कार्यसम्पादनमा कानुन मन्त्रालय बन्यो उत्कृष्ट, स्वास्थ्य औसत

काठमाडौं। कार्यसम्पादनमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय उत्कृष्ट देखिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको प्रतिवेदनमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय उत्कृष्ट देखिएको हो।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको हैसियतमा अजय कुमार चौरासिया छन्। उक्त मन्त्रालयको कार्यसम्पादनमा शतप्रतिशत नतिजा ल्याउन सचिव उदयराज सापकाेटा र उनको टिम निरन्तर सक्रिय भएर लागिपरेको छ। त्यसैको परिणाम कानुन मन्त्रालय सबैभन्दा उत्कृष्ट बन्न सफल भएको हो।
कानुनपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय कार्यसम्पादनमा उत्कृष्ट देखिएको छ। त्यसपछि रक्षा, गृह, उद्योग, वाणिज्य तथा आपूर्ति र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय कार्यसम्पादनमा अगाडि देखिएका छन्। परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, अर्थ र वन तथा वातावरण मन्त्रालयको कार्यसम्पादन औसत रहेको पाइन्छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सहरी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय कार्यसम्पादनमा कमजोर देखिएका छन्। विकासे मन्त्रालयहरू कछुवा गतिमा अघि बढिरहेको पाइन्छ। कानुन र पर्यटन भने खरायो गतिमा देखिन्छन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस