नेपाल चिकित्सक संघले दियो स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी

काठमाडौं। नेपाल चिकित्सक संघले आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएको छ। सरकारले आफूहरुले राखेको विभिन्न माग ४८ घण्टाभित्र सम्बोधन नगरेको भन्दै संघले उक्त चेतावनी दिएका हो।
संघले माघ ७ र ८ गते देशभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आ-आफ्नो स्वास्थ्य संस्था अगाडि कालोपट्टी बाँधी कार्यालय समयको पहिलो १ घण्टा धर्ना कार्यक्रम गर्न निर्देशन दिएको छ। यी विरोधका कार्यक्रम सञ्चालन गर्दा समेत सरकारले निकासका लागि सम्बोधन नगरेमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने नेपाल चिकित्सक संघले संघले चेतावनी दिएको हो। साथै यसबाट उत्पन्न हुने परिस्थितिप्रति नेपाल सरकारले जिम्मेवारी हुने संघका महासचिव डा. सञ्जीव तिवारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपाल सरकारका शैक्षिक संस्थाहरुमा एमडी/ एमएस/ एमडीएस को सिट संख्या थप गर्ने भनी गरिएको निर्णय अविलम्ब कार्यान्वयन गर्ने, चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकमा निर्णय भएको र कार्यान्वयनको लागि परिपत्र गरिए अनुसार नेपालका आवासीय चिकित्सक (एमडी/एमएस/एमडीएस) हरूको निर्वाह भत्तालाई नेपाल सरकारको आठौँ तह सरह ४८ हजार ७ सय ३७ रूपैयाँ अविलम्ब उपलब्ध गराउने लगायतका विविध विषयमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री र स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो। उक्त मागको सुनुवाई नभएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस