२ महिनादेखि काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन


काठमाडौं। संघीय राजधानीस्थित मुलुक कै जेठो र ठूलो बजेट भएको काठमाडौं महानगरपालिका २ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ। पुरानो बसपार्कमा रहेको काठमाडौं भ्यूटावरमा अनुचित ढंगले नक्सापास स्वीकृति गरेपछि प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईं घर बिदामा छन्। उनको ठाउँमा अहिलेसम्म संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृत पठाएको छैन। काठमाडौं महानगरपालिकाको वेबसाइटमा सरोज गुरागाईँ नै प्रमुख प्रशासकीय अधिकृत छन् तर कार्यालयमा उनी उपस्थित छैनन्। काठमाडौं महानगरपालिका निमित्तको भरमा छ। 

सिराहाको प्रमुख जिल्ला अधिकारी हुँदा राष्ट्रिय मानव अधिकार आयोगले कारबाही सिफारिस गरेका गुरागाईंमाथि काठमाडौं महानगरपालिकाले पनि समिति नै बनाएर छानबिन गरिरहेको छ। लगातार ९० दिनसम्म बिदा बस्ने कानुनी सुविधा भएकाले गुरागाईं त्यसैको सदुपयोग गर्दै बिदामा बसेका छन्। तर, काठमाडौं महानगरपालिकाको आर्थिक तथा प्रशासनिक काम ठप्प बनेको छ।

काठमाडौं महानगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी नूरनिधि न्यौपानेले पाएका छन्। उनले आर्थिक अधिकार प्रयोग गर्न पाउँदैनन्। त्यसले गर्दा काठमाडौं महानगरपालिकाका कर्मचारीहरूले झन्डै २ महिनादेखि तलब खान पाएका छैनन्। ठेकदारले समेत काम गरेबापतको भुक्तानी नपाएका हुन्। यसले गर्दा काठमाडौं महानगरपालिका नै अस्तव्यस्त बनेको पाइन्छ।

संघीय सरकारले काठमाडौं महानगरपालिकालाई असहयोग गरेको आरोप समेत लागेको छ। काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सहसचिव संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले पठाउने गरेको छ। अहिले प्रधानमन्त्री र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नेकपा एमालेबाट बनेका छन्। उनीहरू काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)प्रति त्यति सकारात्मक देखिँदैनन्। त्यसैले काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाउने कुरा संघीय सरकारको प्राथमिकतामा परेको छैन। अझै कति दिन काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतविहीन हुने हो भन्न सकिँदैन। एउटा व्यक्तिसँगको रिसिइबीका कारण सिँगो महानगरपालिका बन्धक बनाउनु उपयुक्त हैन।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ