जेडिएस छात्रवृत्तिमा २ सय निजामती कर्मचारीले जापानमा अध्ययन गरे

काठमाडौं। जापान सरकारको सहयोगमा संचालित छात्रवृत्ति कार्यक्रम (जेडिएस) अन्तर्गत नेपाल सरकारका करिब २ सय निजामती कर्मचारीले जापानमा अध्ययन गरेका छन्। उक्त छात्रवृत्ति कार्यक्रम अन्तर्गत हालसम्म १ सप ४२ जना नेपाल सरकारका निजामती कर्मचारीहरुले स्नातकोत्तर तह अध्ययन पूरा गरी नेपालमा फर्किसकेका छन्। अहिले जापानमा ४० जना निजामती कर्मचारी स्नातकोत्तर र ५ जना विद्यावारिधी गरिरहेको जेडिसानले जनाएको छ।
२०८१ साल फागुन ५ गते सोमबार (१७ फेब्रुअरी २०२५) का दिन जापान सरकारको सहयोगमा संचालित छात्रवृत्ति कार्यक्रम (जेडिएस) अन्तर्गत जेडिएस नेपाल र जेडिएस आल्मुनाई एसोसिएसन नेपाल (जेडिसान) को संयुक्त आयोजनामा दुसिट प्रिन्सेस होटेल, लाजिमपाटमा सामाजिक कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सो कार्यक्रम नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिव, नेपालका लागि जापानक राजदूत माएदा तोरु, सहसचिवलगायतका अधिकारीहरुको उपस्थिति रहेेको थियो।
त्यस्तै नेपालका लागि जाइकाका मुख्य प्रतिनिधी मिजुकी माचुजाकी, जापानको हिरोशिमा विश्वविद्यालय, रिचुमेइकान विश्वविद्यालय र केइओ लगायतका विश्वविद्यालयका प्राध्यापकहरु समेत कार्यक्रममा सहभागी भएका थिए। त्यसैगरी उक्त विश्वविद्यालयहरुमा छात्रवृत्तिमा २ वर्षे स्नातकोत्तर तह अध्ययन गरि फर्केका नेपाल सरकारका विभिन्न निकायहरुमा कार्यरत करिब १ सय जना निजामती कर्मचारीहरु, जापानमा अध्ययन गरेर नेपालमा रहनु भएका पूर्व विध्यार्थीहरुका संगठनहरुका प्रतिनिधीहरु (जान तथा जुआन), नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको आयोजन संस्था जेडिसानले जनाएको छ।
जेडिएस छात्रवृत्ति कार्यक्रम नेपालमा सन् २०१६ बाट सुरु भएको थियो। पहिलो चरणमा ४ वर्षमा प्रत्येक वर्ष २० जनाका दरले स्नातकोत्तर तहमा मात्र छात्रवृत्ति उपलब्ध रहेकोमा दोस्रो चरणबाट जापान सरकारले प्रत्येक वर्ष २० जना स्नातकोत्तर सँगसँगै २ जनाका दरले विद्यावारिधिको समेत छात्रवृत्ति उपलब्ध गराउन थालेको छ। जेडिएस छात्रवृत्तिले नेपालका निजामती कर्मचारीलाई ठूलो अवसर प्रदान गरेको हो।
कार्यक्रममा नेपाल सरकार, परराष्ट्र मंत्रालय दक्षिण-पूर्वी एशिया महाशाखाका प्रमुख तथा उक्त छात्रवृत्ति कार्यक्रम सञ्चालन समितिका सदस्य, सहसचिव भृगु ढुंगानाले स्वागत मन्तव्य राखेेका थिए। त्यसैगरी, नेपालका लागि जापानका महामहिम राजदूत माएदा तोरुले उद्घाटन मन्तव्य राख्दै जापान-नेपाल सम्बन्ध जनस्तरसम्म पुर्याई थप प्रगाढ बनाउन जेडिएस छात्रवृत्तिलगायतका कार्यक्रमहरुको महत्वपूर्ण योगदान रहेको धारणा राखे। अगामी दिनमा नेपाल सरकारको नीति निर्माण र कार्यान्वयनमा गुणात्मक प्रभाव थपिने उनको विश्वास छ।
जेडिएस आल्मुनाई एसोसिएसन नेपाल (जेडिसान) को तर्फबाट जेडिसानका अध्यक्ष तथा नेपाल सरकारका गृह सचिव गोकर्णमणि दुवाडीले जापान सरकार र जापनिज दूतावास, जाइका नेपाल तथा जेडिएस नेपालको सहयोग र सहकार्यको लागि हार्दिक अभार व्यक्त गरे। जापानमा अध्ययन तथा अनुसन्धान गरी फर्किएका नेपाल सरकारको विभिन्न निकाय र तहमा कार्यरत कर्मचारीहरुको कार्यसम्पादनमा सुधार र अनुसन्धानका निष्कर्षहरु कार्यान्वयनमा ल्याउन एकाकार प्रयास गर्ने थलोको रुपमा जेडिसान स्थापना भई क्रियाशील रहेको जेडिसानका अध्यक्ष दुवाडीले बताए।
उक्त कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले जेडिएस छात्रवृत्ति कार्यक्रमले नेपाल सरकारका निजामती कर्मचारीहरुको क्षमता अभिवृद्धिका साथै वृत्ति विकासमा उल्लेखनीय योगदान पुऱ्याएको धारणा राखे। साथै नेपाल र जापान बीचको सताव्दीयौं लामो सम्बन्धलाई अझ प्रगाढ गर्न महत्वपूर्ण योगदान दिएको समेत उनको भनाइ छ।
तपाईको प्रतिक्रिया दिनुहोस