टेमोथेरापी मेसिनबारे वीर अस्पताललाई यस्तो छ अख्तियारको निर्देशन


काठमाडौं। वीर अस्पतालले खरिद गरेको टेमोथेरापी मेसिनको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा बमोजिम अख्तियारले टेमोथेरापी मेसिनबारे निर्देशन दिएको हो। उक्त दफा बमोजिम अख्तियारले सार्वजनिक पद धारण गरेका व्यक्तिले गरेका काम कारबाही अन्य अधिकारी वा निकायको अधिकार क्षेत्रअन्तर्गत पर्ने प्रकृतिको देखिएमा अनुसन्धान पश्चात सम्बन्धित कार्यालय, पदाधिकारी र सार्वजनिक संस्थालाई सुझाव दिन सक्छ। त्यसैमा टेकेर अख्तियारले क्यान्सरका बिरामीको उपचारका लागि आवश्यक पर्ने टेमोथेरापी मेसिनको विषयमा आवश्यक निर्देशन दिएको हो।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालले टेमोथेरापी मेसिन खरिदमा कानुनविपरीत कार्य गरेको भन्ने उजुरीमा सम्बन्धमा आवश्यक निर्देशन दिँदै अख्तियारले भनेको छ, ‘अब उप्रान्त मेसिन उपकरणहरू खरिद गर्दा सार्वजनिक खरिद ऐन, २०६३ को दफा १३ को उपदफा २ (क) बमोजिम खरिदको प्रकृति, खरिद गर्न लाग्ने समयावधि तथा सोको प्राविधिक स्पेसिफिकेसन, ऐनको दफाको उपदफा २ (छ) बमोजिम बोलपत्र मूल्यांकन र बोलपत्र छनोट गर्ने आधार र तरिकालगायत आवश्यक कागजातहरू बोलपत्र आह्वान गर्नु अगावै प्रतिस्पर्धा सीमित नहुने गरी तयार गरिएको सोही ऐनको दफा २५ को उपदफा (५) बमोजिम बोलपत्र मूल्यांकनसम्बन्धी कागजातमा उल्लेख भएको आधार र तरिकाअनुसार गर्ने, गराउने।’, 

वीर अस्पतालले किनेको टेमोथेरापीलाई आधार मानेर स्वास्थ्यका मेसिन तथा उपकरणहरू खरिद गर्दा उक्त विधि र प्रक्रिया अपनाउन अख्तियारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताललाई उक्त सुझाव दिएको हो। उक्त सुझाव कार्यान्वयनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल कतिको इमान्दार देखिएको छ त्यो भने खोजीको विषय हो।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ