२ पटक कोटा प्रयोग गर्ने बहालवाला समानुपातिक सांसदहरू


काठमाडौं। संविधानले आर्थिक, सामाजिक र शैक्षिक दृष्टिले पछाडि परेकालाई समावेशी सिद्धान्तका आधारमा प्रतिनिधित्व गराउने उद्देश्यले समानुपातिक प्रणालीको अवधारणा ल्याएको हो। सांसदमा पनि यो प्रणाली लागू भएको छ। तर, समानुपातिक प्रणालीलाई राजनीतिक दलहरूले हदैसम्म दुरूपयोग गरेको पाइन्छ।

आरक्षण प्रणाली आर्थिक, सामाजिक र शैक्षिक दृष्टिले पछाडि परेकालाई एकपटकका लागि अवसर प्रदान गर्ने उद्देश्यले ल्याइएको हो। तर, नेपालमा एउटै व्यक्तिलाई दुई-दुई पटक कोटाबाट समानुपातिक सांसद बनाएको देखिन्छ। राज्यले एउटा व्यक्तिलाई एकपटक अवसर दिने हो। नेपालको हकमा समानुपातिक प्रणालीको दुरूपयोग गर्दै कोही तीनपटक त कोही दुईपटक समानुपातिक सांसद बनेको पाइन्छ।

स्वास्थ्य लाइभले समानुपातिक प्रणाली दुरूपयोग गरेर ‘ह्याट्रिक’ हान्ने सांसदहरूको विषयमा यसअघि नै चर्चा गरिसकेको छ। यसमा भने डब्बल कोटा प्रयोग गर्ने सांसदहरूको विषयमा लेखाजोखा गर्नेछौं। यसमा दुईपटक कोटा प्रयोग गरेर समानुपातिक सांसद बन्ने बहालवाला प्रतिनिधिसभा सदस्यको विषयमा केन्द्रित हुनेछौं। दुईपटक कोटा दुरूपयोग गर्ने पूर्वसांसदको विषयमा अर्को भागमा चर्चा गर्नेछौं।

स्वास्थ्य लाइभको खोजीमा आरक्षण दुरूपयोग गरेर दुईपटक समानुपातिक सांसद बन्ने अहिले प्रतिनिधिसभाका बहालवाला सांसदहरू ११ जना भेटिएको छ। आरक्षणको दुरुपयोग गरेर दुईपटक समानुपातिक सांसद बन्ने सूचीमा ८ जना नेपाली कांग्रेस, २ जना एमाले र १ जना जनता समाजवादी पार्टी (जसपा)का रहेका छन्।

त्यसमा नेपाली कांग्रेसका जीवन परियार, सरिता प्रसाईं, मुक्ताकुमारी यादव, अन्जनी श्रेष्ठ, सरस्वती वजिमय, संगिता मण्डल धानुक, चन्दा चौधरी र  आशा विक रहेका छन्। नेकपा एमालेका अमृतादेवी अग्रहरी र प्रतिक्षा तिवारी तथा जनता समाजवादी पार्टीबाट रञ्जु कुमारी झा (ठाकुर) डब्बल कोटामा पर्ने समानुपातिक सांसद रहेका छन्।

नेपाली कांग्रेसको सहमहामन्त्री समेत रहेका जीवन परियार दोहोऱ्याएर दलित पुरूष क्लस्टरबाट समानुपातिक सांसद बनेका हुन्। दोस्रो संविधानसभा २०७० मा समानुपातिक सांसद बन्दा समेत एकपटकका लागि परियारले कोटा प्रयोग गर्नु ठिकै थियो। उनले २०७९ मा पनि सोही कोटा प्रयोग गरेर समानुपातिक सांसद बनेका छन्। एउटा व्यक्तिले एकपटक कोटा प्रयोग गर्दा त्यसलाई सकारात्मक विभेदको रूपमा लिन सकिन्छ। तर, एक पटकभन्दा बढी प्रयोग गर्नु आरक्षणको हदैसम्मको दुरूपयोग हो। परियार पनि त्यहिँ वर्गमा परेका छन् र पटकपटक आरक्षण दुरुपयोग गर्दा नयाँ तरमारा वर्गको उदय भएको पाइन्छ।

२०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा अन्य कोटाबाट समानुपातिक सांसद बनेकी सरिता प्रसाईं अहिले पनि खस आर्य महिला कोटाबाट प्रतिनिधिसभाको समानुपातिक सांसद बनेकी छिन्। कृषि राज्यमन्त्री र राष्ट्रिय सभाको सदस्य समेत भइसकेकी प्रसाईं फेरि समानुपातिक प्रणालीबाट सांसद बन्नु आरक्षणको चरम दुरूपयोग हो। महिलालाई पनि एकपटकका लागि राज्यले अवसर दिएर सक्षम बनाउने हो। पटक-पटक आरक्षण प्रयोग गर्न दिनु संविधान कै बर्खिलापमा देखिन्छ। राजनीति दलहरूले संविधान कै पालना नगरेको यो घटनाले पुष्टि हुन्छ।

नेपाली कांग्रेसबाटै समानुपातिक सांसद बनेकी मुक्ताकुमारी यादव पनि प्रसाईं जस्तै हुन्। मुक्ता २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा मधेशी महिला कोटाबाट समानुपातिक सांसद बनेकी थिइन्। राष्ट्रियसभाको सदस्य हुँदै अहिले पनि सोही कोटा प्रयोग गरेर उनी प्रतिनिधिसभाको समानुपातिक सांसद बनेकी छिन्। यो पनि आरक्षणको व्यापक दुरूपयोग हो।

नेपाली कांग्रेसबाट अहिले प्रतिनिधिसभाको समानुपातिक सांसद रहेका अन्जनी श्रेष्ठ, सरस्वती वजिमय, संगिता मण्डल धानुक, आशा विकको अवस्थामा पनि उस्तै छ। अन्जनी, सरस्वती, संगिता र आशा २०७० सालमा भएको दोस्रो संविधानसभामा पनि समानुपातिक सांसद थिए। २०७९ सालमा भएको प्रतिनिधिसभामा पनि उनीहरू नै समानुपातिक सांसद छन्।

२०७४ सालमा पनि समानुपातिक संसद भएको भए उनीहरूले आरजु राणा देउवा, अम्बिका बस्नेत, ईश्वरी न्यौपानेलगायतले जस्तै समानुपातिकमा ह्याट्रिक हान्ने थिए। समानुपातिक प्रणाली संविधानको मर्म र भावनाविपरीत यसरी नै दुरूपयोग गर्दै जाने हो भने त्यो अवस्था नआउला भन्न पनि सकिन्न।

नेपाली कांग्रेसबाट अहिले प्रतिनिधिसभाको समानुपातिक सांसद चन्दा चौधरी पनि दुई पटक आरक्षणको दुरुपयोग गर्नेमा पर्छिन्। २०७४ सालमा राष्ट्रिय जनता पार्टीबाट प्रतिनिधिसभाको समानुपातिक सांसद बनेकी थिइन्। २०७९ मा नेपाली कांग्रेस प्रवेश गरेर उनी समानुपातिक सांसद बनेरै छाडिन्। चन्दा दोहोऱ्याएर समानुपातिक सांसद बन्दै गर्दा संविधानको भने गम्भीर उल्लंघन भएको छ। संविधानले खोजेको समानुपातिक प्रणाली यस्तो हुँदै होइन। राजनीतिक दलहरूले समानुपातिक प्रणालीमा संविधानमाथि बेइमानी गरेका छन्।

चन्दासँगै २०७४ सालमा राष्ट्रिय जनता पार्टीबाट समानुपातिक सांसद बनेकी अमृतादेवी अग्रहरीको कहानी पनि मिल्दोजुल्दो छ। अग्रहरी पनि नेकपा एमालेमा प्रवेश गरेर फेरि समानुपातिक सांसद बनेकी छिन्। २०७४ सालमा राष्ट्रिय जनता पार्टीको समानुपातिक सांसद रहेकी अग्रहरी अहिले नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभाको समानुपातिक सांसद बनेकी हुन्। यो पनि आरक्षण प्रणाली दुरूपयोगको नमूना हो।

२०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट समानुपातिक सांसद बनेकी प्रतिक्षा तिवारी मुखिया अहिले नेकपा एमाले तर्फबाट समानुपातिक सांसद हुन्। उनलाई २०७० मा नेकपा माओवादी केन्द्रले मधेशी महिला कोटाबाट समानुपातिक सांसद बनाएको थियो। अहिले नेकपा एमालेले पनि सोही कोटाबाट समानुपातिक सांसद बनाएको छ। प्रतिक्षालाई आरक्षणबाट दोहोऱ्याएर सांसद बनाउने एमालेको यो कदम समावेशी समानुपातिक सिद्धान्तको पुरै बर्खिलापमा देखिन्छ। संसद्ले संविधासँग बाझिने गरी ऐन बनाईदिएपछि निर्वाचन आयोग समेत निरीह भएर बस्न बाध्य छ।

नेकपा एमालेको तर्फबाट २०७० सालमा मधेशी महिला कोटामा समानुपातिक सांसद बनेकी रञ्जुकुमारी झा (ठाकुर) अहिले पनि समानुपातिक सांसद छिन्। जनता समाजवादी पार्टी, नेपालबाट समानुपातिक सांसद बनेकी रञ्जु अशोक राईले उक्त पार्टी फुटाएर जनता समाजवादी पार्टी बनाएपछि उतै लागेकी हुन्। उनले पनि संविधानमाथि ‘चिसो पानी’ खन्याइदिएकी छिन्।

रञ्जु पनि आरक्षण प्रणालीको धज्जी उडाउँदै र दुरुपयोग गर्दै दोहोऱ्याएर समानुपातिक सांसद बन्नेमा पर्छिन्। संविधानको मर्म र धारा ४२ को व्यवस्था बमोजिम आर्थिक, सामाजिक र शैक्षिक दृष्टिले पछाडि परेकालाई एकपटकका लागि आरक्षण पाउने व्यवस्थासहितको कानुन बनाएर समानुपातिक सांसद बनाउने परिपाटीको विकास गर्नुपर्छ। नत्र यो प्रणालीभित्र पनि नयाँ तरमारा वर्गको हालिमुहाली निरन्तर चलिरहन्छ।

दल फेरेर दोहोऱ्याएर समानुपातिक सांसद बन्ने रञ्जु कुमारी झा हुन् वा चन्दा चौधरी, प्रतिक्षा तिवारी वा अमृतादेवी अग्रहरी यस्ता तरमारा प्रवृत्तिलाई रोक्न ढिला भइसकेको छ। समानुपातिक प्रणालीको पुनरावलोकन गर्ने समय समेत आइसकेको छ। यो विषयमा समेत निर्वाचन आयोग, नेपाल सरकार, सांसदलगायतका सरोकारवाला निकायको ध्यानाकर्षण हुन जरूरी छ।

डब्बल कोटा प्रयोग गर्ने बहालवाला समानुपातिक सांसदहरू

🛑जीवन परियार, नेपाली कांग्रेस

🛑सरिता प्रसाईं, नेपाली कांग्रेस

🛑मुक्ताकुमारी यादव, नेपाली कांग्रेस

🛑अन्जनी श्रेष्ठ, नेपाली कांग्रेस

🛑सरस्वती वजिमय, नेपाली कांग्रेस

🛑संगिता मण्डल धानुक, नेपाली कांग्रेस

🛑चन्दा चौधरी, नेपाली कांग्रेस

🛑आशा विक, नेपाली कांग्रेस

🛑अमृतादेवी अग्रहरी, नेकपा एमाले

🛑प्रतिक्षा तिवारी, नेकपा एमाले

🛑रञ्जु कुमारी झा (ठाकुर), जनता समाजवादी पार्टी

 

क्याटेगोरी : समाचार
ट्याग : #अन्जनी श्रेष्ठ, #अमृतादेवी अग्रहरी, #आशा विक, #चन्दा चौधरी, #जीवन परियार, #डब्बल कोटा प्रयोग गर्ने बहालवाला समानुपातिक सांसदहरू, #प्रतिक्षा तिवारी, #मुक्ताकुमारी यादव, #रञ्जु कुमारी झा (ठाकुर), #संगिता मण्डल धानुक, #सरस्वती वजिमय, #सरिता प्रसाईं

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ