एमाले सत्तामा रजगज गरिरहेका पुडासैनी दाजुभाईलाई एकपछि अर्को धक्का

काठमाडौं। एमाले सत्तामा अर्थ मन्त्रालयमा बसेर रजगज गरिरहनेमा रामशरण पुडासैनी र हरिशरण पुडासैनी पर्छन्। काठमाडौंका पुडासैनी दाजुभाई पालैपालो अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख समेत बने। अर्थका आकर्षक ठाउँ उनीहरू कै कब्जामा रह्यो। तर, एमालेबाटै अर्थमन्त्री बनेका विष्णुप्रसाद पौडेलले र केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि रामशरण पुडासैनी राष्ट्रिय बीमा प्राधिकरणको अध्यक्ष बन्न सकेनन्। रामशरणलाई ‘सेकेन्ड’ बनाउँदै पत्रकार शरद ओझा नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्न सफल भए।
प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलले चाहेको भए रामशरण नै बीमा प्राधिकरणको अध्यक्ष बन्ने थिए। अहिलेका मुख्यसचिव एकनारायण अर्यालका सहसचिवका ‘ब्याची’ रामशरण हरेक हिसाबले अध्यक्षको बलियो दाबेदार थिए। तत्कालीन मुख्यसचिव डा. सोमलाल सुवेदी एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशक भएर जाँदा रामशरणले बीचैमा उनलाई विस्थापित गरेर मासिक ३० लाख खाने गरी उनी फिलिफिन्सको मनिला गएका थिए। त्योभन्दा अघि उनी अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख थिए। मनिलाबाट फर्किएपछि पनि रामशरण प्रदेश नगई सीधै अर्थ मन्त्रालयको कामु राजस्व सचिव र सचिव भएर सेवानिवृत्त भए। उनी अहिले कृषि विकास बैंकको अध्यक्ष छन्। सबै अनुकूल हुँदा पनि नेपाल बीमा प्राधिकरण अध्यक्ष बन्न नसक्नुले एमाले सत्तामा पुडासैनीको प्रभाव घट्दै गएको अनुमान लगाउन सकिन्छ। उनी ‘आउट डेटेड’ हुने अवस्थामा पुगेका छन्।
रामशरण मात्र होइन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बागमती प्रदेशबाट अर्थ मन्त्रालय भित्र्याएर भन्सार विभागको महानिर्देशक बनाइएका हरिशरण पुडासैनीको हालत पनि उस्तै छ। उनलाई अर्थमन्त्री पौडेल ६ महिनामै जिम्मेवारीमुक्त गरिदिएका हुन्। हरिशरण भन्सार विभागको महानिर्देशकबाट मात्रै होइन अर्थ मन्त्रालबाट समेत ‘आउट’ भएर राष्ट्रिय योजना आयोग पुगेका छन्।
एमाले सत्तामा दाजु रामशरण एसियाली विकास बैंकको वैंकल्पिक कार्यकारी निर्देशकमा जागिर खान फिलिपिन्सको मनिला गएपछि भाई हरिशरण अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख भएका थिए। त्यहाँबाट हरिशरण ग्वान्जाओको महावाणिज्यदूत समेत भएर गए। अर्थको चाबी एमालेले लिएपछि अर्थ छिरेका उनी अहिले अर्थ मन्त्रालयबाट नै ‘लखेटिए’का छन्।
रामशरण अर्थ मन्त्रालयका (राजस्व) सचिव हुँदा अर्का भाई सुरेश पुडासैनी परराष्ट्र मन्त्रालयमा लेखापालको रुपमा कार्यरत थिए। त्यहीँबेला बेईजिङस्थित नेपाली राजदूतावासमा रहेको लेखापालको दरबन्दी क्यानबेरा स्थानान्तरण गरेर उनलाई पठाइएको थियो। कुनै बेला अर्थ मन्त्रालयमा बसेर रजगज गरेका पुडासैनी दाजुभाई अहिले बिस्तारै ‘साइड’ लाग्न थालेको आभाष हुन्छ। एमाले निकट रामशरण र हरिशरणलाई कांग्रेसका रामशरण महत र प्रकाशशरण महत दाजुभाईसँग तुलना गरिँदै आएको छ। एमाले सत्तामा हुँदा पुडासैनी दाजुभाईले कर्मचारीमा जति लाभ लिए कांग्रेस सत्तामा हुँदा महत दाजुभाईले नि राजनीतिमा त्यति नै लाभ लिएका छन्। महत दाजुभाई पनि आलोपालो अर्थमन्त्री भए। अहिले दाई महत राजनीतिबाट किनारा लागिससकेका छन्। भाई महत पनि बिस्तारै किनारा लाग्ने तरखरमा छन्। पुडासैनी दाजुभाईको पनि अवस्था त्यस्तै देखिन्छ। समय शक्तिशाली हुन्छ त्यसै भनिएको होइन रहेछ।
क्याटेगोरी : समाचारट्याग : #नेपाल बीमा प्राधिकरण, #रामशरण पुडासैनी, #हरिशरण पुडासैनी
तपाईको प्रतिक्रिया दिनुहोस