को बन्लान् मुलुककै जेठो वीर अस्पतालको निर्देशक?

काठमाडौं। मुलुककै जेठो वीर अस्पतालको निर्देशकका लागि दौडधुप सुरू भएको छ। वीर अस्पतालको निर्देशक बन्नका लागि नेपाली कांग्रेस र नेकपा एमाले निकट चिकित्सकहरूको दौडधुप सुरू भएको हो।
वीर अस्पतालको निर्देशकका लागि अहिलेसम्म निमित्त निर्देशकको जिम्मेवारी सम्हालेका डा.समाज गौतम, दिलिप शर्मा, डा. सन्तोष पौडेल र अनुपमा कार्की दौडधुपमा छन्। तर, यीमध्ये डा. गौतम र शर्माबीच बलियो प्रतिस्पर्धा देखिन्छ।
वीर अस्पतालको निर्देशक बनाउन स्वास्थ्य तथा जनसंख्यामन्त्रीको मुख्य हात हुन्छ। तर, ‘प्राइमिनिस्टर सिस्टम’मा मन्त्री भनेको प्रधानमन्त्रीको सहयोगी मात्र भएकाले प्रधानमन्त्रीको हस्तक्षेपले पनि काम गर्न सक्छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले डा. समाज गौतमलाई नै वीर अस्पतालको निर्देशक बनाउन खोजेको देखिन्छ। निमित्तको जिम्मेवारी पाएकाले कांग्रेसी वृत्तमा उनी नै निर्देशक बन्ने बलियो दाबेदार हुन् भन्ने सहजै अनुमान लगाउन सकिन्छ। यता प्रधानमन्त्री केपी शर्मा ओली भने डा. दिलिप शर्माको पक्षमा रहेको बुझिन्छ। प्रधानमन्त्री ओलीको निजी चिकित्सक समेत भएर काम गरिसकेका डा. शर्मा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार, चिकित्सा शिक्षा आयोगको निर्देशकलगायतका जिम्मेवारीमा बसेर काम गरिसकेका छन्। प्रधानमन्त्री ओली डा. शर्मा कै पक्षमा रहेको बालुवार स्रोत बताउँछ। एमाले निकट चिकित्सकहरू भने डा. सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकमा दोहोऱ्याउनु पर्ने लबिइङमा छन्।
निर्देशकको महिला आकांक्षी डा. अनुपमा कार्की पनि सशक्त दाबेदार हुन्। प्रधानमन्त्री ओली महिलालाई नेतृत्व दिने मामिलामा अग्रसर देखिन्छन्। वीरको निर्देशक महिला चिकित्सकलाई बनाउन प्रधानमन्त्री ओलीको निर्देशन आयो भने वीरको निर्देशकमा अनुपमाको पनि सम्भावना छ।
क्याटेगोरी : समाचारट्याग : ##डा दिलिप शर्मा, #डा. अनुपमा कार्की, #डा. सन्तोष पौडेल, #डा. समाज गौतम
तपाईको प्रतिक्रिया दिनुहोस