरेश अधिकारी, हरि पौडेल, तोयनारायण ज्ञवाली, तोयम राय, केवलप्रसाद भण्डारी, हरिप्रसाद बस्याल, रामकृष्ण सुवेदी, बालकृष्ण घिमिरे र दिनेश भट्टराई भने सचिव चलाएर सेवा निवृत्त भएका हुन्।


२०६७ सालको आन्तरिकबाट सहसचिव भएका अधिकारी सचिवबाट ‘रिटायर्ड’ भएपछि व्यवस्थापिका संसद्को सचिवमा समेत नियुक्त भएका थिए। उक्त पदबाट उनले राजीनामा दिइसकेका छन्। पौडेल अहिले निर्वाचन आयुक्तको भूमिका छन् भने राय महालेखापरीक्षक भएर काम गरिरहेका छन्।

सचिवबाट अवकाश पाएका ज्ञवाली, भण्डारी, बस्याल, सुवेदी घिमिरे र भट्टराईले भने कुनै राजनीतिक नियुक्ति खाएका छैनन्। सहसचिवबाट अवकाश पाएका ढकालले बागमती प्रदेशको लोक सेवा आयोग सदस्यको नियुक्ति खाएका थिए। उनी पनि प्रदेश लोक सेवा आयोगको सदस्यबाट राजीनामा दिएर हिँडिसकेका छन्। अब २०६७ सालका ‘ब्याची’ सहसचिवहरू निजामती सेवामा बाँकी छैनन्। अधिकांश सचिव बनेर सेवानिवृत्त भएका हुन्।

रामकृष्ण सुवेदी, बालकृष्ण घिमिरे, दिनेश भट्टराईसँगै २०६७ वैशाखमा खुलामा सहसचिवको लिखितमा नाम निकालेका मधुसुदन बुर्लाकोटी, रामेश्वर दंगाल दिनेश घिमिरे, मदन कोइराला, जनकराज शर्मा र केशवलाल श्रेष्ठ रहेका थिए।  ३ जनाको ठाउँमा ९ जनाले लिखितमा नाम निकालेपछि अन्तर्वार्तामा ६ जना आउट भएका थिए। उनीहरूमध्येका मधुसुदन बुर्लाकोटी राष्ट्रिय तथ्याङ्क कार्यालयको सचिव छन्। रामेश्वर दंगाल रक्षा मन्त्रालयको सचिव र दिनेश घिमिरे अर्थ मन्त्रालयको राजस्व सचिवको भूमिकामा रहेका छन्। मदन कोइराला भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहसचिव र जनकराज शर्मा अर्थतिर छन्। त्यो बेला नै नाम निकालेको भए बुर्लाकोटी, दंगाल, घिमिरेहरू पनि घर जानेमा पर्थे। तर त्यो बेला असफल भएका उनीहरू अहिले पनि निजामती सेवामै हाजिर भइरहेका छन्।

क्याटेगोरी : समाचार
ट्याग : ## सुरेश अधिकारी, #२०६७ साल वैशाखका 'ब्याची' सहसचिवहरू, #केवलप्रसाद भण्डारी, #तोयनारायण ज्ञवाली, #तोयम राय, #दिनेश भट्टराई, #बालकृष्ण घिमिरे, #रामकृष्ण सुवेदी, #सुदर्शनप्रसाद ढकाल, #हरि पौडेल, #हरिप्रसाद बस्याल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ