अधिकृतमा वैकल्पिकमा परेकी रोजिना ताम्राकार प्रतिस्पर्धाबाटै परराष्ट्रको उपसचिव र सहसचिव


काठमाडौं। परराष्ट्र सेवाको सहसचिव बनेकी रोजिना ताम्राकार अधिकृत हुँदा आरक्षणको वैकल्पिकमा परेकी थिइन्। २०६७ सालमा उनी परराष्ट्रको शाखा अधिकृतमा आदिवासी/जनजाति कोटाको वैकल्पिकमा परेकी थिइन्। त्यो बेला कुलबहादुर मगर, सविता नकर्मी र रामसिंह थापा परराष्ट्रको शाखा अधिकृतमा सिफारिस हुँदा रोजिना भने वैकल्पिकमा धकेलिएकी थिइन्। त्यसपछि लगातार २ वर्षको प्रयासपछि रोजिना परराष्ट्रको शाखा अधिकृत भएरै छाडिन्। त्यो बेला परराष्ट्र सेवाको शाखा अधिकृतमा ठूलो संख्यामा महिलाहरू प्रवेश गरेका थिए। उक्त ‘लट’मा रोजिना पनि शाखा अधिकृत बनेर परराष्ट्र सेवामा प्रवेश गरेकी थिइन्।

शाखा अधिकृतमा वैकल्पिकमा परेकी रोजिना त्यसपछि भने अरूलाई वैकल्पिकमा पारेर अघि बढ्न थालिन्। रोजिना २०७६ साउनमा आन्तरिक प्रतिस्पर्धाबाट परराष्ट्र सेवाको उपसचिव बन्न सफल भइन्।

२०७६ सालमा परराष्ट्र सेवामा आन्तरिक प्रतिस्पर्धाबाट २ पदका लागि भएको विज्ञापनमा रोजिनाको नाम २ नम्बरमै सिफारिस भएको थियो। उपससचिवमा यसअघि नै परराष्ट्र सेवाको सहसचिव भइसकेका ज्ञानबहादुर मगर १ नम्बरमा सिफारिस भएका थिए। २ नम्बरमा रोजिना ताम्राकार नाम सिफारिस भएको थियो। उनीहरू दुबै जना धनुषा कै हुन्। वैकल्पिकमा भने प्युठान चित्रबहादुर केसी परेका थिए।

सहसचिवमा पनि रोजिना आन्तरिक प्रतिस्पर्धाबाटै सिफारिस हुन् सफल भइन्। परराष्ट्र सेवाको सहसचिवमा ३ जना मागिएकोमा रोजिना तेस्रो नम्बरमा सिफारिस भएकी छिन्। आन्तरिक प्रतिस्पर्धाबाट सहसचिवको पहिलो नम्बरमा ईला मैनाली, दोस्रोमा रोशन खनाल र तेस्रोमा रोजिना ताम्राकारको नाम सिफारिस भएको हो। मोतिबहादुर श्रीस भने वैकल्पिकमा परेका छन्।

२०६७ सालमा परराष्ट्र सेवाको शाखा अधिकृतमा पिछडिएको क्षेत्रबाट छिरेका उत्तमकुमार शाही भने वैकल्पिकमा समेत परेनन्। रोशन र ईला महिलाबाट परराष्ट्र सेवामा प्रवेश गर्दा उत्तम पिछडिएको क्षेत्रबाट सिफारिस भएका थिए। सहसचिवको आन्तरिक प्रतिस्पर्धामा भने उत्तमले अन्तर्वार्तामा धोका खाए।

३ जना आवश्यक रहेको परराष्ट्र सेवामा सहसचिवको लिखितमा ईला, उत्तम, मोति, रोजिना र रोशनका नाम निस्किएको थियो। अन्तर्वार्तापछि भने ईला, रोशन र रोजिना सहसचिवमा सिफारिस भए। मोति वैकल्पिकमा पुगे। उत्तमले उत्तम विकल्प समेत पाएनन्।

ईला र रोशन महिला कोटाबाट शाखा अधिकृत छिरेर उपसचिवमा बढुवा हुँदै आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएका हुन्। रोजिना भने उपसचिव र सहसचिवमा आन्तरिक प्रतिस्पर्धाबाटै आउन सफल भएकी हुन्। शाखा अधिकृतमा विकल्पमा परेकी रोजिना त्यसपछि भने प्रतिस्पर्धामा खरो उत्रिदै परराष्ट्र सेवाको सहसचिवसम्म पुग्न सफल भएकी छिन्। सहसचिव भएपछि राजदूत बन्ने उनको योग्यता पुगेको छ।

रोजिना २०६७ सालमै ईला र रोशनसँग परराष्ट्र सेवामा प्रवेश गर्ने तयारीमा थिइन्। ईला र रोशन महिला कोटाबाट पराराष्ट्र सेवाको शाखा अधिकृतमा सिफारिस हुँदा रोजिना भने आदिवासी/जनजाति कोटाको वैकल्पिकमा परिन्। तर उनको परराष्ट्र सेवाको अधिकृत बन्ने चाहना र सपना त्यसको दुई वर्षपछि पूरा भएरै छाड्यो। ला र रोशन रोजिनाभन्दा दुई वर्ष अगाडि परराष्ट्र सेवामा प्रवेश गरेका थिए। २०७६ मा ईला र रोशन उपसचिवमा बढुवा हुँदा रोजिना पनि आन्तरिक प्रतिस्पर्धाबाट उपसचिव भएकी थिइन्। सहसचिवमा भने रोजिना उनीहरूसँगै सिफारिस भएकी छिन्।

क्याटेगोरी : समाचार
ट्याग : #ईला मैनाली, #उत्तमकुमार शाही, #मोतिबहादुर श्रीस, #रोजिना ताम्राकार, #रोशन खनाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ