स्वास्थ्य सचिव डा. पोखरेल सेवानिवृत्त हुँदै, को बन्ला नयाँ स्वास्थ्य सचिव?


काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्राविधिक सचिव डा. रोशन पोखरेल आजबाट सेवानिवृत्त हुँदैछन्। स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञ (बाह्रौं तह) र सचिव गरी ५ वर्षे सेवा अवधिका कारण उनी अवकाशमा जान लागेका हुन्।  

स्वास्थ्य सचिव डा. २०७६ फागुन १२ गते स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञमा बढुवा भएका थिए। त्यस्तै उनी २०७८ साउन ४ गते नेपाल सरकारको सचिवमा बढुवा भएका थिए। १ वर्ष ५ महिना प्रमुख विशेषज्ञ र ३ वर्ष ७ सचिवको भूमिकामा काम गरेका स्वास्थ्य सचिव डा. पोखरेल सेवानिवृत्त घर जाने भएका हुन्। उनी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपति हुने सम्भावना भने जीवितै रहेको स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरू बनाउँछन्। वीपी प्रतिष्ठानको उपकुलपति डा. ज्ञानेन्द्र गिरीको यहीँ चैतमा कार्यकाल सकिँदैछ।

डा. पोखरेलले अवकाश पाएसँगै स्वास्थ्यमा नयाँ सचिवको खोजी सुरू भएको छ। स्वास्थ्य सचिवका लागि डा. संगिता कौशल मिश्र, डा. टंक बाराकोटी र डा. विकास देवकोटाबीच तीव्र प्रतिस्पर्धा देखिन्छ।

नेपाल स्वास्थ्य सेवा ऐनमा स्वास्थ्य सेवाको बाह्रौं तहमा कार्यरत र एघारौं तहमा कम्तीमा पाँच वर्ष काम गरेको कर्मचारी ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदमा नियुक्त हुन सक्ने’ उल्लेख छ। स्वास्थ्यमा एघरौं तहमा काम गरेका थुप्रै चिकित्सक रहेका छन्। बाह्रौं तहमा काम गर्ने ३ जना चिकित्सक रहेकाले लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको सिफारिस समितिले एघारौं तहका चिकित्सकलाई सचिव नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना छैन। ३ जनाको नाम सिफारिस गर्दा बाह्रौं तहका संगिता, डा. टंक र डा. विकास कै नाम सिफारिस गर्छ। सिफारिस भएकामध्येबाटै मन्त्रिपरिषद्ले स्वास्थ्य सचिव बनाउने हुनाले एघारौं तहबाट स्वास्थ्य सचिव नियुक्तिका लागि सिफारिस हुने र नियुक्ति हुने अवस्थै आउँदैन।

स्वास्थ्य सचिवको प्रतिस्पर्धामा रहेका डा. संगिता र डा. विकास स्वास्थ्य सेवा विभागको महानिर्देशक भइसकेका व्यक्ति हुन्। डा. टंकले भने स्वास्थ्य सेवा विभागको महानिर्देशक बन्ने अवसर नै पाएनन्। वीर अस्पतालमा बाह्रौं तहका दरबन्दी राखेर अतिरिक्त सचिव ४ जना बनाइए पनि अहिलेसम्म कोही जान मानेको छैन। त्यसैले अतिरिक्त सचिवको एउटा दरबन्दी खारेज गर्दा उपयुक्त हुने देखिन्छ।

२०७९ असार २३ गते बाह्रौं तहमा बढुवा भएकी डा. संगिता सचिवमा नियुक्त भइन् भने २ वर्ष ४ महिना सचिव चलाउन पाउनेछिन्। २०७९ चैतमा १३ गते बाह्रौं तहमा बढुवा भएका डा. टंक र डा. विकाससचिव भए भने ३ वर्ष महिना सचिव चलाउने देखिन्छन्। डा. टंक उमेर हदका कारण केही समय अघि नै सेवानिवृत्त हुनेछन्।

स्वास्थ्य सचिवका लागि डा. संगिता साझा उम्मेदवारका रूपमा रहेकी छिन्। उनलाई कसैले पनि च्यापेको छैन। तर, उनी महिला भएकाले सहानुभूति पाउने अवस्थामा छिन्। डा. टंक झापाली भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको आशिर्वाद रहेको बुझिन्छ। लामो समय झापामा बसेर स्वास्थ्य सेवा प्रदान गरेका डा. टंकलाई प्रधानमन्त्री ओलीको सहानुभूति रहेको प्रधानमन्त्री निकट व्यक्तिहरू सुनाउँछन्।

डा. विकासलाई सचिव बनाउन भने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल लागिपरेको चर्चा छ। उनको नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग पनि सुमधुर सम्बन्ध रहेको पाइन्छ। पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा डा. विकास स्वास्थ्य सचिव रहेका थिए। स्वास्थ्य सचिव मन्त्रिपरिषद्ले नियुक्त गर्ने भएकाले प्रधानमन्त्री ओलीलाई जो पात्र उपयुक्त लाग्यो उसैलाई स्वास्थ्य सचिव बनाइदिन्छन्। यहीं हप्ताभित्रै स्वास्थ्य मन्त्रालयले नयाँ सचिव पाउने सम्भावना उच्च छ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : ## स्वास्थ्य सचिव, ##डा संगिता कौशल मिश्रा, #डा. टंक बाराकोटी, #डा. विकास देवकोटा, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्य सचिव डा. रोशन पोखरेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ